डायस्पोराको सीआरबीटीको व्यापार
अहिले गीतसंगीतको व्यवसाय मन्दीमा छ । यो व्यवसायमा टिकिरहने अवस्था नभएपछि धेरैले वैकल्पिक बाटो रोजेका छन् भने कतिले त पूर्णरूपमा हात नै झिकिसके । मनोरञ्जनका वैकल्पिक साधनको आक्रामक बजारमा ‘पाइरेसी’ले झनै थला पारेपछि गीतसंगीतलाई मुख्य व्यवसाय बनाउनेहरू अहिले पछुताउँदैछन् । कारण– बजारमा सार्वजनिक भएका गीत हप्ता दिनभित्र सबैका मेमोरीकार्डसम्म पुगिसक्छन् । तर, जस्तोसुकै विषम परिस्थितिमा पनि आशाको झिल्को देखिन्छ । अहिले सीआरबीटी (कलर रिंगब्याक टोन) त्यस्तै झिल्को बनेको छ, जसले डुबिसकेको संगीत बजारलाई थोरै भए पनि त्राण दिएको छ ।
दूरसञ्चार प्रदायक कम्पनीहरूले मोबाइलमा सीआरबीटी राख्ने सुविधा थपेपछि गीतसंगीतको व्यापारलाई यसले केही राहत पु¥याएको हो । अझ नेपालीको संख्या धेरै भएका विदेशी मुलुकमा पनि सीआरबीटी बज्न थालेपछि यसको बजार झनै फराकिलो भएको छ ।
चार वर्षअघि म्युजिक नेपालले विदेशमा नेपाली गीतसंगीत पु¥याएपछि अहिले म्युजिक नेपालसँगै आधा दर्जन कम्पनीले सीआरबीटी कोड ल्याएर सेवा दिइरहेका छन् । नेपालीहरू बढी रहेका मुलुकमा माग बढ्न थालेपछि पहिलो पटक विदेशमै सीआरबीटीको प्रवद्र्धन गर्न भन्दै कम्पनी नै स्थापना भएको छ । डिजिटल प्लेटफर्म नेपालले विश्वका १० देशमा नेपाली गीतसंगीतको बजार प्रवद्र्धन गर्दै यो व्यवसायलाई नयाँ धारबाट अगाडि बढाएको छ । यसका लागि उसले म्युजिक नेपालको सहकार्य र स्थापित अन्य ४० वटा म्युजिक कम्पनीको सहयोग लिएको छ ।
सगरमाथा डिजिटलका हीराबहादुर केसी र कर्णाली इन्टरटेनमेन्टका पदमबहादुर बुढाको पहलमा स्थापित डिजिटल प्लेटफर्मले मलेसिया, कतार, कुवेत, बहराइन, ओमान, साउदी अरब, दुबई कोरियालगायत मुलुकमा नेपाली सीआरबीटी पु¥याइसकेको छ ।
म्युजिक नेपाल, हाइलाइट्स नेपाल, ध्वनि, डिजिटेन्मेन्ट, हनी इन्टरटेनमेन्ट, आप्का हाउसले विदेशमा त्यहाँका मोबाइल सेवाप्रदायकसँग सीआरबीटी कोड लिएका छन् । यी कम्पनीमार्फत विदेश पुग्ने सीआरबीटीलाई डिजिटल प्लेटफर्मले बजार प्रवद्र्धन गर्छ ।
सञ्चालक बुढाले नेपालमा धेरै कलाकार र कम्पनी पाइरेसीको मारमा परेकाले आम्दानीको दायरा बढाउन नै विदेशमा यसखाले बजार खोजिएको बताए । “नेपालमा संगीतको व्यापार खस्कँदै गएको छ, कलाकार र कम्पनी दुवै यसको मारमा परेका छन्,” उनले भने, “त्यसैले वैकल्पिक काम भएन भने सबै व्यवसाय धरापमा पर्छ र लाखौं लगानी गरेका कम्पनी डुब्छन् ।” कम्पनीमात्र नभई लाखौं खर्चेर एल्बम निकाल्ने कलाकारलाई पनि राहत पुगोस् भनी विदेशमा सीआरबीटीको बजार प्रवद्र्धन गरिएको उनको भनाइ छ ।
