विन्दास !
बुढापाका भन्छन्– सबै काम उमेर छँदै गर्नुपर्छ । केटौले उमेर जोस, जाँगर र बलले भरिएको हुन्छ । वैंश आउँछ, उन्माद चढ्छ र जोस्याउँछ पनि ।
गालामा मुजा परिसकेको त्यो पुस्ता बुझ्छ– युवापुस्ता उमेरले मात्र होइन, जीवनशैली र प्रविधिले पनि अनुवाद भइरहेको छ । चाहे बी–बोइङ होस या आइप्याड पुस्ता– लङ ड्राइभमा निस्केर प्रकृति चुम्नेदेखि एकान्तमा ग्याजेट चलाएर भर्चुअल सान्निध्य जोड्नेहरू भन्छन्– लाइफ विन्दास छ ।
दिनहुँ हजारौं युवा नेपाल छाड्छन् । अध्ययन र रोजगारीका लागि देश छाड्नेको आफ्नै बाध्यता छ । कुलतमा परेर जीवन खण्डहर बनाउनेको फरक कथा पनि छ । सडकमा उर्लिरहेका युवा पनि छन् । विकृत राजनीतिले थलिएको समाज देखेर चुक्चुकाउनेको लर्को पनि उस्तै छ । तर, आफ्नो जीवन आफ्नै गोरेटोमा डो¥याउन अग्रसर यो पुस्ताले जीवनलाई रंगीन कोलाज बनाइरहेको पनि छ ।
सहरमा संविधानको बहस उम्लिएको छ तर एपेक्स कलेजमा अध्ययनरत विष्णु ढुंगाना आफ्नो आगामी होलिडे कहाँ मनाउने योजना बुन्दैछन् । ग्याजेट र ट्राभलमा रुचि राख्ने यी तन्नेरी आफूलाई ‘टेकस्याबी’ भन्न रुचाउँछन् । “जीवन रमाइलोसँग जिउनुपर्छ,” एप्पलको म्याक–प्रो र आइफोन चलाउने २७ वर्षे तन्नेरी गुगलमा ग्याजेटकै विषयमा बढी समय खर्चिन्छन् ।
युवालक्षित प्रविधिको द्रुत्ततर विकास, नयाँ गन्तव्यप्रतिको उत्कट चाहनाकै कारण हो– विष्णु पुस्ता ग्याजेट र घुमघामलाई जीवनको अभिन्न अंग ठान्छ । राजधानी र बाहिर खुलेका सपिङ मल, मल्टिप्लेक्स, रेस्टुराँ, रिसोर्ट पनि करिब–करिब यही पुस्ताले धानेको छ । अध्ययनशील र कामकाजी युवामा परिवर्तनप्रतिको ‘चेत’ले जीवनशैली फेरिएको मात्रै छैन, व्यावसायिक ग्राफ पनि बढाएको छ ।
सेफर्ड कलेजमा मिडिया टेक्नोलोजीमा ‘मास्टर्स’ गर्दै गरेका अञ्जन शर्मा पनि प्रविधिका सौखिन हुन् । हरेक क्षण घाँटीमा डीएसएलआर क्यामरा झुन्ड्याउने अञ्जनको प्राथमिक सोख फोटोग्राफी हो । त्यसैले एक साताअघि मात्रै उनले क्याननको ७ डी क्यामरा किने । “अब ट्राभलसँगै फोटोग्राफी लाइफ,” मंगलबारको चर्को घाममा पोज दिँदै गफिए, “मस्त छ, कति दुनियाँभरको टेन्सन लि’राख्नु !”
