विद्यालयलाई ५ लाखको भवन
झापा, २८ वैशाख- झापाको तोपगाछी–७ का एक व्यक्तिले स्थानीय एक विद्यालयलाई ५ लाख रुपैयाँको भवन निर्माण गरिदिएका छन् । स्थानीय हर्कवीर मेन्याङ्वोले सोही ठाउँको कञ्चनजंघा निमाविलाई ५ लाख रुपैयाँको एक कोठे भवन निर्माण गरिदिएका हुन् । भवन अभावमा विद्यार्थीलाई पठनपाठनमा समस्या भइरहेका बेला मेन्याङ्वोले गरेको सहयोगबाट राहत मिलेको प्रधानाध्यापक मातृका नेपालले बताए । सोही विद्यालयमा यस वर्ष भर्ना हुने २५ जना विद्यार्थीलाई विद्यालय व्यवस्थान समितिका अध्यक्ष धनबहादुर लिम्बूले निजी खर्चमा जनही ५० रुपैयाँ र शैक्षिक सामग्री प्रदान गरेका छन् । विद्यालयका पूर्वविद्यार्थी दिवंगत छोरा कञ्चन लिम्बूको स्मृतिमा उनले नयाँ भर्ना हुने विद्यार्थीलाई प्रोत्साहनस्वरुप नगद तथा कापीकलम वितरण गरेका हुन् ।



