ग्लोबल टु लोकल

वर्ग: अर्थरंग
मिति: Wednesday,20th June 2012 23:24 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

सहरमा झट्ट हेर्दा फेसनको फ्युजनले कन्फ्युजन हुने अवस्था छ, कारण– माथि दौरा र तल जिन्समा छाँटिएर हिँड्ने तन्नेरी बाक्लिँदै गएका छन् । इन्डोर ¥याम्पमा क्याटवाक गर्ने पुस्ता सडकमै यस्तो पहिरनमा ठाँटिन थालेपछि अहिले पहिरनको परिभाषा फेरिएको मात्र छैन, सडक रंगीन गुल्जार देखिन थालेको छ ।
युवकमात्र होइनन्, नेपाली फेब्रिकमा डिजाइन निकालेर स्लिभलेस र हाफपाइन्ट तथा स्कर्ट र कोटमा सजिने युवती पनि उस्तै ग्ल्यामरस देखिन्छन् । जस्तो मौसम, उस्तै फेसन ! अर्थात् मनसुन र गर्मीको फ्युजनले सिजनलाई रोमाञ्चित बनाइरहेका बेला यही छेको पार्दै युवापुस्ता आफूलाई ‘फेसन कन्सस’ बनाउँदै अघि बढेको छ ।
केही वर्षअघिसम्म विश्व फेसनको प्रभावमा रमाउने नेपाली युवापुस्ता अहिले नेपाली कपडामा इम्ब्रोइडरी गरेर लगाउन थालेको छ । लेडिज पाइन्ट, टिसर्ट, मिनीस्कर्ट, फ्रक, कुर्ता सलवार, वनपिस, आउटर टफसहित लेगिज लगाउने युवती विदेशी पहिरनलाई नेपाली उत्पादनमा फ्युजन गराउँदैछन् । फेसन विदेशी भए पनि नेपाली फेब्रिकमै सजिन थालेपछि स्थानीय उत्पादनले पनि राहत पाएका छन् । र, सँगै नेपाली डिजाइनर पनि नयाँ सोच र शैलीको डिजाइनमा तल्लीन हुन थालेका छन् । पहिरनका पारखी युवतीमात्र होइनन्, नेपाली रेशम, अल्लो, केराको कपडाबाट बनेका कोट, अस्कोट, सर्ट, हाफपाइन्ट, क्याजुअल क्यापमा आफूलाई अब्बल देखाउन पुरुषहरू पनि उस्तै लागिपरेका छन् ।
बुटिक गएर डिजाइनरसँग नयाँ–नयाँ डिजाइन निकाल्ने तन्नेरीहरू राजधानीका मुख्य–मुख्य मल पुगेर पनि उस्तै सपिङ गर्छन् । यो पुस्ता सोच्छ– नेपाली उत्पादनलाई पनि प्रोत्साहन गर्नुपर्छ । सपिङ मल गएर आफूलाई ‘क्लोथ कन्सस’ देखाउने उनीहरूका आँखा सकेसम्म पछिल्लो फेसन खोज्छन् । कारण हो– यो पुस्ता लोकलबाट ग्लोबलमा अनुवाद पनि हुन चाहन्छ । ग्लोबलमा लोकलको आफ्नै महत्व छ, उनीहरूका शब्दमा ।
फेसनमा आफूलाई बढी नै सचेत बनाउने मिस एयरहोस्टेस अनुशा भण्डारी भन्छिन्, “विदेशी पहिरनले विदेशी सोच बनाउँछ नै भन्ने होइन, पहिरनका धेरै परिभाषा छन्, हामीजस्तो पुस्ता लेटेस्ट फेसन गर्ने सोच राख्छ, त्यसैले रोजाइमा अनेकथरी लुगा पर्छन् ।”
अहिले नेपाली उत्पादनमा चलेको फेसनले पनि उनलाई आकर्षित गरेको छ । अग्नि एयरमा कार्यरत यी हवाई सुन्दरीले नेपाली डिजाइन र उत्पादन पनि ब्रान्डेड बन्दै गएकाले अहिले युवाहरू झनै आकर्षित भएको बताइन् ।
“पहिरनले सुन्दरतामात्र देखाउँदैन, प्रस्तुतिको भाषा पनि बोल्ने गर्छ,” वसन्तपुरको खुला प्यासेजमा गफिँदै उनले भनिन्, “ड्रेसकोडले अरुलाई प्रभाव र आकर्षण गर्ने हुँदा यसले ननभर्बल ल्यांग्वेज बोल्छ, जसको आफ्नै अर्थ र महत्व हुन्छ ।” त्यसैले हुनसक्छ– सहरी युवापुस्ता आफूलाई फेसनेबल देखाउन चलेको र चल्दै गरेको फेसनलाई आफ्नै ढाँचामा पनि बदल्छ भने धेरैले डिजाइनरकहाँ पुगेर आफ्नो इच्छा पूरा गर्छन् ।
