आजदेखि उपत्यकामा रात्रिबस
काठमाडौं, १ भदौ -शुक्रबारदेखि काठमाडौं, ललितपुर क्षेत्रमा रात्रिबस सञ्चालन हुर्दै छ । रात्रिबस राति ११ बजेसम्म सञ्चालन हुनेछ । रात्रिकालीन व्यवसाय र नगरवासीको सुविधाका लागि काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा रात्रि बस सञ्चालन हुन लागेको हो । रात्रिबस सञ्चालन पछि रोस्टुराँ व्यवसायलाई राहत हुने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ र महानगरपालिकाबीच २०६९ असार १७ गते यस सम्बन्धमा सम्झौता भएको थियो । सोही अनुसार काठमाडौं र ललितपुरमा १० रुटमा १४ वटा बस सञ्चालन हुने महानगरपालिकाका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले जानकारी दिए ।
सुरक्षा व्यवस्थाका लागि ट्राफिक प्रहरी, महानगरीय प्रहरी आयुक्त कार्यालय, जिल्ला प्रशासन कार्यालयको सहयोग रहने बताईएको छ । बस राति ८ बजेदेखि ११ बजेसम्म कलंकी–चक्रपथ, कोटेश्वर–चक्रपथ र भित्री रुटका लागि वीर अस्पतालको अगाडि खुल्ला मञ्चमा बस स्ट्यान्ड रहने छ । बसस्टपहरू दिवासेवा स्टपहरू नै कायम हुने महानगरपालिकाले जनाएको छ ।
रात्रिबस सञ्चालनका लागि नयाँ बस ल्याउने सम्झौता भए पनि तत्काल ल्याउन नसकिने भएपछि चलिरहेका बस नै सञ्चालनमा ल्याइने भएको छ । रात्रिबसमा पनि दिवा सेवाकै यात्रु भाडादर कायम हुनेछ । तर विद्यार्थी छुट भने रात्रिबसमा हुनेछैन । रात्रिबसका लागि सौर्य ऊर्जाको माध्यमबाट सडक तथा यात्रु प्रतीक्षालमा बत्तीको व्यवस्था हुनेछ । रात्रिबसको उद्घाटन शुक्रबार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गर्दै छन् ।



