अधिकांश ग्रामीण सडक अवरुद्ध
लमजुङ, १४ साउन -करोडौ रुपैयाँको लगानीमा निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षायाम सुरु भएसँगै यातायात सेवा ठप्प भएका छन् ।
ग्राभेल नगरिएका र गरिए पनि गुणस्तरहीन भएकाले पानी पर्न थालेपछि ग्रामीण सडकहरूमा यातायात सेवा बन्द गर्नुपरेको लमजुङ यातायात व्यवसायीहरू बताउँछन् । सदरमुकाम बेसीसहरबाट पूर्वी लमजुङको चिती, तार्कुघाट, पश्चिम लमजुङको दुरडाँडा, कोइरालाफाँट, उत्तरी लमजुङको खुदी, भुलभुले र बाग्लुङपानीसम्म यातायातका साधन चले पनि अन्य सडकहरूमा यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ ।
बन्द भएका सडकहरूमा हिलेटक्सार, फलेनी, ढोडेनी, पाचोक, नौथर, भलायखर्क, भोर्लेटार, गिलुङ, सालमेभन्ज्याङ, भोजे, जिता, घेर्मु, स्याङ्गे, च्याम्चे, गाउँसहर, जगतलगायतका गाविसमा पनि यातायात सेवा बन्द गरिएकोे छ ।
जिल्लाका अधिकांश कच्ची सडकहरू बिग्रिएपछि ग्रामीण भेगका आम वासिन्दाहरूलाई सदरमुकाम आवतजावत र मालसामान ओसारपोसार गर्न असुविधा भएको छ । भरिया तथा खच्चडको माध्यमबाट मालसामान ल्याइरहेकाले सामान ढुवानीमा महँगो पर्न गएको किसान तथा व्यापरीहरू बताउँछन् । हरेक वर्ष जिल्ला विकास समिति, गाउँ विकास समितिले सडक निर्माण र मर्मतका लागि करोडौं बजेट विनियोजन गर्दै आए पनि सडक निर्माणपश्चात् कुनै अनुगमन तथा निरीक्षण नहुँदा विकासे बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ ।
जिविस लमजुङले जिल्लाका ६१ वटा गाविसलाई हरेक वर्ष बजेट विनियोजन गर्दै आए पनि जिविसले कुनै अनुगमन नगर्र्दा गाविसहरूमा सचिव र स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको मनोमानी बढेको छ ।
जिल्लामा निर्माण गरिएका अधिकांश सडकको सर्भे हचुवाका भरमा गलत तयार गरिएकाले ती सडक जति मर्मत गरे पनि हरेक वर्ष यस्तै समस्या आइरहने प्राविधिकहरू बताउँछन् । सडक निर्माणका क्रममा सडकको अनुगमन गर्न आएका प्राविधिकहरूलाई समेत ठेकेदारहरूले प्रलोभनमा पारी फर्काइदिने गरेको जिल्लावासीहरूको बुझाइ छ ।



