अमेरिकाको व्यापार संकुचित
वासिङटन, २७ जेठ
आयात तथा निर्यात बजारमा नाटकीय रुपमा कमी आएपछि गएको अप्रिलमा अमेरिकाको बाह्य व्यापार कमजोर भएको छ । देशको निर्यात व्यापार पाँच महिनामा पहिलोपटक कम भएको हो ।
युरोपेली क्षेत्रमा कर्जा संकट बढ्दै जाँदा गएको नोभेम्बरयता पहिलो पटक देशको निर्यातमा कमी आएको हो । बढ्दो संकटसँगै त्यस क्षेत्रमा आयातीत सामानको माग उच्च दरमा कम भएको छ ।
यस्तै देशको आन्तरिक माग समेत नाटकीय रुपमा कम भएको छ । यसले समग्र व्यापार ४.९ प्रतिशतले कम भइ ५० अर्ब १० करोड डलरमा सीमित भएको छ । युरोपको कर्जा संकटले बाह्य व्यापार अझ कमजोर बनेको हो ।
यो अवधिमा युरोपेली क्षेत्रको निर्यात ११.१ प्रतिशतले कम भएको छ । युरोपेली क्षेत्रमा अमेरिकाको कूल निर्यात व्यापारको पाँच भागको एक भाग व्यापार हुन्छ ।
अमेरिकाको व्यापार घाटाको मुख्य कारण आयात र निर्यातबीचको उच्च दरमा रहेको फरकलाई नै लिइएको छ । अप्रिलसम्मको देशको व्यापार घाटा ६ अर्ब ३ अर्ब डलर भएको जनाइएको छ । यो दर गत वर्षको समान अवधिको तुलनामा ७.७ प्रतिशतले बढी हो । औद्योगिक क्षेत्रको लागि आवश्यक पर्ने तथा व्यापारिक दृष्टिकोणबाट महत्वपूर्ण वस्तुको आयात समेत कम भएको छ ।
बढ्दो क्रममा रहेको व्यापार घाटाले अमेरिकाले विदेशमा उत्पादित वस्तुहरूको खरिदमा धेरै खर्चिने गरेको देखाएको अधिकारीहरूले बताएका छन् । सरकारले आन्तरिक बजारमा उत्पादित सामानको खरिद दर बढाउने कार्यक्रम ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।
सेवा क्षेत्रमा वृद्धि भए पनि रोजारी सिर्जनाको दर भने अपेक्षा गरे अनुरुप नभएको देखिएको छ । यसअघि पछिलो त्रैमासमा त्यहाँको आर्थिक वृद्धिदर १.९ प्रतिशतमा झरेको थियो ।
“युरोपेली क्षेत्रमा देखिएको संकटले देशको व्यापार अझै पनि कमजोर बनाउने देखिन्छ । त्यस क्षेत्रको निर्यातमा आएको कमीले आउने दिनमा समेत चुनौती थपिने देखिन्छ,” अमेरिकी पुँजी बजारका वरिष्ठ अर्थशास्त्री पाउल डेलले भने ।
यो नतिजाले व्यापार तथा कुल गार्हस्थ्य उत्पादन समेत गत वर्षको भन्दा कम हुने उनको भनाइ थियो ।



