गावैं रित्याएर यार्चा टिप्न
दोलखा, ३० जेठ - नेपालको पश्चिमी भेगमा यार्चा टिप्न जाँदा गाउँ नै खाली भएको सुन्न पाइन्थ्यो तर यसपालि दोलखाको उत्तरी गाउँमा पनि यस्तै अवस्था आएको छ । जिल्लाका उत्तरी गाउँका यार्चा टिप्न गएकाले कतिपय गाउँका घर खाली भएका छन् भन् विद्यालयहरू बन्द हुन पुगेका छन् ।
शिक्षक र विद्यार्थी पनि यार्चागुम्बा तिप्न लेकतिर लागेपछि दुई सातादेखि विद्यालय नै बन्द भएका छन् । घरको एकजना यार्चा टिप्नका लागि एक साताका लागि पुग्ने सामाललगायतका बन्दोबस्ती मिलाएर लेकतिर लागेका हुन् । लेकमा पुगेर एक सातामा एकजनाले कम्तीमा एक किलोसम्म ल्याउने गरेको लामाबगरका पेमानुर्बु शेर्पाले बताए । यार्चा टिप्न सिन्धुपाल्चोकबाट दैनिक बस र साना गाडी नै लिएर आउने गरेका छन् ।
दोलखाका लामाबगर, ओराङ, बुलुङ, लादुक, चिलंखा, आलम्पू, विगूलगायतका गाविसका अधिकांश विद्यालय बन्द भएका छन् । त्यहाँका घर पनि खाली भएका छन् । घरकाहरू पालो गरेरसमेत जंगल जाने गरेका छन् । लामाबगरको सेतीदेवी वन क्षेत्रको किप्च्याङ, गाबुखोला, चोङनाङ, देब्लीगेश्वर वन क्षेत्रको थोपाडाँडा, मापार्दन, आलम्पू, विगू, चिलंखा, बुलुङ र ओराङको माथिल्लो क्षेत्रमा यार्चा पाइन्छ । “पहिला–पहिला हामीलाई थाहा हुँदैनथ्यो, फाट्टफुट्ट भेटिए पनि वास्ता हुँदैनथ्यो,” शेर्पाले भने “यसपाली धेरै पाइएको छ ।”
“छुट पुर्जीका लागि आउँने क्रम जारी छ,” गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति लामाबगरका सचिव यादव आचार्यले भने, “यार्चा टिप्न जंगलभरि मान्छे छन् ।” छुट पुर्जीबापत समितिले प्रतिकिलो १० हजार निर्धारण गरेको छ । तर, सामुदायिक वनसँग संकलन पुर्जी लिएर गएपछि वैधानिक रूपमा १२ किलोको मात्र छुट पुर्जीका लागि संरक्षण क्षेत्र कार्यालयमा आएका छन् । संकलन गरेको यार्चा किन्नका लागि व्यापारी जंगलमै पुगेका छन् । स्थानीयस्तरमै प्रतिकिलो ३ देखि ५ लाखसम्ममा व्यापारीहरूले खरिद गर्ने गरेका छन् ।
“धेरै विद्यालयबाट शिक्षक र विद्यार्थी नै लेकतिर लागेका छन्,” गौरीशंकर उच्च मावि लामाबगरका शिक्षक केपी भट्टराईले भने, “हाम्रो विद्यालय बन्द छैन तर पनि ३० जना जति हाम्रै विद्यार्थी पनि गएका छन् ।”
संकलन गर्ने ठाउँमा हतियारसहितका युवाले लुटपाटसमेत भएको छ । दुई समूहबीच झडप हुँदा ओराइका पाँच युवा तीन दिनपछि सम्पर्कमा आएको आफन्तले बताए । लामाबगरदेखि दोलखासम्मको सडक रातभर युवा व्यापारीलाई पैसा असुल्न बस्ने गरेको स्थानीय बताउँछन् ।
अत्यन्तै महँगो जडिबुटी यार्चा संकलनका लागि यहाँका सामुदायिक वन समूहले समेत दस्तुर तोकेका छन् । सामुदायिक वनका पदाधिकारीहरूले बाटामा बसेर टिकट काटेरमात्र यार्चा संकलनका लागि मान्छे जान दिने व्यवस्था गरेका छन् । सम्बन्धित सामुदायिक वनका उपभोक्तालाई १ हजार र उपभोक्ताभन्दा बाहिरकोलाई २ हजार ५ सय तोकेका छन् । यस क्षेत्रबाट यसपाली कम्तीमा ५ सय किलो यार्चा संकलन हुने स्थानीयको अनुमान छ ।
अवैधबाटोबाट यार्चा चीनतिर
दोलखाको माथिल्लो भेगमा संकलन भएको यार्चा अवैध बाटो हुँदै चीनको खासा जाने गरेको स्थानीयले बताएका छन् । विगूको ठिङसाङको बाटो हुँदै सिन्धुपाल्चोकको बाह्रबिसे र सोझै खासा पुग्ने गरेको छ । विगू गाविसको जीमी भञ्ज्याङ, कर्कलेखोला, सेम्बु, खड्कुले, धुपिडाँडा, मान्द्रे हुँदै खासासम्म हिडेर पुग्ने परम्परागत बाटो भएको स्थानीयको भनाइ छ । यो बाटोबाट एक दिनमा खासा पुग्न सकिन्छ ।
राज्यको कुनै पहुँच नपुग्ने यो बाटोबाट विगतमा समेत वन्यजन्तु, जडिबुटी र गाईगोरुसमेत तस्करी हुने गरेको उनीहरूको भनाइ छ । ठिङसाङ सिन्धुपाल्चोक र दोलखाको सिमाना हो । लामाबगरको माथिल्लो भेगबाट आलम्पू हुँदै विगूसम्म आउने परम्परागत बाटो छ ।
बाह्रबिसेबाट लैजादा प्रशासनको डर हुनाले बढी जसो माथिल्लो बाटोबाट हिँडेर नै जाने गरेको उनीहरू बताउँछन् । संरक्षण क्षेत्रका सचिव आचार्य वैधभन्दा पनि अवैध बाटो प्रयोग गर्नेको संख्या बढी भएको स्वीकार गर्छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी उमेशराज जोशीले यार्चागुन्बु तस्करीबारे कुनै जानकारी नआएको बताए ।



