चीनमा सिमेन्ट उत्पादन घट्यो
बेइजिङ, १२ असार- चीनको सिमेन्ट उत्पादन दर १४.३ प्रतिशतले कम भएको छ । चालू वर्षको पहिलो पाँच महिनामा त्यहाँको सिमेन्ट उत्पादन गत वर्षको समान अवधिको तुलनामा कम भएको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद्ले जनाएको छ ।
यो अवधिमा ७९ करोड ३९ लाख ८० हजार टन सिमेन्ट उत्पादन भएको परिषद्ले जनाएको छ । यद्यपि सिमेन्ट उत्पादनको यो दर वर्षको सुरुका अवधिको तुलनामा भने ५ प्रतिशतले धेरै हो ।
वार्षिक अनुपातका आधारमा भने मेमा सिमेन्ट उत्पादन ४.३ प्रतिशतले बढेको छ । यद्यपि यो पनि गत वर्षको समान अवधिको तुलनामा भने १९.२ प्रतिशतले कम हो ।
पछिल्लो समयमा देशको अर्थतन्त्र कमजोर बन्नुका साथै आन्तरिक तथा बाह्य बजारमा हुने मागमा कमी आएपछि उत्पादनमा कमी आएको हो ।
सरकारले रियल स्टेट क्षेत्रमा कडाई गर्नुका साथै ठूलो संरचनाको निर्माणमा समेत सुस्तता आएकाले उत्पादन कमजोर बनेको परिषद््ले जनाएको छ ।
वर्षको पहिलो पाँच महिनामा सिसाको उत्पादनमा समेत वार्षिक रूपमा १.७ प्रतिशतले कमी आई २९ करोड ८२ लाख ८० हजार टन मात्र उत्पादन भएको छ । गत वर्ष सिसा उत्पादन १९.६ प्रतिशले बढेको थियो । मेमा मात्रै सिसा उत्पादन १०.२ प्रतिशतले कम भएको छ । यो दर गत वर्षको समान अवधिमा २१.७ प्रतिशतले बढेको थियो ।
अघिल्लो वर्षको समान अवधिको तुलनामा जनवरीदेखि अप्रिलसम्मको अवधिमा उत्पादन क्षेत्रको नाफा ७ प्रतिशतले कम भई ८१ अर्ब ३० करोड युआनमा सीमित भएको थियो ।
यो अवधिमा सिमेन्ट उत्पादकहरूको नाफा समग्रमा ५९.९ प्रतिशतले कम भई ९ अर्ब ५३ करोडमा सीमित भएको छ ।
त्यस्तै सीसा उत्पादन क्षेत्रको नाफा १३ करोड युआनले कम भएको जनाइएको छ । गत वर्षको समान अवधिमा सिसा उत्पादकले २ अर्ब ३५ करोड युआन नाफा कमाएका थिए ।



