भट्टराई सरकार ‘कामचलाउ’
- दैनिक काममात्र सञ्चालन गर्न राष्ट्रपतिको आग्रह
- राष्ट्रपतिले अब सहमतिको सरकार गठनका लागि आग्रह गर्ने
काठमाडौं, १६ जेठ- संविधानसभा विघटनलगत्तै राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईनेतृत्वको सरकार कामचलाउ मात्र भएको जानकारी गराउँदै सहमतिका आधारमा निर्वाचनमा जान निर्देशन दिएका छन् ।
संविधानसभा विघटन भएको दुई दिनपछि राष्ट्रपति यादवले संविधानविद् र राजनीतिक दलका नेतासँग परामर्शपछि अन्तरिम संविधानअनुसार कामचलाउ सरकार भएको विज्ञप्तिमार्फत स्पष्ट पारेका हुन् ।
भट्टराईले जेठ १४ मा संविधानसभा विघटनपछि मंसिर ७ गतेका लागि निर्वाचन मिति तय गरी राष्ट्रपतिलाई सिफारिस गरेका थिए । कांग्रेस र एमालेसहित १६ दलले प्रधानमन्त्री भट्टराई पदमा रहने आधार नभएको भन्दै राष्ट्रिय सरकार गठनका लागि मंगलबारै राष्ट्रपतिलाई लिखित आग्रह गरेका छन् ।
राष्ट्रपति यादवले अब सहमतिको सरकार गठनका लागि दलहरूसँग आह्वान गर्ने स्रोतले जनाएको छ । आह्वान गर्नुअघि उनले भट्टराई सरकार कामचलाउ भएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा ‘संविधानसभाको कार्यकाल नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम २०६९ जेठ १४ गते राति १२ बजेदेखि स्वतः समाप्त भएको र संविधानसभाले धारा ८३ बमोजिम व्यवस्थापिका–संसद्को हैसियतमा काम गर्नसक्ने अवस्थासमेत स्वतः नरहेको’ उल्लेख छ । प्रधानमन्त्री व्यवस्थापिका संसद्को सदस्य नरहेको कारण देखाउ“दै भट्टराईको कार्यकाल पनि संविधानसभासँगै स्वतः समाप्त भएको विज्ञप्तिमा भनिएको छ ।
धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने विभिन्न चार अवस्था उल्लेख छन् । सो उपधाराको खण्ड (ख) मा ‘व्यवस्थापिका–संसदको सदस्य नरहेमा ?’ भन्ने वाक्यांश रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “माथिको व्यहोराबाट संविधानसभा र व्यवस्थापिका–संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका–संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उम्मेदवार बनी निर्वाचित हुनुभएका तत्कालीन संविधानसभाका सदस्य डा. बाबुराम भट्टराईको सदस्यतासमेत संविधानसभाको समाप्ति स“गस“गै स्वतः समाप्त हुन गएको छ ।”
प्रधानमन्त्री पदमुक्त भए पनि अर्को मन्त्रिपरिषद गठन नभएसम्म यही मन्त्रिपरिषदले दैनिक कार्यसञ्चालन गर्ने भएको छ । विज्ञप्तिमा राष्ट्रपतिले धारा ३८ को उपधारा (९) मा ‘प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिÈद् गठन नभएसम्म सोही मन्त्रिपरिÈद्ले कार्य सञ्चालन गरिरहनेछ’ उल्लेख भएकाले दैनिक कार्य सञ्चालनमात्र गर्न स्मरण गराएका छन् ।
राष्ट्रपतिको यो कदमलाई कांग्रेस, एमालेसहितका दलहरूले स्वागत गरेका छन् भने माओवादीले विरोध । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सर्वदलीय र सर्वपक्षीय सहमतिबाट निकास निकाल्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै भट्टराईनेतृत्वको सरकार बाधक भएको दाबी गरे ।
“राष्ट्रपतिको वक्तव्यपछि प्रधानमन्त्री एक तह तल झर्नुभएको छ,” उनले भने, “प्रधानमन्त्री अब कामचलाउमात्र हुनुहुन्छ ।”
कामचलाउ मात्रै हो भन्ने राष्ट्रपतिको हैसियतलाई प्रधानमन्त्रीले स्वीकार गर्नुपर्ने पौडेलको भनाइ थियो । “यु आर नो मोर भन्दाखेरि उहाँले छाड्नुपर्छ,” उनले भने ।
पौडेलले राष्ट्रपतिको यो कदममा कुनै विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताए । “राष्ट्रपतिले संविधानको संरक्षकका हैसियतले यो काम गर्नुभएको छ,” उनले भने, “संविधानको संरक्षण गर्नुप¥यो भने फेरि राष्ट्रपतिले अर्को कदम पनि चाल्नुपर्ने हुन्छ ।”
तर, भट्टराई नेतृत्वको सरकारमा रहेका माओवादी सचिव पोष्टबहादुर बोगटीले भने राष्ट्रपतिले अनावश्यक रूपमा राजनीतिमा हात हालेको बताए । “राष्ट्रपति जुन दिशामा हुनुहुन्छ, त्यो बेठीक छ,” उनले भने, “उहाँहरूले अरु नै विषयमा प्रश्न उठाएर जाने हो भने राष्ट्रपति नै कामचलाउ भइसक्नुभएको छ, त्यसैले उहाँले यो कुरा गर्न मिल्दैन ।”
बोगटीले राष्ट्रपतिलाई अनावश्यक रूपमा नबोल्नसमेत सुझाव दिए । “राष्ट्रपति अनावश्यक रूपमा नबोलेको भए उहाँकै लागि राम्रो हुन्थ्यो,” उनले भने, “राष्ट्रपति भएर राजनीतिक नेताको जस्तो अभिव्यक्ति दिएर आफैं विवादमा तानिनुभएको छ ।” उनले पार्टीमा छलफल गरेर आधिकारिक धारणा तय गर्नेसमेत बताए । यसअघि मंगलबार बिहान प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिसँग भेट गरेका थिए ।



