मध्यतराईमा अक्सिजन अभाव
जनकपुरधाम, ९ जेठ- बृहत् मधेसी मोर्चा र आदिवासी जनजातिले संयुक्त रूपमा आह्वान गरेको बन्दका कारण धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत मध्यतराईका जिल्लाहरूमा अक्सिजनको अभाव भएको छ ।
बन्दकर्ताहरूले स्वास्थ्य संस्था तथा अस्पताल खोल्न रोक नलगाए पनि सार्वजनिक यातायातमा रोक लगाएकाले अक्सिजन आपूर्ति हुने नसकेको हो । मध्यतराईको महोत्तरी, सिरहा, सर्लाही र धनुषाको जनकपुरमा जनकपुरस्थित भाजुरत्न इन्जिनियरिङ एन्ड वर्कसपले अक्सिजन आपूर्ति गर्दै आएको छ । वर्कसपका अनुसार एक सातायता ग्यास आपूर्ति हुन सकेको छैन । वर्कसप सञ्चालक रामबल्लभ ठाकुरले वीरगन्जबाट धनुषासहित चार जिल्लामा अक्सिजन आपूर्ति गर्दै आएको बताए । “अस्पताल तथा निजी नर्सिङ होमहरूले अक्सिजन माग गरे पनि आपूर्ति गर्न सकिएको छैन,” उनले भने ।
अक्सिजन अभावमा बिरामी अन्यत्र रेफर गर्नुपरेको जनकपुरका अस्पताल तथा निजी नर्सिङ होमले बताएका छन् । केयर मेडिकल सेन्टरका मुख्य व्यवस्थापक राहुल सिंघानियाले जोखिम लिएर बिरामी राख्नुभन्दा रेफर गर्नु नै उपयुक्त हुने बताए ।
जनकपुर अञ्चल अस्पतालमा मात्रै सातामा पाँचवटा साना सिलिन्डर र तीनवटा ठूला सिलिन्डर खपत हुँदै आएको अस्पतालले जनाएको छ ।



