हाइटेक पुस्ता
त्रिचन्द्र क्याम्पसमा ग्रामीण विकास विषयमा स्नातकोत्तर अध्ययनरत नीराजन शिरीषका महत्वपूर्ण काम सूचना–प्रविधिले सहज बनाएका छन् । इन्टरनेटमा धेरै अभ्यस्त शिरीष आफ्नो ग्याजेटलाई भरपूर प्रयोग गर्दै व्यस्ततामा पनि काम फत्ते गर्ने युवा हुन् । शिरीषजस्तै युवाहरूले अहिले सूचना–प्रविधिको प्रयोगमा आफूहरूलाई अब्बल बनाउँदै लगिरहेका छन् ।
सूचना–प्रविधिको विकास र यसमा बढ्दो पहुँचले युवाहरू हाइटेक बन्दै गएका छन् । एक दशकअघि र अहिलेको अवस्थामा सूचना–प्रविधि क्षेत्रमा आएको विकास र यसको बढ्दो प्रयोगकै कारण युवाहरूमा आकर्षण बढिरहेको हो । विलासी ग्याजेटदेखि लिएर इन्टरनेट सर्फिङ गर्ने युवा जमातकै कारण इन्टरनेटमा नेपालीको पहुँच बढिरहेको सेवाप्रदायकहरूको तथ्यांक छ । मोबाइल संस्कृतिले पनि सञ्चारको समान पहुँचलाई अघि बढाउँदै लगेका छन् । बग्रेल्ती खुलेका सामाजिक सञ्जाल हुन् या विलासी मोबाइलमा एप्लिकेसन (एप्स) राखेर अफिस टुल्स नै चलाउने कुरा होस्, हरेकमा युवा आकर्षण बढ्दो छ ।
सूचना–प्रविधिको विश्व परिवेशसँग इन्टरनेट पुस्ता नजिकिँदै जाँदा त्यसमा अभ्यस्त बन्ने लालसाले प्रयोगमा वृद्धि हुँदै गएको सूचना–प्रविधि विज्ञहरूको अनुमान पनि छ । सूचना–प्रविधिको विकासको फड्कोले युवापुस्ताप्रति केही आशा राख्ने ठाउँ पनि बढ्दै गएको छ । इन्टरनेट तथा दूरसञ्चारप्रदायकहरूले सहरी भेगदेखि ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा पु¥याउँदा त्यसको प्रत्यक्ष फाइदा उपभोक्ताहरूले नै लिएका छन् । प्रविधिमा चासो राख्ने पछिल्लो पुस्ता ग्याजेटलाई आफ्नो आवश्यकतामा परिवर्तन गर्दैछन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार मुलुकमा १ करोड ४७ लाखभन्दा बढीले दूरसञ्चार सेवा प्रयोग गरिरहेका छन् । यो संख्या मुलुककै कुल जनसंख्याको ५० प्रतिशतभन्दा पनि बढी हो । यो तथ्यांकले दूरसञ्चार सेवा प्रयोग गर्ने उपभोक्ता बढेको देखाए पनि अझै ठूलो संख्यामा सेवाबाट वञ्चित भने रहेका छन् ।
नेपाल टेलिकम, एनसेल, युटिएललगायत अन्य इन्टरनेट सेवाप्रदायकको सेवा विस्तारका कारण इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । सेवाप्रदायकका अनुसार पछिल्लो पटक ३७ लाख ५५ हजार जनताले इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् । सेवाप्रदायकको प्रतिस्पर्धाका कारण वाइफाई सेवा थप गर्दा पछिल्लो पटक देशका ठूला तथा साना सहरहरू वाइफाईमय हुँदै गएका छन् । सार्वजनिक क्षेत्रदेखि लिएर रेस्टुराँ तथा होटलहरू वाइफाई क्षेत्र बन्दै जाँदा त्यसको प्रयोग गर्ने जमातको संख्या पनि बढ्दै गएको छ । पश्चिम क्षेत्रतिर म्यागासेसे विजेता महावीर पुनको परिकल्पनामा वायरलेस प्रविधिका कारण ग्रामीण क्षेत्रमा इन्टरनेटले जनजीवन नै सहज बनाएको छ । विलासी मोबाइलदेखि ल्यापटप बोक्ने र स्लिम आइप्याड आफ्नो पकेटमा लोडेड गर्ने तन्नेरी आफूलाई हाइटेक गराउँदै लगेपछि पछिल्लो ग्याजेटमा पनि अभ्यस्त देखिन्छन् । विश्व सूचनाप्रविधि बजारमा देखा पर्ने लेटेस्ट ग्याजेटको पर्खाइमा रहने नेपाली तन्नेरी त्यसको प्रयोगमा अभ्यस्त बन्नु नयाँ जेनेरेसनको ग्याजेटप्रतिको बढ्दो आकर्षण भएको व्यवसायीहरूको भनाइ छ ।
