परामर्शदाताको छनोट अन्तिम चरणमा

वर्ग: विकास
मिति: Wednesday,27th June 2012 23:04 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

बूढीगण्डकी जलाशययुक्त आयोजना


काठमाडौं, १३ असार- बूढीगण्डकी जलाशययुक्त विद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ तयारका लागि परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव आह्वान गरेपछि २४ विदेशी कम्पनीले प्रस्ताव पेस गरेका थिए । ती मध्ये आधादर्जन कम्पनीलाई सूचीकृत गरी प्रस्तावको मूल्यांकन भइरहेको छ । सूचीकृत भएका ६ वटा कम्पनीमा एमडब्ल्युएच अमेरिका, ईआईसी इटाली, एडीएफ फ्रान्स, स्मेक अस्ट्रेलिया, ड्राटवेल फ्रान्स र ल्याह्मेर जर्मनी छन् ।
सूचीकृत सबै कम्पनीको मूल्यांकन भइरहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका निर्देशक लीलानाथ भट्टराईले बताए । उनले मूल्यांकनपछि एउटा परामर्शदाताको छनोट हुने बताए । छनोटपछि उसले काम सुरु गरेको साढे २ वर्षमा आयोजनको विस्तृत इन्जिनियरिङका साथै सम्भाव्यता अध्ययन पूरा गर्ने उनले जानकारी दिए । यस्तै परामर्शदाताले आयोजनको अध्ययन पूरा गरी बोलपत्र डकुमेन्टसमेत तयार गर्नुपर्ने निर्देशक भट्टराईले बताए ।
अध्ययनका क्रममा परामर्शदाताले आधा किलोमिटर अडिट सुरुङको निर्माण, २ किलोमिटर लामो ड्रिलिङका साथै वातावरणीय र सामाजिक प्रभावको मूल्यांकनसमेत गर्नेछ । आयोजनको अध्ययनका लागि १ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर पहिलो प्राथमिकतामा राखिसकेकाले आयोजना अघि बढ्ने उनको तर्क छ ।
सन् १९८४ मा नेपाल विद्युत् प्राधिकरणले गरेको अध्ययनअनुसार आयोजनाको जडित क्षमता ६ सय मेगावाट हुने देखाएको छ । यस अध्ययनमा परिमार्जन भई आयोजनाको क्षमता झन्डै दोब्बर हुने निर्देशक भट्टराईले बताए ।
राजधानीबाट ६८ किलोमिटर मात्र टाढा रहेको यो आयोजना आर्थिक एवं प्राविधिक रूपमा सम्भाव्य देखिएकाले प्राधिकरणले सम्भाव्यता अध्ययन थाल्न लागेको हो । विद्युत् प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार आयोजनाको अनुमानित लागत १ अर्ब ५० करोड अमेरिकी डलर लाग्ने छ ।
यसअघि ग्लोबल टेन्डरबाट आयोजना निर्माणका लागि छनोट भएको इलेक्ट्रिसिट डे फ्रान्स (ईडीएफ) ले आयोजनाको निर्माण आठ वर्षपछि  मात्र सुरु गर्ने कार्ययोजना पेस गरेपछि प्राधिकरणले आफैं अध्ययन सुरु गर्न लागेको हो । आगामी तीन वर्ष अध्ययन् र वित्तीय व्यवस्था गर्न र बाँकी ६ वर्ष निर्माणका लागि लाग्ने प्राधिकरणले जनाएको छ ।
विद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको सिमानामा पर्छ । प्राधिकरणले गरेको अध्ययनअनुसार धादिङको बेनीघाटस्थित बूढीगण्डकी नदीमा २ सय २५ मिटर अग्लो कंक्रिट बाँधको निर्माण हुनेछ । एक किलोमिटर लामो सुरुङबाट ल्याइएको पानी १ सय ८५ मिटर अग्लो हेडबाट खसाली ६ सय मेगावाट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । आयोजनाको विद्युत्गृह त्रिशूली नदीको किनारमा रहनेछ ।
 

  • सम्बन्धित समाचार
Comments