महोत्तरीमा भाइरल ज्वरोको प्रकोप
महोत्तरी, १ भदौ - महोत्तरी जिल्लाको विभिन्न गाउँमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।जिल्लाको सदरमुकाम जलेश्वर, धोबौली, सुगा, सारी, बजराही, बखरीलगायतका अधिकांश गाउँमा अहिले भाइरल ज्वरोको प्रकोप देखिएको हो । जिल्ला अस्पताल जलेश्वरका मेडिकल अधिकृत द्वारिकाप्रसाद साहका अनुसार सो अस्पतालमा मात्रै अहिले २० देखि ३० जनाको सङ्ख्यामा भाइरल ज्वरोको बिरामी आउने गरेका छन् ।त्यस्तै जिल्लाको स्वास्थ्य चौकीमा पनि त्यत्ति नै सङ्ख्याको बिरामी आउने गरेको चिकित्सकले बताएका छन् ।जिल्लाको बलबा उपस्वास्थ्य चौकीका इन्चार्ज सन्तोष ठाकुरका अनुसार उपस्वास्थ्य चौकीमा पनि दैनिक दर्जनौँ भाइरल ज्वरोको बिरामी आउने गरेका छन् ।
मौसममा एक्कासि भएको परिवर्तनका कारण सो रोगको प्रकोप फैलिएको मेडिकल अधिकृत साहले बताउनुभयो । उहाँका अनुसार भाइरल ज्वरोबाट सबभन्दा बढी स–साना बालबालिका प्रभावित भएको छ । रासस



