लोप हुन थाले टुकी र दियालो

वर्ग: विकास
मिति: Thursday,10th May 2012 23:22 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameग्रामीण क्षेत्रका नागरिक सोलार प्यानलतर्फ आकर्षित भएपछि उज्यालोका लागि वर्षांैदेखि प्रयोगमा आएका टुकी र दियालो लोप हुन थालेका छन् । लामो समयसम्म पनि राष्ट्रिय प्रसारण–लाइन पुग्न नसकेका ग्रामीण क्षेत्रका जनताले सोलारको प्रयोग बढाएपछि टुकी र दियालोको प्रयोग घट्दै गएको हो ।
एकपटकमात्र खर्च गरे पुग्ने, चाहिएको समयमा तत्काल बाल्न सकिने र धेरै समयसम्म टिकाउ हुने भएकाले सोलार प्यानल उनीहरूको आकर्षणमा परेको हो । पुस्तौंदेखि टुकी र दियालो बालेर गुजारा गर्दै आए पनि सरकारले विद्युत् विस्तारमा ध्यान नदिएपछि विशेषगरी छोराछोरीको पठनपाठनकै लागि भए पनि सोलार प्यानल जडान गर्नुपरेको उनीहरू बताउँछन् ।
“दैनिक १२ घण्टा लोडसेडिङ भोग्नुपर्ने सहरियाको जिन्दगीभन्दा हाम्रै जिन्दगी राम्रो छ,” मैनामैनीका दिलमानव राईले भने, “सोलारका कारण दिनभर खेतबारीमा काम गर्ने हाम्रा छोराछोरीले राति नै भए पनि पढ्न पाएका छन् ।”
जिल्लाका पञ्चावती, भलायडाँडा, मैनामैनी, पोखरी, लाफागाउँ, रामपुर, चिलाउने, हर्देनी, सिरिसेलगायतका करिब दुई दर्जन गाविसवासीले सोलार जडान गरेका छन् । ८ हजारदेखि १८ हजारसम्म पर्ने विभिन्न क्षमताका सोलार प्यानल राखेर उनीहरूले ३ देखि १० वटासम्म बत्ती बल्ने गरेका छन् । “रेडियो र टेलिभिजन हेर्न पनि पुग्छ,” भलायडाँडाकी आशा मगरले भनिन्, “आफ्नोमा सोलार नहुँदा मोबाइल चार्ज गर्न छिमेकीकहाँ जानुपथ्र्यो ।” बिजुली बत्ती नभएको भलायडाँडाका अधिकांशले सोलार जडान गरेका छन् ।
गाउँलेहरू वैैकल्पिक ऊर्जातर्फ आकर्षित भएपछि जिल्लाका कतिपय सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको निश्चित प्रतिशत रकम उपभोक्ताको घरमा सोलार जडान गर्नका लागि खर्च गर्ने गरेका छन् । आफूले २ हजार बुझाएपछि बाँकी सम्पूर्ण रकम तिरेर वन समूहले दुई वर्षअघि सोलार प्यानल जडान गरिदिएको पञ्चावती–९ की कान्छीमाया मगर बताउँछिन् । “न लाइन जाला भन्ने डर न त पैसा बुझाउन जानुपर्ने समस्या नै,” उनले भनिन्, “एकपटक किनेपछि सधैंलाइ ढुक्क ।”
दशकांैदेखि विद्युत् विस्तार हुन नसक्नु र भएका स्थानमा पनि दैनिक १४ घन्टासम्म लोडसेडिङ हुनुले सोलार प्यानलतर्फ उपभोक्ताको आकर्षण बढेको गाईघाटका उद्धव काफ्लेले बताए । “टुकी र दियालोमा बस्न बाध्य गाउँलेमात्र होइन, बजारवासीले समेत सोलार जडान गर्नुपर्ने अवस्था छ,” उनले भने ।
उदयपुरलाई मुख्य विद्युत् प्रसारण लाइनले छोएको भए पनि सरकारले आवश्यक बजेट विनियोजन नगर्दा दुई दर्जन बढी गाविसवासीले अझै पनि सरकारी बिजुली देख्न पाएका छैनन् । भनेको समयमा मटितेलसम्म खरिद गर्न नपाउने उनीहरूले बाख्रा र कुखुरा बेचेरै भए पनि उज्यालोमा बस्ने रहर पूरा गर्न सोलार खरिद गर्ने गरेका छन् । लाफागाउँका अमृत हमाल भन्छन्, “दशकांैदेखि टुकी र दियालोमा बस्न बाध्य ग्रामीण बासिन्दालाई सोलार प्यानलले धेरै राहत दिएको छ ।” त्रियुगा नगरपालिकाकै कतिपय स्थानमा १४ वर्षसम्म पनि विद्युत् विस्तार नभएपछि अधिकांशले सोलार प्यानल जडान गरेका छन् ।
जिल्लाका ४४ गाविसमध्ये बेलटार, कटारी, त्रिवेणी, चिलाउने, खाँवु, सुन्दरपुर, तपेश्वरी, बसाहा, जोगीदह र हडियाका केही भागमा मात्र विद्युत् सेवा पुगेको विद्युत् प्राधिकरणको गाईघाट शाखाले जनाएको छ । विद्युतीय सुविधाबाट वञ्चित नागरिकलार्ई सेवा दिने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहको निर्णय र मागअनुसार सोलार खरिदका लागि अनुमति दिइने गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
 

  • सम्बन्धित समाचार
Comments