व्यवसायीका अनुसार एप्पलको आइफोन ४ एस, आइप्याड २,३, नोकियाको विन्डो, एन्ड्रोइड ४.० प्लस, सामसुङको ट्वालेटसेट त्यस्तै सोनी, एलजी, मोटोरोलाका स्मार्टसेट युवावर्गको पछिल्लो रोजाइ बन्दै गएको छ । न्यूटोरिक नेपालका सञ्जय गोल्छा भन्छन्, “युवावर्गले मोबाइलमा हुने एप्लिकेसनप्रति चाख राख्दै विभिन्न सेट खरिद गर्ने गरेको पाइन्छ । सहरी क्षेत्र, विशेषगरी काठमाडौंमा यस्ता सेटको माग अत्यधिक हुने गरेको उनले बताए । नेपाली बजारमा एप्स चलाउन मिल्ने ७ हजारदेखि १ लाख रुपैयाँसम्मका सेट उपलब्ध छन् ।
स्मार्ट फोनमा हुने क्वेर्टी किप्याडका कारण टाइप गर्ने सजिलो हुने भएकाले धेरैको चाहना यसप्रति गएको व्यवसायीहरू बताउँछन् । विन्डोजको प्याकेज हुने भएकाले मोबाइल सेटबाटै धेरै महत्वपूर्ण काम गर्न सकिने भएपछि ल्यापटपभन्दा पनि स्मार्टफोनमा युवाहरूले चासो देखाएको व्यवसायीहरूको भनाइ छ ।
वल्र्ड ट्रेड सेन्टर, त्रिपुरश्वेरमा व्यवसाय गर्ने युवा मनीष राजभण्डारी आफ्नो व्यवसायको कतिपय काम मोबाइल प्रयोगबाटै गर्छन् । जीपीआरएस सेवा लिएका उनी नोकियाको स्मार्ट फोन प्रयोग गर्छन् । सामाजिक सञ्जालमा जोडिएर साथीभाइसँग च्याटमा कुराकानी गर्नुदेखि मोबाइलमा भएका धेरै एप्लिकेसन उनी प्रयोग गर्दै आफ्नो व्यस्त समयलाई म्यानेज गर्छन् । सेन्टरमा बाहेक अन्य दुई ठाउँमा व्यवसाय गरेका उनी इन्टरनेट र ग्याजेटले दैनिकी सजिलो बनाएको बताउँछन् ।
नेपालमा मोबाइल इन्टरनेट जीपीआरएस प्रयोग गर्ने ३३ लाख उपभोक्ता रहेको प्राधिकरणको तथ्यांक छ । जीपीआरएसका कारण इन्टरनेट प्रयोग गर्ने र मोबाइल सेटमा हुने एप्सलाई आफूअनुकूल काम गर्ने युवावर्ग सौखिन र आवश्यकताअनुसार प्रयोग गर्दै गइरहेका छन् । एप्पलले आफ्नो ३ लाखभन्दा बढी एप्लिकेसन राखेको छ । भनेजस्तो र चाहेजस्तो सफ्टवेयर डाउनलोड गरेर आफ्नो काम हुनेपछि स्वभावतः यस्ता ग्याजेटमा आकर्षण हुने आइप्याड २ प्रयोग गरिरहेका सञ्जीव बराल भन्छन् ।
एक अनलाइन पोर्टल (विकिपिडिया) का अनुसार नेपालमा १ करोड ४२ लाख ४१ हजार जनाले मोबाइल फोन प्रयोग गरेका छन् । बढ्दो मोबाइल प्रयोगमा युवापुस्ता अग्रणी देखिन्छन् । मोबाइल फोन प्रयोग गर्ने युवापुस्ता बढी नै भएकाले उनीहरू आफ्नो आकांक्षाअनुसार सेट खरिद गरी त्यसमा हुने एप्समा रमाइरहेको पाइन्छ । सामाजिक सञ्जालमा अभ्यस्त बन्दै गएको नेपाली पुस्ताले त्यसबाहेक याहु, इबडी, मिग, स्काइप, मेसेञ्जरलगायत एप्स डाउनलोड गर्दै बीबीसी, सीएनएन, सिन्ह्वा, न्यूयोर्कटाइम्सका अनलाइन भर्सन पढ्न रुचाउने कारण यस्तो सुविधा हुने ग्याजेटमा सोख बढाउँदै लगेको पाइन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग र जीपीआरएसको सुविधाले पनि विलासी मोबाइल चलाउनेको संख्या बढ्दै गएको हो । सामाजिक सञ्जालको अध्ययन गर्ने वेबसाइट सोसियल ब्याकरसका अनुसार नेपालमा फेसबुक प्रयोग गर्ने प्रयोगकर्ता पछिल्लो पटक १४ लाख २ हजार ८ सय ६० जना छन् ।
म्याकप्रो, आइप्याड, आइफोनका पछिल्ला संस्करण नेपाली बजारमा भित्रिएकै साता बिक्रीमा उल्लेखनीय हुनु नेपाली पुस्ता यस्ता ग्याजेटप्रति सौखिन हुँदै गएको व्यवसायीको भनाइ छ ।




