डिजेल अभावले निर्माण प्रभावित
इलाम, ३ जेठ- सहज ढंगले डिजेल उपलब्ध नभएपछि इलाममा विकास निर्माणकार्य प्रभावित हुन थालेको छ । एक महिनादेखि पर्याप्त तेल खरिद गर्न नपाएका व्यवसायीले निर्माणमा लगाएका मेसिन र गाडीहरू सञ्चालन गर्न नसकी थन्क्याउन थालेका छन् ।
इलामको सेतीदेवी निर्माण सेवाका डम्बर खड्काले ६ वटा मेसिन (स्क्याभेटर लगायत) मध्ये तेल नपाउँदा तीनवटा थन्किएको बताए । उनले तेलको अभावमा ढुवानी दोब्बर बढेपछि सबै काम प्रभावित भएको जनाए ।
खड्काको निर्माण सेवाले सञ्चालन गरेको पाँचथरको जोरपोखरी, आलेडाँडा, चरिभञ्ज्याङ हुँदै ओयाम जोड्ने सडकको कामसमेत रोकिएको छ । तेल अभावमा मध्यपहाडी र मेची राजमार्गमा भइरहेको सडक निर्माणको काम प्रभावित भएको छ । मध्यपहाडी आयोजनाका इन्जिनियर सुरेश तुम्बाहाम्फेले डिजेल अभावमा थर्पुदेखि चिवाभञ्ज्याङसम्म र जोरसालदेखि संक्रान्ति हुँदै म्याङलुङ जोड्ने सडक निर्माण प्रभावित भएको बताए ।
मध्यपहाडी सडक पूर्वको अन्तिम बिन्दु चिवाभञ्ज्याङ जोड्न ४ सय मिटरमात्र भए पनि डिजेल अभाव र मौसमको प्रतिकूलताले काम स्थगित भएको छ । एक्ज्याभेटरमा हाल्ने डिजेल नहुँदा पूर्वीसीमासम्म पु¥याउन अझै केही दिन लाग्ने देखिएको छ । ठेकेदारका अनुसार अरू ठाउँमा पनि त्यस्तै समस्या छ ।
महालक्ष्भी सिंह एन्ड ब्रदर्सका निर्मल उप्रेतीले तेल नपाउँदा चारवटा मेसिन (एक्ज्याभेटर र ब्रेकर) सहित ट्रिपर दुई सातादेखि थन्क्याएको बताए ।
मेची राजमार्गको गोपेटार खण्डमा कालोपत्रेका लागि अन्तिमपटक काम गरिरहेको चाइना हुनान महादेव खिम्तीका सचिन क्षेत्रीका अनुसार तेल नपाउने समस्याका कारण काममा सुस्तता आएको छ । फिदिमको पेट्रोलपम्पमा गाडीवालालाई प्राथमिकता दिइने र झापामा तेल नपाउने समस्याले लामो समयदेखि समस्या भोग्दै आएको उनले बताए ।
मध्यपहाडीको थर्पूदेखि च्याङथापुसम्म १० करोडभन्दा बढीको लागतमा र जोरसाल संक्रान्तिसम्मको ३१ किलोमिटरमा १३ करोड लागतमा ह्युम पाइप, कल्वर्ट, स्ल्याप, ग्याबयिनलगायत स्ट्रक्चरका लागि काम भइरहेको छ ।
पूर्वको च्याङथापु चिवाभञ्ज्याङदेखि पश्चिम झुलाघाट जोड्ने १ हजार ७ सय ५६ किलोमिटर सडकलाई पूर्वीसिमानामा जोड्न ४ सय मिटर बाँकी छ । पाँचथर खण्डमा पर्ने सिवा र मेवा खोलामा पुल निर्माणको कामसमेत सुरु गरिए पनि डिजेल अभावले मेसिन र गाडी चलाउन नसक्दा काम प्रभावित भइरहेको व्यवसायी बताउँछन् ।



