‘विरासत’ सम्हाल्दै नयाँ पुस्ता
केही समयअघि कारोबारसँग कुरा गर्दा चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका थिए, “मेरो आफ्नै पारिवारिक व्यावसायिक घराना भएकै आधारमा मैले स्वतः यो जिम्मेवारी प्राप्त गरेको कदापि होइन, सीजीजस्तो समूहको नेतृत्वमा बस्न योग्यता चाहिन्छ र मसँग त्यो छ ।”
सीजी अध्यक्ष विनोदकुमार चौधरीका जेठा छोरा निर्वाणले समूहका पुराना र आउन लागेका नयाँ सबै प्रकारका परियोनजा र लगानी सम्हालेका छन् । हालसम्म ५० करोड अमेरिकी डलरभन्दा धैरै पुँजी लगानी गरिसकेको समूहको नेतृत्वमा पुग्न पारिवारिक विरासतले पनि त सघायो होला नि ?
“होइन । सीजी करिब १ सय ५० वर्षपछि यहाँसम्म आइपुग्दा मेरो वा मेरो परिवारको मात्रै नरहेर सिंगो देशकै बनिसकेको छ,” उनी भन्दै थिए, “यस्तो समूहको नेतृत्वमा बस्नका लागि योग्यता सबैभन्दा पहिलो आवश्यकता हो । यो स्थानमा रहन केबल खानदानी विरासत भएरमात्रै हुन्न । युवावस्थामै सीजी जस्तो व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका पाउनु मेरो करिअरकै लागि पनि ठूलो सफलता हो ।” उनीबाहेक चौधरी समूहका नयाँ पुस्ता राहुल, बरुण, मेघा र करण सबैले कुनै न कुनै जिम्मेवारी सम्हालिरहेका छन् ।
अर्को प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेसनको नेतृत्व पनि अहिले दोस्रो पुस्ताले गरिरहेको छ । शेखर, सञ्जय, आकाश गोल्छाले समूहका विभिन्न भगिनी संस्थामा व्यावसायिक नेतृत्व सम्हालिरहेका छन्, जसमध्ये शेखर गोल्छा नेपाली औद्योगिक क्षेत्रमा परिचित नाम हो । उनले गोल्छाका पुराना व्यवसाय र उद्योगका जिम्मेवारी त सम्हालेका छन् नै, त्यसबाहेक पनि व्यवसायमा नयाँ–नयाँ विदेशी साझेदार भिœयाउनेदेखि लगानी विविधीकरणमा उनको प्रमुख भूमिका रहने गरेको छ । स्टिल, चिनी, जुट, स्पिरिटलगायत पशु औषधि उद्योगमा समेत लगनी गरिसकेको समूहले आयात–निर्यातको काम पनि गर्छ । घरायसी विद्युतीय उपकरण निर्माण र बिक्रीमा पनि यो समूह अगाडि छ ।
नेपालमा होन्डा र हिरोहोन्डाका सवारी भिœयाउने ज्योति समूहका प्रबन्ध निर्देशक सौरभ ज्योति र निर्देशक सुहृद ज्योति दोस्रो पुस्ताका हुन् । यो पुस्ताले समूहको व्यावसायिक जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएको छ ।
नेपालका ठूला व्यावसायिक समूहका यी केही त्यस्ता केही उदाहरण हुन्, जसले दोस्रो पुस्तालाई सम्पूर्ण बागडोर सुम्पेको छ । नवीनतम सोच र बहुआयामिक प्रस्तुतिकै कारण यो पुस्ताले अघिल्लो पुस्ताको ‘विरासत’ थामेको छ, तर आफ्नै पौरखले ।
नेपालमा सय वर्षको इतिहास बोकेका व्यावसायिक घराना औंलामा गन्न सकिनेमात्रै छन् । पछिल्ला तीन दशकमा उदाउँदा र नयाँ व्यावसायिक प्रतिष्ठानको संख्या पनि क्रमिक रूपमा बढ्दो छ । ‘इमर्जिङ कर्पोरेट हाउस’को बढोत्तरीसँगै यिनको नेतृत्वमा क्रमशः नयाँ अनुहार देखिन थालेका छन् । पुरानो पुस्ताको विश्वास जितेकैले हो– नेपालमा ‘लिड’ गर्ने यस्ता प्रतिष्ठानको ‘लिड’ पनि यही नयाँ पुस्ताले गरिरहेको छ । व्यवसायमा आएको यो पुस्तान्तरणले व्यावसायिक दायरा फराकिलोमात्र भएको छैन, प्रतिस्पर्धीहरूबीच पनि सहकार्यको थालनी भएको छ ।
