नेप्सेसँगै कारोबार रकम घट्यो
काठमाडौं, ३ भदौ -सेयर बजारमा लगानी गर्ने लगानीकर्ताले आइतबार कमाउन सकेनन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार वाणिज्य बैंकहरू, नेपाल टेलिकमको सेयर मूल्य घटेपछि नेप्से साढे २ अंकले घटेको हो ।
सेयर बजारमा बाहुल्यता रहेको बैंकिङ, विकास बैंक, बिमा र वित्त समूह घटेपछि नेप्से परिसूचक बढ्न सकेन । साथै नेप्सेमा धेरै कित्ता सेयर सूचीकृत नेपाल टेलिकमको समेत सेयर मूल्य घटेपछि बजार परिसूचक घट्न थप मद्दत पुग्यो ।
आइतबार कारोबार सुरु भएदेखि घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिमसम्म कायम रह्यो । कारोबार सुरु हुँदा ३९८.२६ अंकमा रहेको नेप्से परिसूचक २.५९ अंकले घटेर ३९५.६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।
नेप्सेमा कारोबार भएका नेपाल टेलिकम, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, बैंक अफ काठमान्डू, लक्ष्मी बैंकलगायत कम्पनीको सेयर मूल्य घटेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ३.६१, विकास बैंक ०.४७, बिमा २.२, वित्त ०.४८ र अन्य ४.६९ अंकले घटेका छन् तर, जलविद्युत् ६.३८ र उत्पादनमूलक ६.८ अंकले बढेको भए पनि त्यसको प्रभाव नेप्सेमा पर्न सकेन् ।
आइतबार कारोबार रकम पनि करिब आधा घटेको छ । नेप्सेमा ८१ कम्पनीको १ हजार २ सय ३३ कारोबारबाट ३ करोड ९९ लाख २७ हजार रुपैयाँबराबरको १ लाख ३० हजार ४९ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम गत साताको अन्तिम दिन बिहीबारको तुलनामा थोरै हो ।
बिहीबार नेप्सेमा ८४ कम्पनीको १ हजार १ सय ४७ कारोबारबाट ६ करोड ४२ लाख ५४ हजार रुपैयाँबराबरको १ लाख ६८ हजार ५ सय ३० कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकमसँगै नेप्सेको बजार पुँजीकरण पनि घटेको छ । बिहीबार ३ खर्ब ७६ अर्ब ३३ करोड भएको नेप्सेको कुल बजार पुँजीकरण घटेर ३ खर्ब ७४ अर्ब ४३ करोडमा झरेको छ ।
आइतबार धेरै रकम कारोबार हुने कम्पनीमा बुटबल पावर कम्पनी छ । प्रभु फाइनान्सको धेरै कित्ता सेयर खरिद बिक्री भएको छ । पूर्णिमा विकास बैंकको धेरै पटक सेयर खरिद बिक्री भएको छ ।
आइतबार नेप्सेमा
परिसूचक ः २.५९ ले घट्यो
कारोबार रकम ः ४ करोड ९९ लाख २७ हजार
सेयर ः १ लाख ३० हजार ४९ कित्ता
बजार पुँजीकरण ः ३ खर्ब ७४ अर्ब ४३ करोड
धेरै रकम कारोबार हुने कम्पनी ः बुटवल पावर कम्पनी



