स्क्रिप्ट सेन्सरको विरोध
चलचित्रकर्मी तथा सरोकारवालाले चलचित्र स्क्रिप्ट (पटकथा) सेन्सर गर्न नहुने आवाज उठाएका छन् । अश्लील चलचित्र निर्माण हुने क्रम बढ्दै गएपछि चलचित्र विकास बोर्डले स्क्रिप्ट नै अध्ययन गर्ने बताएको थियो । बोर्डको यो निर्णयपछि रुष्ट बनेका सरोकारवालाले बिहीबार बोर्डद्वारा नै आयोजित पत्रकार सम्मेलनमा स्क्रिप्ट सेन्सर स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका हुन् ।
बोर्डले अश्लील चलचित्र निर्माणलाई अंकुश लगाउने उद्देश्यले केही साताअघि शैलेश आचार्यको संयोजकत्वमा स्क्रिप्ट अध्ययन समिति गठन गरेको थियो । समितिको आवश्यकता किन भन्ने विषयमा बोर्डले पत्रकार सम्मेलन आयोजना गरेको हो । सम्मेलनपछि भएको छलफलमा सहभागी चलचित्रकर्मी र पत्रकारले स्क्रिप्ट सेन्सर गर्न नहुने सुझाव दिँदै यस्ता चलचित्रलाई सेन्सरमै कडाइ गर्नुपर्ने उपाय सुझाएका थिए ।
बोर्ड अध्यक्ष गणेश भण्डारीले स्क्रिप्ट अध्ययन सेन्सर नभई सभ्य चलचित्र निर्माणका लागि सुझावको काम भएको बताउँदै यसले यौनजन्य अश्लील चलचित्रलाई कडाइ गरेको बताए । चलचित्रको सामाजिक मर्यादा कायम गर्नकै लागि स्क्रिप्ट अध्ययन समितिको आवश्यकता देखिएको भन्दै उनले भने, “स्क्रिप्ट अध्ययन गर्न थालिएपछि बाढीकै रूपमा आउन लागेका अश्लील चलचित्र रोकिएका छन् ।”
तस्बिर छ ।