नयाँ बानेश्वरस्थित रिब्लुम बुटिककी डिजाइनर लक्ष्मी गिरीको अनुभवमा अहिलेको पुस्ता फेसनप्रति निकै सचेत छ । “डिजाइनरको र आफ्नो डिजाइनलाई मिक्सअप गरेर अर्डर गर्ने चलन बढ्दो छ,” उनी भन्छिन्, “उनीहरू हरेक सिजनअनुसार आफूलाई पहिरनमा ढाल्छन् ।”
विशेषगरी नेपाली उत्पादनमा डिजाइन गर्ने गिरी भन्छिन्, “अझ रेसम, अल्लो, केराको हाइजिनिक नेचुरल फेब्रिकमा पहिरन बनाउने पारखी बढ्दै गएका छन् । नेपालमा मात्रै नभई विदेशमा पनि यस्ता उत्पादनको माग बढी छ ।”
१२ देखि २० वर्षसम्मका युवायुवती फेसनेबल हुन्छन् । यसबाहेक बिहान कलेज, दिउँसो अफिस र बेलुकी आफ्नै काममा रमाउनेहरू फेसनसँग उसैगरी घुलेका छन् । “हरेक प्रहरका लागि फरक–फरक पहिरन खोज्ने अझ बढ्दैछन्,” गिरी भन्छिन् ।
दाङबाट अध्ययनका लागि काठमाडौं आएकी किरण रोकाको सपिङ प्रायः सिटी सेन्टर, सिभिल मल र पिपुल्स प्लाजामा हुने गर्छ । “उमेरअनुसारको फेसन त हुनुप¥यो नि !” आधुनिकतालाई आत्मसात गरेकी रोका भन्छिन्, “तर मलहरूमा पनि आफूले भनेजस्तो नपाएपछि बुटिकमा अर्डर गर्नुपर्छ ।” नेपाली कपडामा डिजाइनरले गरेको डिजाइनले उनको पनि मन तानेको छ ।
उनको जस्तै विचार राख्ने विनोद न्यौपाने भन्छन्, “फेसन, फेसन गर्नेका लागि मात्र होइन, आफूलाई सहज र सरल बनाउनका लागि पनि हो, त्यसैले सुहाउँदो पहिरनमै सजिन चाहन्छु ।” भर्खर ‘अप्रिल फुल’ चलचित्रमा सुटिङ भ्याएका नवनायक न्यौपानेले फिल्मी शैलीमा भने, “कथाले चरित्र मागेजस्तै शरीरले कपडा माग्छ नि !”
नेपाली उत्पादन र डिजाइन अहिले स्वदेशमा मात्र सीमित छैन, देशबाहिर पनि यसको माग बढ्दो छ । डिजाइनर प्रवीण श्रेष्ठ भन्छन्, “विदेशी फेसनको दबदबा रहेको समयमा हामीले पनि नेपाली फेसन अन्तर्राष्ट्रियस्तरमा पु¥याएका छौं । बेलाबेला विदेशमा गर्ने फेसन सोमा हाम्रो फेसनको पनि चर्चा हुन थालेको छ ।”
फेसन भनेपछि विदेशी पहिरन बुझ्नेहरूले नेपालमै अन्तर्राष्ट्रिय स्तरका पहिरन उत्पादन हुन थालेपछि मन फेरेका छन् । नेपालको मौसमले पनि फेसनलाई राम्रै साथ दिन्छ । तीन–तीन महिनामा परिवर्तन देखिने सिजनले फेसनलाई फेर्दै लैजान्छ ।
कोटेश्वरका नवीन मुडभरी यो गर्मीमा टी–सर्ट र हाफपाइन्ट मन पराउँछन् । अब मनसुनमा पातलो ओभरपुल र लुज पाइन्टतिर उक्लने योजनामा छन् उनी । भन्छन्, “सिजनले फेसनको रूप फेरेको छ । भर्खरै त मनसुन सुरु भयो ।” उनी पहिले मलमा सपिङ गर्थे, अहिले बुटिक धाउन थालेका छन् ।
बुटिकमा वानपिस १२ सयदेखि २५ सय, फ्रक १८ सय, स्कर्टसहित सर्ट ४ हजार रुपैयाँसम्म पर्छ । पुरुष पहिरन सर्ट २६ सय, हाफ पाइन्ट १८ सय, गर्मीमा लगाउने केराको कोट ५२ सय र जिन्ससँग लगाउने दौरा २८ सय रुपैयाँसम्ममा पाइन्छन् ।
 

  • सम्बन्धित समाचार
Comments