मल खरिदको जिम्मा सामसुङलाई
काठमाडौं, २६ असार- आगामी आर्थिक वर्षमा पहिलो चरणको मल आपूर्ति गर्न कोरियन कम्पनी सामसुङलाई बोलपत्र परेको छ । कृषि सामग्री कम्पनीले आगामी असोजसम्म मल नेपाल भिœयाउने गरी आह्वान गरेको बोलपत्र इलेक्ट्रोनिक्स सामग्री उत्पादकका रूपमा विश्वप्रख्यात कम्पनी सामसुङलाई परेको हो । विगतमा धेरै पटक मल आपूर्ति गर्दै आए पनि विवादित बनेको भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल) ंको यस पटक टेन्डर परेन ।
“गहुँको सिजनलाई लक्षित गरी असोजसम्म ५० हजार मेट्रिक टन आपूर्ति गर्ने टेन्डर सामसुङलाई परेको हो,” कम्पनीका प्रबन्ध सञ्चालक सशीराज तुलाधरले भने, “दररेट बढी भएका कारण यसपटक आईपीएलाई टेन्डर परेन ।”
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार आह्वान गरिएको गोप्य सिलबन्दीअनुसार सबैभन्दा कम दर रेट सामसुङको परेकाले मल खरिदको जिम्मा पाएको उनले बताए । सामसुङसँग कम्पनीले मल आपूर्तिका लागि ३ अर्ब रुपैयाँको कारोबार गर्नेछ ।
मल खरिदका लागि नेपालमा टेन्डर प्रक्रिया लामो हुनाले आगामी आर्थिक वर्षका लागि अहिले नै टेन्डर आह्वान गरिएको कम्पनीले जनाएको छ । दोस्रो चरणमा मल आपूर्ति गर्न केही दिनभित्रै नयाँ टेन्डर गर्न थालिएको तुलाधरले बताएका छन् । समयमा रकम उपलब्ध गराएमा गहुँका सिजना लागि मल आपूर्ति गर्न समस्या नपर्ने गरी तदारुकताका साथ काम गरिने उनले बताए ।
आपूर्ति जिम्मा पाएको कम्पनीसँग कृषि सामग्री कम्पनीले किस्ता–किस्तामा निश्चित मल खरिदका लागि थप सम्झौता गर्दै आवश्यक रकमसमेत उपलब्ध गराएपछि ढुवानी सुरु हुन्छ ।
चालू आर्थिक वर्षमा २ अर्ब ८३ करोड रकम विनियोजन गरिएकामा आर्थिक वर्ष ०६९÷७० का लागि अनुदानको मल आपूर्ति गर्न ७ अर्ब रकम प्रस्ताव गरिएको छ । मन्त्रालयले ४ अर्बको सिलिङ तोकेकामा मल आपूर्तिमा पछिल्लो पटक देखिएको समस्या र पटक–पटकको थप पहलपश्चात् मन्त्रालयले ७ लाखसम्म छुट्याउने संकेत दिएको कम्पनी स्रोतले बतायो । नेपालमा मागअनुसारको मल आपूर्ति गर्न करिब १५ अर्ब रकम आवश्यक पर्ने कम्पनीको भनाइ छ । नेपालका लागि करिब ७ लाख मेट्रिक टन मलको माग रहेको अनुमान छ । चालू आवमा १ लाख ५० हजार मेट्रिक टन मलमा सरकारी अनुदान छ ।
मल आपूर्तिमा अझै समस्या
सरकारले मल आपूर्ति सहज भएको बताए पनि देशभर मल आपूर्तिमा देखिएको समस्या कम भएको छैन । कतै मल नपुगेको समस्या, कतै मलको कालोबजारी, सहकारीले मल दुरुपयोग गरेको तथा सीमा क्षेत्रमा अवैध र गुणस्तरहीन मलको समस्या लगायतका समस्या देशभर कुनै न कुनै रूपमा देखिएको छ ।
कृषि सामग्री कम्पनीले पश्चिम नेपालमा मल आपूर्तिमा केही ढिला भएको स्वीकार्दै पूर्वी नेपालमा भने समस्या नभएको दाबी गरेको छ । कम्पनीका प्रमुख तुलाधरले मल अभाव भएको धनकुटामा १ सय ४० टन मल सोमाबार मात्र पुगेको बताए । “पूर्वमा मल अभावको समस्या प्रचारमा आएजस्तो छैन, १५ दिनलाई पुग्ने मल अझै स्टकमा छ,” तुलाधरले भने, “थप मल ढुवानीसमेत निरन्तर भइरहेकाले त्यस क्षेत्रमा मल आपूर्तिमा खासै समस्या छैन ।”
पश्चिम तराईको नेपालगन्ज लगायतको क्षेत्रमा अझै मागअनुसार मल पुग्न सकेको छैन । पश्चिम क्षेत्रका लागि मल आपूर्ति गर्ने कम्पनीको भैरहवा डिपोमा नै मल नपुगेकाले यस्तो समस्या देखिएको हो । भारतको मल उत्पादन गर्ने उद्योगमा खराबी आएका कारण भैरहवाका लागि मल ढुवानीमा केही दिन ढिलो भएको कम्पनीले बताएको छ ।
असार २९ गतेसम्म २५ सय टन युरिया र ३१ गतेसम्म २५ सय टन डीएपी मल भैरहवा पुग्ने तुलाधरले बताए । पश्चिम क्षेत्रका कृषकले मल पाउन कम्तीमा एक साता लाग्ने कम्पनीले बताएको छ ।