विदेशमा सीआरबीटीको व्यापार गर्नुअघि नेपाली कम्पनी र विदेशको सीआरबीटी ब्रोकरबीच सम्झौता हुन्छ । ब्रोकरले सम्बन्धित देशको टेलिकमसँग कोड लिएको हुन्छ । त्यसपछि यहाँका कम्पनीले कोड लिएर नेपाली संगीत विदेश पु¥याउँछन् । चार वर्षको अवधिमा १६ हजार गीतसंगीत सीआरबीटीका लागि विदेश पुगिसकेका छन् ।
विदेशमध्ये पनि सबैभन्दा बढी मलेसियामा नेपाली सीआरबीटी डाउनलोड हुन्छन् । झन्डै ५ लाख नेपाली रहेको मलेसियामा एउटा गीत पहिलो चोटी डाउनलोड गर्दा ३ रिंगेट, दोस्रो पटक गर्दा २ र त्यसपछि १ रिंगेट लाग्छ । त्यहाँ एक महिनामा २ लाख ५० हजारदेखि ३ लाखसम्म सीआरबीटी डाउनलोड हुने गरेको नेपाल संगीत उद्योग संघका अध्यक्षसमेत रहेका बुढाले बताए । “मलेसियाबाट मात्रै २५ लाख रुपैयाँसम्म रेभिन्यु आउने गरेको छ,” उनले भने ।
बुढाका अनुसार कतारमा १ लाख ७५ हजार, साउदीमा १ लाख २५ हजार, दुबईमा १ लाख ५ हजार, कुवेतमा १५ हजार सीआरबीटी प्रत्येक महिना डाउनलोड हुने गरेका छन् । मलेसियाबाहेक अरु मुलुकबाट प्रत्येक सीआरबीटीमार्फत नेपाली कम्पनीले १५ रुपैयाँ पाउँछन् । मलेसियाबाट १२ रुपैयाँमात्र आउने गरेको बुढाले बताए । जुन कम्पनीबाट गीतसंगीत उत्पादन भएको हो, उसले २० प्रतिशत पाउँछ । डिजिटल प्लेटफर्मले बजार प्रवद्र्धनबापत १० प्रतिशत पाउने गरेको छ । नेपालमा भने दूरसञ्चार प्रदायकबाट कम्पनीले ४ रुपैयाँ ७० पैसा पाउने गरेका छन् ।
म्युजिक नेपालका प्रमुख प्रशासक उत्तम थापाले विदेशमा नेपाली गीतसंगीतको व्यवसायले कलाकार र कम्पनी दुवैलाई फाइदा पुगेको बताउँदै अझ धेरै देशमा विस्तार गर्न आफूहरू लागिपरेको बताए । “नेपालमा संगीतको व्यापार पहिलेको भन्दा धेरै कम छ,” उनी भन्छन्, “यस्तो अवस्थामा विदेशमा रहेका नेपालीमाझ सीआरबीटी पुग्नु भनेको ठूलो योगदान हो ।”
चार महिनाअघि स्थापना भएको डिजिटल प्लेटफर्मले सीआरबीटी प्रवद्र्धन गर्न नेपालको चिनोस्वरूप सीआरबीटी कोड भएको डीभीडी निःशुल्क बाँड्दै आएको छ । अर्का सञ्चालक केसी भन्छन्, “अब नेपाली संगीत व्यवसायको आधार भनेको सीआरबीटी नै हो, त्यसैले सबै कम्पनीका लागि बजार प्रवद्र्धन गरेका छौं ।” दुबई र कतारमा ‘आरबीटी साँझ’ गर्न लागिएको उनले बताए ।
वैदेशिक रोजगार विभागका अनुसार मलेसिया र कतारमा ५ लाख, साउदीमा ४ लाख, दुबईमा ३ लाख, बहराइनमा ३५ हजार, ओमानमा ३० हजार, कुवेतमा ५० हजार नेपाली कामदार छन् ।
बढ्दो पाइरेसीका कारण गीतसंगीत उत्पादन गर्ने ३० कम्पनी बन्द भइसकेका छन् । नेपाल संगीत उद्योग संघमा १ सय ३५ कम्पनी आबद्ध छन् ।



