माग १ करोड लिटर, आपूर्ति ४० लाख

वर्ग: विकास
मिति: Wednesday,30th May 2012 23:37 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

सुर्खेतमा पिउने पानी अभाव

सुर्खेत, १७ जेठ- सुर्खेत उपत्यकामा दिनदिनै पानीको अभाव चर्कदै गएको छ । प्रतिदिन १ करोड लिटर पानीको माग भए पनि उपत्यकामा ४० लाख लिटर मात्र उपलब्ध हुँदै आएको छ । पानी आपूर्ति गर्ने मुख्य स्रोत नै सुक्दै जान थालेपछि पानीको अभाव थप बढ्दै जाने देखिएको छ ।
उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार खानेपानी आपूर्ति हुने तीनवटै मुख्य स्रोतमा पानीको मात्रा घटेको छ । संस्थाका अनुसार गत वर्ष झुप्रा खोलामा यही समयमा ४७ लिटर प्रतिसेकेण्ड पानी थियो भने यो वर्ष ४० लिटर प्रतिसेकेन्डमा झरेको छ । यस्तै इत्राम खोलामा गतवर्ष छ लिटर प्रतिसेकेण्ड पानी थियो भने यो वर्ष पाँच लिटर छ र खोर्के खोलामा गत वर्ष दुई लिटर प्रतिसेकेन्ड पानी थियो भने यो वर्ष डेढ लिटर मात्रै पानी छ ।
“पानीको स्रोत सुक्दै जानु र माग बढ्दै जानुले उपत्यकामा खानेपानीको हाहाकार बढ्दै गएको छ,” झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, “अब ३६ घण्टामा लगाइएको पालो प्रणाली पनि बढाउने तयारीमा छौं ।” संस्थाले उपभोक्तालाई विभिन्न समूहमा विभाजन गरी पालैपालो पानी आपूर्ति गर्दै आएको छ ।
“खडेरीले पानीका स्रोत सुक्दै गएकाले गर्मीको समयमा पानीको आपूर्ति समय अझै घटाउनुपर्ने भएको छ,” अध्यक्ष देवकोटाले भने, “यसले उपभोक्तालाई थप समस्यामा पार्नेछ ।”
संस्थाले उपत्यकामा १२ हजार धारा वितरण गरेको छ । यीमध्ये ३ सय ७७ धारामा डेढ महिनादेखि पानी नै आएको छैन । पुरानो संरचनाका कारण भएको पानीको पनि सहज आपूर्ति गर्न नसकेको संस्थाले  जनाएकोे छ । “अहिले पनि ३५ प्रतिशत पानी चुहावट भइरहेको छ,” अध्यक्ष देवकोटाले भने, “यसको रोकथाम गर्न नसक्नु हाम्रो कमजोरी हो ।” उनले २०३१ सालमा जडान गरिएका पाइपका कारण पानीको चुहावट भइरहेको बताए ।
 
संस्थाको आँखा बुलबुलेमा
उपत्यकामा खानेपानीको सहज आपूर्तिका लागि संस्थाले बुलबुलेको पानी संकलन गर्ने योजना अघि ल्याएको छ । यसका लागि संस्थाले वृस्तृत कार्ययोजना बनाइरहेको अध्यक्ष देवकोटाले जानकारी दिए । “बुलबुलेको स्वरूपमा कुनै पनि असर नपारेर रातिको समयमा मात्रै बग्ने पानीलाई संकलन गरेमा उपत्यकाको खानेपानी समस्या केही हदसम्म समाधान हुन्छ,” अध्यक्ष देवकोटाले भने, “राजनीतिक दल र नगर विकास समितिले यसलाई सकारात्मक रूपमा लिएमा अर्को वर्षसम्ममा त्यहाँको पानी उपयोग गर्न सकिन्छ । बुलबुलेको पानी प्रवाह १८ लिटर प्रतिसेकेन्ड छ । उनले बुलबुलेमा सहयोग गर्न एसियाली विकास बैङ्क सकारात्मक रहेको जानकारी पनि दिए ।
 

  • सम्बन्धित समाचार
Comments