बन्दमा भ्याइनभ्याइ
काठमाडौं, ८ जेट- नयाँबानेश्वरमा मकै पोलेर गुजारा चलाउने सन्तबहादुर क्षेत्रीले सोमबार ग्राहकलाई लाइनमा राखेर मकै बेच्नुप¥यो । पैसा बुझेर भन्दै थिए, “लाइनमा बस्नू अनि मकै लैजानू ।” अघिपछि दिनमा मुस्किलले ४० घोंगा मकै बेच्ने क्षेत्रीले सोमबार दिउँसै १ सय २० घोंगा बेचे ।
भद्रकालीनजिकै सडकमा काँक्रो बेच्न बसेकी बसुन्धरा शर्मालाई पनि भ्याइनभ्याइ थियो । बन्दले बाटोमा मान्छेको पैदलयात्रा बाक्लिएपछि उनको पसलवरिपरि पसिन्यौल ग्राहकको भीड थियो । “धेरै मान्छे हिँडे, व्यापार पनि धेरै भयो,” उनी भन्दै थिइन्, “अरु दिन ४–५ सय हुन्थ्यो, हिजो र आज ११ सयसम्म भएको छ ।” बन्द हुनु राम्रो नभए पनि व्यापार राम्रो भएको बताउँदा उनको अनुहारमा मुस्कान थियो ।
“बन्दले सबै बन्द छ, कहाँ जाने ?” नयाँ बानेश्वर चोकमा भेटिएका सुन्धाराका रत्न शाक्यले आइसक्रिम किन्दै भने, “सडक–सडक घुम्दै हिँडेको, गर्मी छ । यही आइसक्रिमले भरथेग गर्ला एकछिन छ ।” प्रेससमेत आक्रमणमा परेको समाचार सुनेर झस्किएका शाक्य सुन्धाराबाट बानेश्वर हिँड्दै आएका थिए ।
उनीजस्तै सडकमा हिँड्नेहरूको पैदलयात्राले आइसक्रिम बिक्री गर्ने सञ्जय शाहको भने व्यापार चम्किएको रहेछ । “गर्मी छ, सडकमा मान्छे पनि धेरै छन्,” शाक्यलाई आइसक्रिम दिँदै उनले भने, “यसले व्यापार डबल भा’छ । तर, केही बन्दकर्ताले आइसक्रिमको ठेलालाई पनि अवरोध गर्न खोजे ।”
बन्दले ठूला उद्योग–व्यवसाय ठप्प भए पनि सडक किनारामा पसल गर्नेलाई भने फाइदा भएको छ । निजी तथा सार्वजनिक यातायात नचल्दा पैदलयात्रा गरी गन्तव्यमा पुग्ने यात्रुले स–साना व्यवसायीका व्यापार बढाइदिएका हुन् । विभिन्न गन्तव्यमा पुग्ने यात्रुले सडक किनाराका घुम्ती पसलमा मकै, आइसक्रिम, पानीपुरी, चनाचटपट, चुरोटलगायत बस्तु किन्ने गर्दा व्यापार बढेको साना व्यवसायी बताउँछन् ।
लगातारको बन्दले जनजीवन अस्तव्यस्त छ । ठूला पसल र व्यापार पूर्ण रूपमा बन्द रहे पनि स–साना व्यवसायी घुम्ती व्यापार तथा व्यवसायलाई भने बन्द ‘अवसर’ बनेको छ । यस्ता व्यापारसँगै दैनिक उपभोग्य वस्तु तरकारीको पनि व्यापार बढेको छ ।
बन्दका दिन अघिपछिभन्दा सडकछेउ व्यापार गर्ने स–साना व्यवसायी बढ्दै गएका छन् । कतिपयले त फुटपाथमै विभिन्न वस्तुको पसल राखेका छन् ।



