लोडसेडिङ घटयो, दैनिक ८ घण्टा
काठमाडौं, ११ जेठ - विद्युत् प्राधिकरणले शुक्रबारदेखि लोडसेडिङ एक घण्टा घटाएको छ । नदीमा जलप्रवाह बढेर विद्युत् उत्पादनमा सुधार आएको भन्दै प्राधिकरणले लोडसेडिङ दैनिक ८ घण्टामा सीमित गर्न लागेको हो ।
अब सातामा ५६ घण्टा लोडसेडिङ हुनेछ । बिहीबारसम्म प्राधिकरणले दैनिक ९ घण्टा लोडसेडिङ गर्दै आएको छ । अझै ३५ लाख युनिट बिजुली आपूर्ति कम भएकाले दैनिक ८ घण्टा लोडसेडिङ कायम रहने प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले बताए । उनका अनुसार विद्युत्को माग दैनिक १ करोड ५२ लाख युनिट छ ।
उनका अनुसार औद्योगिक क्षेत्रमा पनि दैनिक १ घण्टा घटाएर ११ घण्टा बनाइएको छ । ७० प्रतिशत चुहावट हुने क्षेत्रमा थप ५ घण्टा लोडसेडिङ हुनेछ । प्रसारण प्रणालीबाट २७ प्रतिशत चुहावट हुने गरेको छ ।
हाल कालीगण्डकी ‘ए’ बाट १ सय, मध्यमस्र्याङ्दीबाट ६०, मस्र्याङ्दीबाट ६५ र खिम्ती आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन भइरहेको क्षेत्रीले जानकारी दिए । क्षमताका आधारमा हाल विद्युत्को माग दैनिक ९ सय ५५ मेगावाट छ । प्राधिकरणले भारतबाट समेत गरी ४ सय ९२ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । उसले ४ सय ६३ मेगावाट बराबर लोडसेडिङ गरेको छ ।



