बन्दकर्ताद्वारा बसमा आगजनी
हेटौंडा, ९ जेठ- जातीय पहिचानसहित राज्यको पुर्नसंरचना हुनुपर्ने माग गर्दै आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिले आव्हान गरेको तीन दिने नेपाल बन्दको क्रममा मंगलबार मकवानपुरको मनहरीमा बसमा आगजनी भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी–४ सिम्पानीमा बुटवलबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ९१६९ नम्बरको बसमा बन्दकर्ताहरुले आगजनी गरेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ‘पौने पाँच बजेको थियो, ४÷५ जना युवाको समूहले बस रोके ।’ बसका सहचालक दीपक कटुवालले भने–‘बन्दमा किन चलाएको भन्दै आगो लगाउन थाले ।’ बसमा आगजनी हुन थालेपछि यात्रुहरु बसबाट ओर्लेर ज्यान जोगाएको कटुवालले बताए ।
बसमा आगजनी गर्ने क्रममा जलेर घाईते भएका हेटौंडाका बालकृष्ण लामासहित चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । आगजनीका क्रममा घाइते बालकृष्णलाई उपचार गर्न भरतपुर अस्पताल पु¥याएको मकवानपुर प्रहरीले जानकारी दिएपछि बालकृष्णसहित मनहरीका सुजन लामा, प्रसिद्ध लामा र राक्सिराङका उपकार लामालाई प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरिक्षक पूर्णचन्द्र जोशीले बताए ।
बन्दकर्ताहरुले हेटौंडा–४ कमलडाँडामा रोकिराखेको चितवनको राहुल डेरीको ना १ च ४११५ नम्बरको टाटामोवाईल तोडफोड गरेका छन् । तोडफोडबाट टाटा मोवाईलको सिसा फुटेको छ । तोडफोड गर्ने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी हवल्दार बिजयकुमार यादब र प्रहरी जवान मंगले कुमाल घाईते भएका छन् । घटनामा संलग्न भएको भन्दै प्रहरीले पदमपोखरीका श्यामबहादुर थिङ, सञ्जिब लामा, दिनेश लामा, दीपक लामा, सञ्जय लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बन्दका कारण उद्योग, कलकारखाना, शिक्षण संस्था र वजार ठप्प भएको थियो । बन्दको प्रभाव सदरमुकाम हेटौँडासहित मनहरी, पालुड लगायतका शहरमा समेत परेको थियो । बन्दकर्ताहरुले पुर्वपश्चिम राजमार्गका विभिन्न भागमा सडकमा समेत अवरुद्ध गरेका थिए ।



