दैनिक उपभोग्य वस्तु सस्तियो

वर्ग: देश
मिति: Wednesday,9th May 2012 23:32 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

उदयपुर, २७ वैशाख- सगरमाथा अञ्चलकै विकट मानिएका खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्ला सदरमुकाममा सडक सञ्जाल जोडिएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री सस्तोमा पाइन थालेको छ । पहिले भरियाले डोकोमा बोकेर सामान लैजाने यी जिल्लामा गत वर्षदेखि यातायातका साधनले सिधै ढुवानी गर्न थालेपछि उपभोग्य वस्तुको मूल्य पहिलेको तुलनामा घटेको हो ।
भरियाको तुलनामा यातायातका साधनबाट सामान ल्याउँदा ढुवानी खर्च कम पर्ने भएकाले सामान केही सस्तो भएको दिक्तेल बजारका व्यापारी वीरेन्द्र श्रेष्ठले बताए । “खच्चड र भरियाको तुलनामा ट्रकले कम खर्चमा धेरै सामान ढुवानी गर्ने भएकाले सामान केही सस्तो भएको हो,” उनले भने ।
यातायातका साधनले ढुवानी गर्न थालेपछि बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति पनि सहज हुुन थालेको व्यापारी बताउँछन् । “बजारको माग र आवश्यकताअनुसार सामान ढुवानी गर्छौं,” ओखलढुंगाका व्यापारी राजेश रुम्दालीले भने । तराईका व्यापारीलाई आवश्यक सामानको विवरण फोनबाट टिपाइदिएपछि उनीहरूले सामान पठाइदिने उनले बताए । “यसले गर्दा हामीलाई धेरै सजिलो भएको छ,” रुम्दालीले भने ।
कटारी उद्योग वाणिज्य संघका अध्यक्ष राजेशचन्द्र श्रेष्ठका अनुसार कच्ची सडक पुगेका जिल्लामा सबैभन्दा बढी चामल, तेल, नुन, चिनीलगायतका दैनिक उपभोग्य वस्तु भित्रिने गरेका छन् । “दैनिक ३०–३५ ट्रक सामान कटारीबजारको बाटो हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जान्छ,” उनले भने, “दैनिक उपभोग्य वस्तुबाहेक रड, सिमेन्ट र कपडासमेत उल्लेख्य मात्रामा जानेगरेको छ ।”
उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने सुनकोसी नदीमा तीन महिनाअघि बेलिब्रिज लगाइएपछि सवारी आवागमन झनै सहज भएको हो । तीन वर्षभित्रमा सम्पूर्ण निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याउने उद्देश्यका साथ आर्थिक वर्ष ०५९÷६० देखि थालिएको पक्की पुल भने आठ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
“सुनकोसीमा पुलमात्रै बन्ने हो भने पनि धेरै सहज हुने थियो,” खोटाङको हलेसी गाविसका सचिव रामराज पोखरेलले भने, “पुल बन्ने हो भने दिक्तेलबाट कटारीसम्म वर्षमा नौ महिना यातायात सञ्चालन हुनसक्छ ।”
वर्षायाममा बेलिब्रिज सञ्चालन नहुने भएकाले भरियाले सामान तार्नुपर्ने हुन्छ । “गाडीले ल्याउन थालेपछि एक किलो चामलमा ३ रुपैयाँ सस्तो भएको छ,” ओखलढुंगाको थाक्ले गाविसका भीम दाहालले भने, “तेल, चिनी, लत्ताकपडा, नुनलगायतका सामान पनि पहिलेको तुलनामा केही सस्तोमै पाइन्छ ।” उनका अनुसार थाक्लेवासीले आफ्नो उत्पादन पनि सहजै बिक्री गर्न पाएका छन् ।
भोजपुर–उदयपुर–सिन्धुलीको खुर्कोट हुँदै काठमाडौंसम्म जाने मध्यपहाडी राजमार्गलाई समेत पायक पर्ने सुनकोसी पुल निर्माणमा सरकारले चासो नदिएको आरोप स्थानीय बासिन्दाको छ । गत वर्षसम्म तीन वटा खम्बाको जग बनाइएकोमा अहिले त्यो पनि भत्किसकेको उनीहरूले बताए ।
 

  • सम्बन्धित समाचार
Comments