आफ्नो गाउँ आफैं बनाउँदै ‘लाहुरे’
म्याग्दी, ३० जेठ- जीवनको आधा उमेर विदेशी भूमिमा बिताएका पूर्व ‘लाहुरे’हरू अहिले आफ्नै गाउँ विकासमा लागेका छन् । बेलायत, बेल्जियम, बहराइन, कुवेत, कोरिया, अमेरिकालगायत मुलुक पुगेर फर्किएका प्रायः म्याग्देली कुनै न कुनै सामाजिक काममा सक्रिय छन् ।
कसैले विदेशमै विभिन्न संघसंस्था खोलेर जिल्लाका लागि काम गरेका छन् भने कसैले आफैं व्यक्तिगत लगानी गरेर विकासका पूर्वाधार बनाउँदै छन् । संस्थागत रूपमा आप्रवासी संघसंगठनले पनि सामाजिक काममा उत्तिकै सघाएका छन् ।
“जीवनको ऊर्जाशील समय विदेशमै बिताइयो,” अर्मन घर भई हाल यूके बस्दै आएका योगेन्द्र क्षेत्री भन्छन्, “युवा हुँदा गाउँ बस्न नपाए पनि अहिले विदेशमा बसेर गाउँका लागि के गर्न सकिन्छ भनेर सोचिरहेका छौं ।” उनले पर्यटकीय क्षेत्र घोडेपानी, विद्यालय, स्वास्थ्यलगायतका क्षेत्रमा करिब ४० लाखभन्दा बढी सहयोग गरिसकेका छन् ।
यूकेमात्र नभएर दक्षिण कोरिया पुगेका म्याग्देली पनि जिल्लाको विकासमा सहयोग भिœयाउन क्रियाशील छन् । कोरियामा गठित म्याग्दी समाज समितिले जिल्ला अस्पताल बेनीका लागि भवन बनाउन थालेको छ । चारकोठे आकस्मिक कक्षको भवन बनाउन १४ लाख रुपैयाँ लगानी हुने समितिका सदस्य मोहन बरुवालले बताए । “नेपाली कलाकारलाई बोलाएर कार्यक्रम आयोजना गरी सहयोग जुटाइएको हो,” उनले भने । १५ शय्या क्षमतायुक्त अस्पतालको पुरानो भवनमा बिरामीको चाप बढ्दा उपचारमा समस्या हुने गरेको छ । कोरियामा खेलकुद कार्यक्रम गरेर पनि आर्थिक संकलन गरिएको उनले बताए ।
विकास नेपाल बेल्जियम, मोनालगायतका संस्थाहरूले पनि जिल्लाको शैक्षिक, स्वास्थ्य र विकास निर्माणक्षेत्रमा लाखौं लगानी गरेका छन् । विकास नेपालको सहयोगमा ताकम माविको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । भवन निर्माणका लागि संस्थाले ९५ लाख रुपैयाँ सहयोग गरेको छ ।
यसअघि संस्थाले जिल्ला अस्पताल परिसरमा रक्तकेन्द्रको भवन निर्माण गर्न पनि सहयोग गरेको थियो । भवन बनेपछि अहिले आँखा उपचारकेन्द्र र रक्तसञ्चारगृह स्थापना गरिएको छ । बहराइनमा काम गर्ने म्याग्देलीहरूले ६ लाख ४६ हजार चन्दा संकलन गरेर केही वर्षअघि अस्पताल परिसरमै तीन कोठे भान्साकोठा निर्माण गरेका थिए ।
“विदेशमा रहेका म्याग्देलीले गरेको सहयोग प्रभावकारी भइरहेको छ,” उद्योग वाणिज्य संघका महासचिव बेलबहादुर कटुवालले भने, “सहयोगको सदुपयोग गर्न आवश्यक अनुगमनलाई समेत जोड दिनुपर्ने देखिएको छ ।”
पूर्वाधार अभाव भएकाले भान्साकोठामा आपतकालीन कक्ष स्थापना गरेर सेवा दिइरहेका जिल्ला स्वास्थ्य प्रमुख डा. झलक शर्माले बताए । कोरियामा रहेका म्याग्देलीले नयाँ भवन बनाइदिएपछि केही सुविधा हुने उनको अपेक्षा छ ।
हालैमात्र बेगको तिप्ल्याङमा भीसी तुलबहादुर पुनको स्मृतिमा गोर्खा वेलफेयरले ४६ लाख खर्च गरेर कालिका निमाविका लागि १० कोठे भवन निर्माण गरेको छ । पुनका छोरा अर्जुनले गाउँमा भीसी मार्ग बनाउन पहल भइरहेको बताए । काम गर्न सके पूर्वगोर्खाहरूको योगदानले जिल्लामा धेरै वैदेशिक सहयोग भिœयाउन सकिने उनको भनाइ छ ।