शंकरदेवकी दीपा बरुवाललाई लाग्छ– उनीभन्दा ‘विन्दास’ शायद उनीवरपर कोही छैन । हरेक ‘विकेन्ड’मा मल्टिप्लेक्स धाउन र ल्यापटपमा ‘वल्र्ड टुर’ गर्न पाउँदा उनी आफूलाई पूर्ण ठान्छिन् । “अहिलेको मेरो साथी भनेको ल्यापटप र स्कुटर,” भन्दै थिइन्, “यी दुइटा चिज भए अरु के चाहियो ?” यसबाहेक उनीसँग स्कुटी पनि छ, जसले उनलाई उनकै चाहनाअनुसार सहर डुलाउँछ ।
बिहीबारको बन्द हल्लापछि शनिबार सपिङ गर्ने योजना बनाउँदै गर्दा उनलाई अहिलेको राजनीतिले ‘इरिटेट’ पारेको भान हुन्थ्यो । “अब त बन्द नहुने दिन भनेर सेड्युल निकाल्दे नि हुने नि, टन्टै साफ ।”
एक महिनाअघि गरिएको एक सर्र्वेक्षणले नेपाली युवायुवतीले आधुनिक समाजलाई आत्मसात गरेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक गरेको यो सर्वेक्षणले युवायुवतीको साक्षरता दर पनि उच्च देखाएको छ ।
सर्वेक्षणले नेपालको कुल जनसंख्याको एकतिहाइ हिस्सा युवायुवती रहेको देखाएको छ । पाँचै विकास क्षेत्रको प्रतिनिधित्व रहनेगरी गरिएको सर्वेक्षणमा ८ हजार ९ सय ७४ घरधुरीबाट १० देखि २४ वर्ष उमेर समूहका १४ हजार ७ सय ५४ जनालाई समावेश गरिएको थियो । नतिजाअनुसार ९५ प्रतिशत युवा र ८८ प्रतिशत युवती साक्षर छन् । सर्वेक्षणले ८० प्रतिशत युवा गाउँमा र २० प्रतिशत सहरमा बसोबास गर्ने देखाएको छ । त्यस्तै, ९२ प्रतिशत युवा र ७७ प्रतिशत युवती अविवाहित छन् । सर्वेक्षणले ७२ प्रतिशत युवक र ६२ प्रतिशत युवतीले प्रेमविवाहलाई उपयुक्त ठानेको देखाएको छ । यति नै प्रतिशत युवायुवती आफ्नो जीवनलाई आधुनिकतातर्फ मोडिरहेका छन् । नेपालमा युवाहरूको जनसंख्या ८८ लाख छ, जसमा १९ वर्ष पार नगर्ने मात्र ६३ लाख छन् ।
मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले राष्ट्रिय प्रतिनिधित्व हुने गरी गरिएको सर्वेक्षणले युवाहरूमा आधुनिक सोच पलाउँदै गएको देखाएको बताए । “युवाहरू आफ्ना इच्छा र आकांक्षामा अडिग रहेको पनि पाइयो,” उनले भने ।
एक साता अघिमात्र मलेसिया, सिंगापुर र थाइल्यान्ड घुमेर फिरेपछि बागलुङका दीपक राजभण्डारीको मनमा अनौठो काउकुती लागेको छ । आफ्नो समाजभन्दा बिल्कुल फरक धर्तीमा घुम्दा उनले जीवनका धेरै ‘सुख’ पाए । “रमाइलो गर्ने तरिका धेरै हुन्छन्,” फेसबुकमा मोटरबोटिङ गरिरहेको तस्बिर देखाउँदै उनले भने, “म घुम्न मन पराउँछु, पोहोर अन्नपूर्ण संरक्षण क्षेत्रको घोरेपानीमा ट्रेकिङ गएँ, अहिले विदेश पुगें ।”
रमाइलो गर्न खप्पिस सिफलका सविन तण्डुकार बी–बोइङ डान्सर हुन् । उनले गएको महिना प्याराग्लाइडिङ र बन्जीजम्प गरे । खुट्टाको पिडौलामा ड्रागनको ट्याटु बनाएका उनी हेबी मेटल संगीत मन पराउँछन् । भन्छन्, “मलाई यसमै आनन्द छ ।”
सूचना–प्रविधिले घेरिएको यो पुस्ता आफ्नो ‘ग्याजेट’लाई भरपुर उपयोग गर्दै व्यस्ततामा पनि काम फत्ते गर्छ । यस्तैमध्येका हुन्– कोटेश्वरका बिमल न्यौपाने । आफूलाई व्यवसायमा अब्बल बनाउन रातोदिन पसिना चुहाउने उनी एन्ड्रोइड एप्स चलाउनुमा आनन्द मान्छन् । घुमघाममा पनि उस्तै सौखिन बिमल एक महिनाभित्र झापा, पोखरा र बागलुङ घुमिसके । भन्छन्, “हाइकिङ गर्दै काठमाडौं आसपास पनि पुगेकै हुन्छु, मोटरसाइकलको रफ्तारमा घुम्ने शैली पनि मन पर्छ ।”
दीपा, अञ्जन, विष्णु र सविनले प्रतिनिधित्व गर्ने पुस्ता मोनोलगमात्र गर्दैन, डाइलग गर्दै जीवन सहज पनि बनाउँछ । एमेच्योर हुँदै आफ्नो आवश्यकता पूरा गर्ने पकेटमनीलाई फजुलमा खर्च पनि गर्दैन । ‘क्रियटिभ’ र ‘एड्भेन्चरस’ काममा पनि अभ्यस्त यो पुस्ता नयाँ ज्ञान, अनुभव लिन उद्दत छ । राजनीतिक अस्थितरताले वितृष्णा जागे पनि जीवनलाई रमाइलोसँग जिउन सूत्र खोज्ने तन्नेरीहरू आफ्नो फेरिँदो जीवनशैलीको स्वाद लिइरहेका छन् ।



