चिनियाँ आर्थिक वृद्धिदर दबाबमै

वर्ग: विश्व
मिति: Thursday,16th August 2012 23:28 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameबेइजिङ, ३२ साउन -चिनियाँ प्रधानमन्त्री वेन जिया बाओले देशको आर्थिक वृद्धि अझै पनि दबाबमै रहेको बताएका छन् । पछिल्ला दिनहरूमा समेत अर्थतन्त्रले विभिन्न समस्याको सामना गर्नुपरेको भन्दै उनले आर्थिक वृद्धिदर दबाबकै बीच रहने बताएका हुन् । विभिन्न समस्याका बाबजुद आफ्नो मुलुकले आर्थिक वृद्धिको लक्ष्य भने भेट्टाउने उनको भनाइ थियो ।
उनले बढ्दो मुद्रास्फीतिले नीति–निर्माताहरूलाई आर्थिक वृद्धिका नयाँ कार्यक्रम ल्याउन दबाब दिएको चर्चा गरे । पछिल्लो समयमा आन्तरिक खपत तथा बाह्य निर्यात दुवैमा संकुचन आएपछि वृद्धिदर प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री वेनले आर्थिक वृद्धिका लागि सबै उपाय अवलम्बन गरिने भन्दै यो वर्षको आर्थिक तथा सामाजिक विकासको लक्ष्य पूरा हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।
विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा पछिल्लो समय विभिन्न समस्या देखा परिरहेको अवस्थामा वेनको उक्त भनाइ सार्वजनिक भएको हो । उनले आर्थिक वृद्धिका लागि ब्याजदर कटौतीभन्दा पनि आवश्यक मौज्दात अनुपात कटौतीको सम्भावना धेरै रहेको बताए ।
गएको अप्रिलदेखि जूनको अवधिमा कुल गार्हस्थ्य उत्पादन ७.६ प्रतिशत थियो । यो तथ्यांकलाई पश्चिमा देशहरूको तुलनामा निकै राम्रो मानिन्छ । यद्यपि यो वृद्धिदर गएको तीन वर्षकै न्यून हो ।
गएको जुलाईमा त्यहाँको आयात तथा निर्यात दुवै उच्च दरमा बढे पनि निर्यात व्यापार तथा आन्तरिक माग दुवै कम हुँदै गएको देखिएको विश्लेषकहरूको भनाइ छ ।
 प्रमुख व्यापार साझेदार अमेरिका तथा युराजोनको अर्थतन्त्रमा कमी आएसँगै विदेश व्यापार कमजोर भएको हो । विश्लेषकहरूले आगामी केही सातासम्म यही अवस्था कायम हुने भन्दै चीनको आर्थिक वृद्धिदर संकुचित हुने बताएका छन् ।
उनीहरूले देशको मौद्रिक नीतिमा थप लचकता अपनाउनु पर्ने उल्लेख गरे ।
देशमा आर्थिक वृद्धिलाई थप बलियो बनाउने उपायस्वरूप चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले जूनमा एकै महिनाको अवधिमा दुई पटकसम्म ब्याजदर कटौती गरेको थियो ।
गएको जुलाईमा वैदेशिक एजेन्सीहरूले ७ अर्ब ५८ करोड डलर लगानी गरेका छन् । यो लगानी यसअघिका महिनाको तुलनामा करिब ८.७ प्रतिशतले घटेको छ । विदेशी लगानीमा कमी आउनुमा आन्तरिक नभई बाह्य कारण जिम्मेवार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
बढ्दो मजदुर ज्यालाका साथै चिनियाँ स्वदेशी बजारमा देखिएको कम मागका कारण पनि वैदेशिक लगानी त्यति प्रभावकारी रूपमा भित्रिन सकेको छैन ।
 

  • सम्बन्धित समाचार
Comments