१० महिनामा १० अर्ब संकलन
भैरहवा भन्सारको राजस्व
भैरहवा, २ जेठ
भैरहवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा १० अर्ब ३८ करोड राजस्व संकलन गरेको छ । संकलित राजस्व लक्षितभन्दा १४ करोडले बढी हो ।
साउनदेखि वैशाखसम्म रुपन्देहीमा विभिन्न कारणले भएका १८ दिनभन्दा बढीको बन्दका बाबजुद कार्यालय तोकेको भन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रमुख भन्सार अधिकृत डिकरदेव भट्टले बताए । यो अवधिमा कात्तिक, माघ र फागुनमा लक्ष्यबमोजिम संकलन नभए पनि बाँकी सात महिना लक्ष्यभन्दा बढी राजस्व संकलन भएको उनले जानकारी दिए ।
तीन महिनामा पनि भारतमा विधानसभाको निर्वाचन, नेपालमा विभिन्न कारणले भएका बन्द र उच्च ऊर्जा संकटका कारण उद्योगहरूले उत्पादन घटाउँदा औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थमा कम आयात जस्ता कारणले लक्ष्य घटेको भट्टले जनाए ।
कार्यालयले कात्तिकमा लक्ष्यको ९३, माघमा ९२ र फागुनमा ८९ प्रतिशत राजस्व संकलन गरेको थियो । कार्यालयले वैशाखसम्म भन्सार महसुलबापत ४ अर्ब २९ करोड ३१ लाख १२ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बापत ५ अर्ब २४ करोड १२ लाख १० हजार, अन्तःशुल्कबापत ६५ करोड ६३ लाख ५१ हजार, कृषि सेवा शुल्कबापात १९ करोड ५९ लाख ६२ हजार, सडक सुधार शुल्कबापत १९ करोड ४५ लाख २१ हजार संकलन गरेको भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले बताए ।
भन्सार विभागले कार्यालयलाई आव ०६८÷६९ का लागि १२ अर्ब ६४ करोड ५६ लाख १ हजार लक्ष्य तोकेको छ । भैरहवा नाका हुँदै आयात हुने औद्योगिक कच्चापदार्थ, क्लिंकर, आइरन, पेट्रोलियम पदार्थ, मार्बल टायल र तयारी सिमेन्ट तथा सवारी साधनबाट बढी राजस्व प्राप्त हुन्छ ।
कार्यालयले बाँकी दुई महिनामा पनि लक्ष्यअनुरुप नै राजस्व संकलन गर्ने जनाएको छ ।



