जेठमा राजस्व असुली २० प्रतिशत
काठमाडौं, ४ असार- सरकारले यस वर्ष २०.६ प्रतिशतको राजस्व वृद्धि लक्ष्य राखेकोमा जेठ महिनामा २० प्रतिशत वृद्धि भएको छ । असारसम्म २ सय ४१ अर्ब ७७ करोड रुपैंया राजस्व उठाउने लक्ष्यमा जेठ महिनासम्म २ सय १० अर्ब ९६ करोड असुली भएको अर्थमन्त्रालयले जनाएको छ ।
“जेठ महिनाको उत्साहजनक राजस्व असुलीले लक्ष्य पुग्नेमा आशावादी छौं,” अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने ।
यस वर्ष मूल्य अभिवृद्धि कर (भ्याट) वापत ७२ अर्ब ७४ करोड रुपैंया असुली गर्ने लक्ष्यमा जेठ महिनासम्म ६४ अर्ब ७८ करोड असुली भएको छ । यो असुली लक्ष्यभन्दा १.६ प्रतिशत बढी हो । आयकरतर्फ चालू वर्षमा ५० अर्ब ८१ करोड असुली गर्ने भनिएकोमा जेठसम्म ४१ अर्ब ९७ करोड असुली भएको छ ।
“आयकरमा राम्रो असुली भएको छ, यो ४.५ प्रतिशतको वृद्धि हो,” सचिव बाँस्कोटाले भने ।
त्यस्तै भन्सारतर्फ ४१ अर्ब ५६ करोड असुली गर्ने भनिएकोमा जेठसम्म ३८ अर्ब ४७ करोड असुली भई लक्ष्यको तुलनामा ३.८ प्रतिशत बढी राजस्व उठेको हो । डलरको मूल्य बढेकाले भन्सार मूल्यांकनबाट उठेको रकम केही बढेको छ ।
अर्थसचिव वास्कोटाका अनुसार अन्तःशुल्क, रजिष्ट्रेशन दस्तुर, सवारी साधन कर र गैर कर राजस्वमा भने लक्ष्यअनुसार राजस्व असुली हुन सकेको छैन । अन्तःशुल्क वापत् २६ अर्ब ७१ करोड असुली भएको छ । रजिष्ट्रेशन दस्तुरतर्फ ३ अर्ब ५८ करोड र सवारी कर वापत् ३ अर्ब ४९ करोड असुली भएको छ । गैर कर राजस्वतर्फ ३१ अर्ब ९८ करोड असुली अर्थमन्त्रालयले जनाएको छ ।
“जेठ महिनामा १९ अर्ब ३७ करोड राजस्व उठ्ने अनुमान गरेका थियौं,” अर्थसचिवले भने “२० अर्ब ८८ करोड असुली भएको छ ।”
जेठ महिनामा राजनैतिक कारणले करिव राजस्व असुलीमा नकारात्मक असर परेता पनि जेठ दोस्रो सातापछि अर्थमन्त्रालयले शुरु गरेको आकष्मिक कार्यालय निरीक्षण, चुहावट नियन्त्रण, भन्सार मुल्यांकनमा कडाई, बक्यौता असुलीमा जोड, गैर कर असुलीमा विशेष अभियान संचालन, निजी क्षेत्रसँगको निरन्तर सम्वादलगायतका पहलबाट लक्ष्यभन्दा बढी नै राजस्व असुली भएको अर्थसचिवले जानकारी दिए ।
मन्त्रालयले अन्तिम महिनामा यी पहलहरुलाई निरन्तरता दिएर चुहावट नियन्त्रणमा विशेष ध्यान दिइएको बताएको छ ।



