एक सातामा साढे ३ अर्ब घाटा
वीरगन्ज, १० जेठ-लगातारको बन्दहड्तालका कारण वीरगन्जदेखि जितपुर करिडरका उद्योग र व्यापार बन्द हुँदा दैनिक करोडौं रुपैयाँको नोक्सानी भइरहेको छ । बन्दका कारण दैनिक ज्यालादारी गर्ने मजदुर बढी प्रभावित बनेका छन् ।
एक सातादेखिको बन्दले उद्योगहरूको घाटा ३ अर्ब पुगेको वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष अशोक टेमानीका अनुसार एक दिनको बन्दले उद्योग, व्यापार, विद्युत्, टेलिफोन, शैक्षिक क्षेत्र, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारसहित ५० करोड रुपैयाँबराबरको नोक्सानी हुने गरेको छ ।
उद्योगको तलबको भरमा गुजारा चलाउने कर्मचारी र मजदुरले बन्दका कारण चामलसम्म खरिद गर्न नपाएको बताएका छन् । वीरगन्जको औद्योगिक करिडरमा करिब १७ हजार मजदुर कार्यरत छन् ।
बन्दमा यात्रु नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको वीरगन्जका रिक्सा मजदुर सिरहाका रामचन्द्र साह बताउँछन् ।
लगातारको बन्दहड्तालले राजस्व असुली पनि प्रभावित भएको वीरगन्ज भन्सार प्रशासनले जनाएको छ । केही दिनयता कार्यालयले दैनिक न्यूनतम १५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । बन्दको समयमा आधा पनि असुली नभएको जनाइएको छ । बन्दका कारण भारतबाट मालबाहक ट्रकको आवागमन नै घट्ने र भन्सार यार्डमा आइसकेका मालसामान पनि असुरक्षाका कारण जाँचपास गराएर नलग्ने गरेकाले आशा गरेअनुरुप राजस्व संकलन हुन नसकेको हो ।
बन्दहडतालका कारण करिडोरका करिब हजार उद्योग बन्द छन् । डाबर नेपाल र सूर्य नेपालजस्ता बहुराष्ट्रिय उद्योग पनि खुलेका छैनन् । जारी हड्तालले एकातिर मजदुरहरू समस्यामा परेका छन् भने अर्कातिर उद्योगमा कार्यरत हजारौं कर्मचारीले समस्या खेपिरहेको नेपाल फर्मास्युटिकल्स लिमिटेडका कानुनी सल्लाहकार नरेश प्रधान बताउँछन् ।



