२५ लाख किलो क्षमताको शीतभण्डार
स्याङ्जा, ३२ साउन -कृषिजन्य उत्पादन समयमै बिक्री नहुँदा कुहिएर जाने समस्या भोग्दै आएका कृषकले अब राहत पाउने भएका छन् । सदरमुकाम पुतलीबजार नगरपालिका–१३, सुम्रेखोलामा करिब ११ रोपनीमा २५ लाख किलो क्षमताको शीत भण्डार निर्माण हुने भएपछि कृषकले राहत पाउने भएका हुन् ।
सुन्तला, आलु र तरकारी राख्न सकिने शीत भण्डारको गत आवको अन्त्यतिर निर्माण थालिएको हो ।
शीतभण्डारका लागि कृषि तथा सहकारी मन्त्रालय सहकारी विभागको करिब ५ करोड तथा स्थानीय निकाय, सहकारी संघ–संस्था र दातृनिकायबाट सेयर सदस्यताबापत संकलित करिब ५ करोड खर्च गरिने भएको छ ।
“शीतभण्डारबाट स्याङ्जा, कास्की, पाल्पा, तनहुँ, पर्वत र गुल्मीका करिब ५० हजार कृषक प्रत्यक्ष लाभान्वित हुनेछन्,” सहकारी संस्थाका सचिव अन्नतकुमार श्रेष्ठले भने ।
जिल्लाका दुई नगरपालिका र ६० गाविसमध्ये दुई नगरपालिका र २५ गाविस सुन्तलाका लागि उपयुक्त वातावरण भएका क्षेत्र हुन् । आँधीखोला र ज्याग्दीखोला किनार आलुखेतीका लागि उत्तम क्षेत्र हो । गत वर्षमात्रै स्याङ्जामा १५ टन सुन्तला, १३ टन आलु र २५ टन मौसमी तथा बेमौसमी तरकारी उत्पादन भएको थियो ।
भण्डार निर्माणपछि कृषकको जीवनस्तरमा परिवर्तन आउने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । “भण्डारको अभावमा अतिभन्दा अति कम मूल्यमा आफ्ना उत्पादन बेच्न बाध्य भएका कृषकले अब उचित मूल्य पाउनेछन्,” उनले भने, “यसले कृषितर्फ थप आकर्षण बढाउनेछ ।”



