कोरियाली सवारी उत्पादन बढ्यो
सोल, २६ असार- चालू वर्षको पहिलो छ महिनामा दक्षिण कोरियाको सवारी उत्पादन ३.४ प्रतिशतले बढेको छ । आन्तरिक बजारमा संकुचन देखिए पनि निर्यात व्यापारमा आएको वृद्धिसँगै सवारी उत्पादन बढेको एक सरकारी तथ्यांकमा जनाइएको छ ।
कोरियामा हुन्डाई, किया मोटर्स, जीएम कोरिया, रिनल्ट सामसुङ मोटर्स र सानयोङ मोटरले प्रमुख रूपमा सवारी साधन उत्पादन गर्दै आएका छन् । तिनीहरूले यो अवधिमा २३ लाख ८० हजार ७ सय ८२ सवारी साधन उत्पादन गरेको छन् । यो उत्पादन गत वर्षको समान अवधिको तुलनामा ३.४ प्रतिशतले बढी भएको अर्थमन्त्रालयले जनाइएको छ ।
विदेशी बजारमा हुने व्यापारमा सुधार आएपछि उत्पादनसमेत बढेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले आन्तरिक बजारमा भने कारको व्यापार कमजोर बनेको जनाएको छ । यो अवधिमा १७ लाख ३ सय ६४ सवारी साधन निर्यात भएका छन् । यो दर गत वर्षको समान अवधिको तुलनामा १०.४ प्रतिशतले बढी हो ।
विश्व अर्थतन्त्रमा विभिन्न अनिश्चयका बीच देशको निर्यात व्यापारमा सुधार आएको छ । देशका प्रमुख निर्यात बजार अमेरिका, युरोजोनजस्ता क्षेत्रको अर्थतन्त्रमा विभिन्न खराब संकेत देखा परे पनि निर्यात बढेको छ ।
मन्त्रालयले अमेरिकामा हुने निर्यातमा सुधार आएको बताएको छ । यसले देशको सवारी साधन निर्यातमा सकारात्मक सन्देश दिएको उसको भनाइ छ ।
त्यस्तै युरोपेली युनियनसँग भएको स्वतन्त्र व्यापार सम्झौताले समेत व्यापार बढाउन उल्लेख्य योगदान दिएको मन्त्रालयको प्रतिवेदनमा जनाइएको छ । गुणस्तरमा सुधार हुँदै गएकाले देशको सवारी व्यापार बढेको बताइएको छ ।
यद्यपि आन्तरिक बजारमा हुने व्यापारमा भने संकुचन देखा परेको छ । यो अवधिमा गत वर्षको समान अवधिको तुलनामा आन्तरिक व्यापार ४.२ प्रतिशतले कम भई ७ लाख ५७ हजार ३ सय ५३ कारको मात्र व्यापार भएको जनाइएको छ । उपभोक्ता विश्वासदरमा आएको कमी तथा तेलको मूल्यमा भएको वृद्धिले कारको व्यापार कम भएको मन्त्रालयको भनाइ छ ।
कोरियामै उत्पादित कारको व्यापार गर्दै आएका स्थानीय व्यापारीहरूले गत वर्षको तुलनामा चालू वर्षको पहिलो छ महिनामा कारको व्यापार ६ प्रतिशतले कम भएको जनाएका छन् । यद्यपि आयातित कारको व्यापार भने २०.५ प्रतिशतले सुधार भई ६२ हजार ३ सय ३९ पुगेको ती व्यापारीहरूको भनाइ छ ।



