चीनमा चार वर्षपछि ब्याजदर कटौती
बेइजिङ, २७ जेठ
चीनले २००८ यता पहिलोपटक ब्याजदर कटौती गरेको छ । आर्थिक वृद्धिलाई सघाउन भन्दै देशले लामो समयपछि यस्तो निर्णय लिएको हो ।
पछिल्लो निर्णयअनुसार एकवर्षे ऋणमा १ प्रतिशतले कटौती गरी ६.३१ प्रतिशतमा झारिएको छ भने रकम जम्मा गर्दा पाइने ब्याजदर ३.५ प्रतिशतबाट कम गरेर ३.२५ प्रतिशत बनाइएको छ । पिपुल बैंक अफ चाइना ब्याजदर घटाउने निर्णयप्रति लचक देखिएको छ ।
“यो एउटा सकारात्मक र प्रभावकारी काम हो । यसलाई सरकारको खुकुलो नीतिको पहिलो खुड्किलोका रूपमा लिन सकिन्छ, पुँजीबजारका अर्थशास्त्री किन्वी वाङले भने, “यसले बैंकहरूमा कर्जा प्रवाहमा थप प्रतिस्पर्धा बढ्ने देखिन्छ । त्यसैले बैंकहरूलाई नाफा कमाउन धेरै गाह्रो हुन सक्छ ।”
कर्जा प्रवाहमा समस्या पार्न सक्ने बुझिएको बैंकसम्बन्धी नियम लागू गर्न भने सरकारले ढिलाइ गरेको उनको भनाइ थियो । यो नीति कार्यान्वयन गर्न अर्को वर्षको जनवरीसम्म ढिलाइ हुने बुझिएको उनले उल्लेख गरे । जसले बैंक तथा वित्त क्षेत्रका सामान्य समस्या समाधान गर्न समेत समस्या पर्न सक्नेछ । सरकारले भने यसअघि यो वर्षको सुरुदेखि नै यो नीति लागू गर्ने योजना बनाएको थियो ।
अमेरिका तथा युरोपेली क्षेत्रमा समेत ब्याजदर कटौती भइरहेकाले चीनले पनि सोही नीति अख्तियार गरेको विश्लेषकहरूको भनाइ छ ।
ब्याजदर कटौतीले आन्तरिक बजारमा बैंकहरुको प्रतिस्पर्धा बढ्नेछ । यसले धेरै कर्जा प्रवाह हुने विश्लेषण गरिएको छ । बितेका केही महिनामा निर्यात बजारमा देखिएको मन्दी तथा बजारमा देखिएको समस्या समेत अबका दिनमा कम हुने अपेक्षा गरिएको छ ।
बेलायती अर्थशास्त्री हवार्ड डेभिसले चीनको मुख्य चासो भनेकै विश्वव्यापी रूपमा कमजोर हुँदै गएको व्यापार बढाउनु नै भएको भन्दै उनले यसकै लागि चीनले व्याजदर कम गर्ने निर्णय लिएको बताए ।
“पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा पनि उच्च दरमा सुधार देखिएको छ । यद्यपि युरोपेली क्षेत्रमा भने संकटपूर्ण अवस्था बाँकी नै छ । भारतमा पनि पाँच वर्षकै न्यून वृद्धिदर देखिएको छ । त्यसैले विश्वकै अवस्था राम्रो नभएकाले चीनले पनि यस्तो निर्णय लिएको हो,” हवार्ड भन्छन् ।
उनले यस्तै कारणले चीनले आन्तरिक माग बढाउन विभिन्न उपाय अपनाउनुपर्ने बताए । ब्याजदर कम हुँदै ८ प्रतिशतमा आइपुग्दा गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
लगानीकर्ताहरूले आशा गरेजस्तै बजार बढाउन तथा ऋण संकटबाट जोगाउन र संर्घष गरिरहेको अर्थतन्त्रमा सुधार गर्न केन्द्रीय बैंकले उक्त कदम चालेको कतिपय विश्लेषकहरूको भनाइ छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न पनि यस्तो कदम आवश्यक रहेको उनीहरूको भनाइ छ ।
यसअघि पहिलो त्रैमासमा देशको अर्थतन्त्रमा ८.१ प्रतिशतको वृद्धिदर देखा परेको थियो । यो दर गएका तीन वर्षयताकै न्यून भएको पनि जनाइएको छ । यद्यपि विश्वका अन्य उच्च विकसित देशको तुलनामा भने यो दर अधिक हो ।
अन्तर्राष्ट्रिय मुद्राकोषले पनि देशको आर्थिक वृद्धिदरमा समस्या उत्पन्न हुनसक्ने चेतावनी दिएको थियो ।