अलि लामो इतिहास बोकेका चौधरी समूह होस् वा गोल्छा अर्गनाइजेसन– खेतान, भ्वइथ (वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड टे«ेडिङ हाउसेज), ज्योति होस् वा राजधानीबाहिरको लक्ष्मी ग्रुप– सबैले नयाँ पुस्तालाई व्यावसायिक प्रतिष्ठानको जिम्मेवारी दिएका छन् । साखः, पञ्चकन्या, निम्बस, एनबीजस्ता ‘इमर्जिङ कर्पोरेट हाउस’मा पनि नयाँ पुस्ताकै बोलवाला छ ।
पहिलेको सुविधारहित जमानामा यी औद्योगिक घरानाले गरेको विस्तार र अहिलेको विज्ञान, सूचना–प्रविधिले सुसज्जित समयमा नयाँ पुस्ताले गर्नुपर्ने विस्तारको गति मापन एकै भने हुन सक्दैन । व्यवसायको विस्तार र विकासको गतिसँग नयाँ पुस्ता जसरी एकाकार भएको छ, अघिल्लो पुस्ता छैन ।
निर्वाणले भनेजस्तै कुनै पनि व्यावसायिक र त्यसमा पनि सीजी जस्तो प्रतिष्ठानमा रहेर मुख्य जिम्मेवारी सम्हाल्न सबैभन्दा पहिले आवश्यक पर्ने भनेको योग्यता हो । उनको बुझाइमा ‘योग्यता’ भनेको शिक्षा हो । उनका पिताले स्थानीयलाई खुसी बनाएर राजधानीबाहिर देशकै ठूलो औद्योगिक ग्राम (नवलपरासीस्थित चौधरी उद्योगग्राम) सञ्चालन गरेका छन् । यसका लागि केवल विदेशी शिक्षाले मात्रै पुग्दैन भन्ने बुझ्यो भने निर्वाणजस्तै नयाँ पुस्ताले ‘छलाङ’ मार्नेछ ।
लक्ष्मी समूहमा लक्ष्मीबहादुर श्रेष्ठपछि उनका छोरा (आजाद श्रेष्ठ) र नाति (निराकार श्रेष्ठ) पुस्ताले व्यावसायिक जिम्मेवारी सम्हालिरहेका छन् । युवावस्थामै व्यावसायिक उत्तरदायित्व पाउने अर्को नाम चलेको समूह हो– निम्बस । पशुजन्य औषधि र दाना उत्पादन गर्ने यो समूहका प्रबन्ध निर्देशक आनन्द बगारिया हुन् । त्यसैगरी पञ्चकन्या समूहमा पनि नयाँ पुस्ताले जिम्मेवारी बहन गर्ने परिपाटी बसिसकेको छ । प्रेमबहादुर श्रेष्ठले सुरु गरेको यो समूहको जिम्मेवारी छोराहरू ध्रुवकुमार र प्रदीपकुमार हुँदै पछिल्लो पुस्ताका उज्ज्वल र उदिद श्रेष्ठसम्म आइपुगेको छ । फलामे डन्डी, पाइप र विभिन्न फिटिङ, रेडिमिक्स, कंक्रिटलगायतका निर्माण सामग्री उत्पादनमा नेपालकै अग्रणी यो समूहको प्रमुख पदमा रहेर उनीहरूले जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख लगानी रहेको एनबी समूहमा पनि पछिल्लो पुस्ताका व्यवसायी जेन श्रेष्ठको नाम आउँछन् । उनले पनि समूहको महत्वपूर्ण पदमा रहेर जिम्मेवारी वहन गरिरहेका छन् ।
नयाँ पुस्तामा आइपुगेको जिम्वेवारीले सम्रग देशको आर्थिक डोर पहिल्याउन मद्दत गर्छ । त्यसैले देशको आर्थिक गतिविधिलाई टेवा पु¥याउने ‘प्लान अफ एक्सन’ (कार्ययोजना) ल्याउने अभिभारा पनि यही पुस्ताको काँधमा छ ।



