लट थ्रीको सुनुवाइ आज

वर्ग: विकास
मिति: Wednesday,20th June 2012 23:05 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना

काठमाडौं, ६ असार- सर्वोच्च अदालतमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति मुद्दाको आज सुनुवाइ हुँदै छ ।
भारतको आलस्थम प्रोजेक्टस इन्डिया लिमिटेडले सार्वजनिक खरिद ऐनविपरीत गएर निर्णयलाई प्रभावित पार्ने गरी इलेक्ट्रोमेकानिकलको काम रोक्न सर्वोच्चमा अन्तरिम आदेश मागेकोमा उसले यस्तो आदेश दिनुनपर्ने ठहर गरिसकेको छ । यसअघि पुनरावेदन अदालत पाटनले पनि आलस्थमले मागेबमोजिम अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको थियो ।
सर्वोच्च र पुनरावेदन अदालतले बाटो खुला गरेपछि प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले कम दर प्रस्ताव गर्ने एन्ड्रिज हाइड्रो जीएमबीसँग इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भई उसले कामसमेत सुरु गरेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए । एन्ड्रिजले काम सुरु गर्न माथिल्लो तामाकोसीबाट पेस्की रकमसमेत लगिसकेको श्रेष्ठले जानकारी दिए । बोलपत्रको निर्णय नहुँदै आलस्थमले निर्णयलाई प्रभावित पार्ने गरी पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो ।
अब उसको मुद्दाको कुनै अर्थ नरहने भन्दै आयोजना प्रमुख श्रेष्ठले भने “निर्णय उल्टे आयोजनालाई ठूलो समस्या आउँछ ।” ठेक्कामा विवाद आएपछि सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखासमितिले पनि बाटो खुला गरिसकेका छन् । आयोजनाबाट सन् २०१५ को अन्त्यदेखि बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको लट थ्रीअन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको ठेक्का नपाउने अवस्था देखिएपछि आलस्थमले सार्वजनिक खरिद ऐनको दफा ६२ को उपदफा १ को ‘छ’ मा बोलपत्र प्रस्ताव खोलेको समयदेखि त्यसको स्वीकृतिको सूचना नदिँदासम्मको अवधिमा प्रस्ताव सम्बन्धमा प्रभाव पार्ने उद्देश्यले कुनै काम गर्न नपाइने व्यवस्थाको आलस्थमले उल्लंघन गरेको कम्पनीले जनाएको छ ।
लट थ्रीअन्तर्गतको इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिका लागि अपर तामाकोसीले ७ अर्ब ७४ करोड रुपैयाँ अनुमानित लागत राखेको थियो । अस्ट्रियाको एन्ड्रिजले  ६ अर्ब ५४ करोड ४६ लाख रुपैयाँमा इलेक्ट्रोमेकानिकल उपकरण जडान गर्न प्रस्ताव गरेको छ । एन्ड्रिजको प्रस्ताव अपर तामाकोसीले अनुमान गरेको भन्दा १ अर्ब २० करोड रुपैयाँले कम हुनुका साथै दोस्रो स्थानमा रहेको आलस्थमको भन्दा २० करोड रुपैयाँले सस्तो छ ।
यसैगरी, आलस्तम प्रोजेक्ट्स इन्डिया लिमिटेडको मुख्य कम्पनी आलस्तम हाइड्रो फ्रान्सलाई विश्व बैंकले आगामी तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
बैंकले आफ्नो लगानी रहेका अब बन्ने सबै आयोजनामा काम गर्न प्रतिबन्ध लगाई उसलाई ९५ लाख अमेरिकी डलर जरिवानासमेत गरेको छ । सन् २०१५ को फेब्रुअरी २० सम्मका लागि प्रतिबन्ध लगाएको बैंकले जनाएको छ ।
 

  • सम्बन्धित समाचार
Comments