असुरक्षित आकाश
सामेबार १५ जनाको ज्यान जाने गरी भएको पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनाले एकपटक पुनः नेपालमा हवाईयात्राको सुरक्षा अवस्थाबारे प्रश्न उठेका छन् । जटिल भौगोलिक अवस्थाका कारण नेपालका धेरै विमानस्थल जोखिमयुक्त मानिन्छन् । यही कारण नेपालको ६२ वर्षीय उड्डयन इतिहासमा हालसम्म ७२ वटा विमान दुर्घटना भइसकेका छन्, जसमा ६ सय २४ ले ज्यान गुमाएका छन् । दुर्घटनाको यो तथ्यांकले पनि हवाई सुरक्षा कमजोर रहेको देखाउँछ । यी दुर्घटनामध्ये धेरैजसो पहाडी विमानस्थलमा भएका छन् ।
हरेक पटक विमान दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्छ । दिएका सुझाव दराजमा थन्क्याउने गरिन्छ । हवाई र उड्डयन सुरक्षाका लागि अपनाउनुपर्ने न्यूनतम सावधानीसमेत पालना नगर्नाले प्रायः विमान दुर्घटना हुने गरेको नजिर हाम्रा सामु छ । जहाज दुर्घटना हुँदा मानवीयसँगै देशले ठूलो आर्थिक क्षति पनि बेहोर्दै आएको छ । पटक–पटक दुर्घटनाले विदेशी पुनर्बिमा कम्पनीलाई तिर्नुपर्ने रकम बढिरहेको छ ।
हवाई सुरक्षासँग जोडिएका समस्या नेपालमा अपवादकै रूपमा देखा पर्ने गरेको भए पनि उड्डयन सुरक्षाको कमजोर सुपरिवेक्षण अवस्था विद्यमान छ भन्ने अग्नि एयरको यो पछिल्लो दुर्घटनाले समेत साबित गरिदिएको छ । १० लामो उडान अनुभव रहेका नागरिक उड्डयन प्राधिकरणकै अनुभवी पाइलटले उडाएको विमानमा अवतरणको अन्तिम क्षणमा प्राविधिक त्रुटि देखिई फर्किने क्रममा मोड्दा त्रुिट भएको प्रारम्भिक विवरण आएको छ । विमान उडाउनुपूर्व आवश्यक परीक्षण गर्ने प्रणालीमा कुनै सुधार हुन सकेको छैन भन्ने कुरा यसले प्रमाणित गरिदिएको छ, किनभने दुई वर्षअघि मकवानपुरको शिखरापुरमा अग्निएयरकै विमान दुर्घटना हुँदा दुवै इन्जिन बन्द हुनुलाई मुख्य कारण मानिएको थियो । अहिले पनि सोही एयरलाइन्सको विमान अवतरणमा समस्या रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
नागरिक उड्डयन प्राधिकरणका तर्फबाट नेपाली हवाई आकाशमा उड्ने विमानको निरीक्षण गरेर आवश्यक त्रुटिहरू सच्याउन निर्देश गर्ने तथा सरकारद्वारा गठित हवाई दुर्घटना जाँझबुझ आयोगमा समेत बसेर दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानात्मक भूमिका खेल्ने व्यक्ति स्वयंले चलाएको जहाज दुर्घटनामा परेपछि उड्ड्यन सुरक्षाबारे प्रश्न उठ्नु स्वभाविक हो । विमान दुर्घटनाका मुख्य पाँच कारण मानिन्छन्, पहिलो मानवीय त्रुटि, दोस्रो प्रविधि (आँखाले हेरेर चलाउने–भीएफआर वा प्रविधि निर्देशित भएर चलाउने–आईएफआर त्रुटि, तेस्रो नियम–निर्देशनको त्रुटि चौथो प्राविधिक कारण र पाँचौं मौसमको कारण । नेपालमा भएका दुर्घटनाका आधारमा हेर्दा अधिकांश मानवीय त्रुटिका कारण हुने गरेको अध्ययनले देखाएका छन् ।
प्रायःजसो विमान दुर्घटना जाँझबुझ समितिले दिएका प्रतिवेदनमा मानवीय त्रुटि वा मौसम खराबीलाई मुख्य दोष दिएको देखिन्छ, जबकि प्राविधिक त्रुटिलाई ढाकछोप गरिन्छ । नेपालमा उडान भर्ने अधिकांश जहाज पुराना भइसकेका छन् । इन्जिन ‘ओभरहल’ गरेर ल्याइएका यस्ता जहाजको प्राविधिक पक्षलाई नियमित अनुगमन र निरीक्षण गर्नुपर्ने हुन्छ । तर, यसमा कमजोरीहरू देखिने गरेका छन् । आलटाले प्रवृत्तिका कारण पहिलो त यात्रुले पूरा भाडा तिरेर पनि स्तरीय सेवा पाइरहेका छैन, दोस्रो र सबैभन्दा संवेदनशील, यसले उड्डयन जोखिम बढाइरहेको छ । सानातिना त्रुटिलाई वेवास्ता गर्ने, पछि गरौंला भनेर टार्ने प्रवृत्ति छ भनेर उड्डयन क्षेत्रकै अधिकारीहरूले सञ्चारमाध्यममा व्यक्त गरेको प्रतिक्रियालाई गम्भीर भएर लिनुपर्छ ।
केही समयअघि नेपालका विमान दुर्घटना जाँझबुझ समितिहरूको प्रतिवेदन पालना भए–नभएको भन्ने विषयमा गरिएको अर्को छुट्टै अध्ययन समितिले दिएका सिफारिसलाई समेत कार्यान्वयन नगर्नाले नेपाली हवाई आकास असुरक्षित भएको हो । तसर्थ दुर्गम र जोखिमयुक्त मानिएका लुक्ला, स्याङबोचे, जोमसोमसहितका विमानस्थललाई प्राविधिक स्तरोन्नतिसँगै सबै वायुसेवा कम्पनीका विमानलाई निरन्तर प्राविधिक परीक्षण गर्नु पर्ने अपरिहार्य भइसकेको छ ।



