कुहिए फलफूल र तरकारी
बन्दको असर

बुटवल, २ जेठ
दिनहुँ बन्द हुन थालेपछि नेपालकै दोस्रो ठूलो बुटवल कृषि उपज थोक बजार केन्द्रमा दैनिक लाखौंको तरकारी र फलफूल कुहिएर खेर जान थालेको छ । जेठ १४ नजिकिँदै जाँदा विभिन्न समूहले अकस्मात् बन्दहड्ताल गर्ने क्रम बढेपछि कृषक र व्यवसायीले दैनिक लाखौं घाटा बेहोर्नुपरेको हो ।
एक दिन बन्द हुँदा डेढ करोडको करोबार प्रभावित हुने केन्द्रका सञ्चालक समिति अध्यक्ष कलाधर पन्थी बताउँछन् । उनका अनुसार चार दिनयता करिब २० लाखको तरकारी र फलफूल कुहिएर नष्ट भएको छ ।
ब्राह्मण, क्षत्रीको दुई दिने बन्दयता ६ लाखको तरकारी र १४ लाखको फलफूल कुहिएको उनले बताए । “गाडीको तरकारी बाटैमा कुहिने गरेको छ,” अध्यक्ष पन्थीले भने ।
दुई दिनयता थारू संयुक्त संघर्ष समितिले पाँच दिन र त्यसपछि आदिवासी जनजाति संघर्र्ष समितिले लगातार तीन दिन बन्द आह्वान गरेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको तरकारी र फलफूल व्यवसायी दुर्गा बस्याल दुखेसो गर्छन् । “यही सातामात्र करिब १ लाख घाटा भयो, सधैं घाटा खाएर कसरी चल्ने ?” उनले भने, “जेठ १४ सम्म बन्दहड्ताल हुने देखिएकाले सटर बन्द गरेर बसेको छु ।”
बन्दकर्ताहरूले दैनिक उपभोग्य तरकारी र फलफूलको आयात र बेचविखनमा रोक लगाउँदा सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको छ । बजारमा तरकारी र फलफूल अभाव सुरु भएको छ भने मूल्य पनि अकासिएको छ ।
कृषि उपजमा नियमित तरकारी पठाउने रुपन्देही, पाल्पा, गुल्मी, चितवन, सल्यान, दाङलगायतका कृषकले बन्दले तरकारी कुहिएको भन्दै दुखेसो गर्ने गरेका छन् ।
बुटवलको कृषि उपज केन्द्रमा करिब सयजना व्यवसायीले फलफूल र तरकारीको कारोबार गर्छन् ।



