मेगा बैंकको एकैसाथ १५ शाखा
काठमाडौं, ५ असार- मेगा बैंकले देशका विभिन्न ठाउँमा १५ वटा शाखा औपचारिक रूपमा सुरु गरेको छ । मंगलबार बैंकका अध्यक्ष प्रा.डा. मदनकुमार दाहालले काठमाडौंमा आयोजित एक कार्यक्रमबाट सबै शाखाबाट कारोबार सुरु भएको घोषणा गरे ।
नयाँ शाखामध्ये उपत्यकाभित्र पाँच र उपत्यकाबाहिर १० वटा छन् । योसहित बैंकको कुल शाखा २८ वटा पुगेको छ । त्यसमध्ये उपत्यकाभित्र १० र उपत्यकाबाहिर १८ वटा छन् । यसका साथै बैंकले ४ सय ६५ रेमिट्यान्स काउन्टर र ११ वटा ब्रान्चलेस (शाखारहित) बैंकिङबाट सेवा दिइरहेको जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आगामी तीन वर्षभित्र मेगालाई उत्कृष्ट र नमुना बैंकका रूपमा स्थापित गर्न लागिरहेको बताए । “हामीले दुई वर्ष पूरा ग¥यौ अब तीन वर्षमा नमुना बैंकका रूपमा विकास गर्छौं,” उनले भने । ६३ जिल्लामा छरिएका १ हजार २ सय १९ संस्थापकका साथै दक्ष व्यवस्थापन समूह नै बैंकको दरिलो पक्ष रहेको उनले दाबी गरे ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले राजनीतिलाई दोष दिएर बैंकको सेवा विस्तार गर्न आलटाल नगरेको बताए । “राजनीतिक अवस्थालाई दोष देखाएर हामी सेवा विस्तारमा पछि हट्दैनौं,” शाहले भने, “यो आर्थिक वर्षको ११ महिनामा मात्र हाम्रा ३७ हजार ग्राहक थपिएका छन् ।” बैंकले ६७ हजार ग्राहकमार्पत ९ अर्ब ४० करोड निक्षेप संकलन गरी ८ अर्ब ८० करोड कर्जा लगानी गरेको उनले जानकारी दिए । बैंकले मध्यम र निम्नवर्गका जनतालाई प्राथमिकता दिएकाले प्रतिग्राहक औसत निक्षेप १ लाख ५० हजार र ऋण २१ लाख रुपैयाँ रहेको उनको भनाइ छ ।
‘हलोदेखि हाइड्रोसम्म’ नारालाई सार्थक बनाउन गाउँ–गाउँमा निम्नवर्गसम्म पुगेर बैंकिङ सेवा दिइएको बैंकले जनाएको छ । शाखा खोल्न नसक्ने ठाउँका सर्वसाधारणलाई समेत ब्रान्चलेस बैंकिङअन्तर्गत सजिलो प्रविधिबाट बचत गर्न र कर्जा लिन सकिने सेवा दिइएको बैंकले उल्लेख गरेको छ ।



