अमेरिकी व्यापारघाटामा कमी

वर्ग: विश्व
मिति: Thursday,12th July 2012 23:48 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameवासिङ्टन, २८ असार- गएको मेमा अमेरिकाको व्यापारघाटामा सुधार आएको छ । निर्यात व्यापारमा आएको सुधार र आयात दर घटेकाले व्यापारघाटा कम भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।
यो अवधिमा कुल व्यापारघाटा ३.८ प्रतिशतले कम भई ४८ अर्ब ७० करोड डलरमा झरेको विभागको भनाइ छ । अप्रिलमा देशको कुल व्यापार घाटा ५० अर्ब ६० करोड डलर रहेको थियो ।
विभागका अनुसार यो अवधिमा निर्यात व्यापार १ खर्ब ८३ अर्ब १० करोड डलरबराबरको भएको छ । यो व्यापार अप्रिलको तुलनामा ४० करोड डलरले धेरै हो ।
आयात दर भने अघिल्लो महिनाको तुलनामा मेमा १ अर्ब ६० करोड डलरले कम भई २ खर्ब ३१ अर्ब ८० करोड डलरको भएको विभागद्वारा सार्वजनिक गरिएको तथ्यांकमा उल्ल्ेख छ ।
खाद्यान्न, पेयपदार्थ तथा पुँजीगत क्षेत्रमा प्रयोग हुने सामानको निर्यात उच्च दरमा बढेको छ । यस्तै औद्योगिक उत्पादन, व्यापारिक प्रयोजनका सामग्री तथा विभिन्न कच्चापदार्थको आयातमा मन्दी देखा परेको विभागले जनाएको छ ।
अमेरिकाको व्यापार घाटामध्ये युरोपेली युनियनका विभिन्न २७ देशसँग मात्रै १० अर्ब ५० करोड डलर रहेको छ । त्यस क्षेत्रसँगको व्यापारघाटा गएको अप्रिलको तुलनामा २१ प्रतिशतले धेरै हो । युरोपेली देशहरूबाट हुने आयात ७.८ प्रतिशतले बढेको छ भने निर्यात पनि २.६ प्रतिशतले बढेको देखिन्छ ।
२०११ को मेको तुलनामा यो वर्ष सेवा क्षेत्रका वस्तुमा हुने नाफा भने १ अर्ब डलरले संकुचित बन्न पुगेको छ । गत वर्षको समान अवधिको तुलनामा यो वर्ष निर्यात ७ अर्ब ४० करोड डलर अर्थात् ४.२ प्रतिशतले बढेको छ । त्यस्तै आयात ८ अर्ब ४० करोड अर्थात ३.८ प्रतिशतले बढेको बताइएको छ ।
अमेरिकी अर्थतन्त्र वृद्धिको प्रमुख बाधक देशको व्यापारघाटा नै बन्ने गरेको अधिकारीहरूको भनाइ छ । उनीहरूले विगत लामो समयदेखि देशको अर्थतन्त्रले यस्तै समस्या बेहोर्नुपरेको बताए ।
चालू वर्षको पहिलो त्रैमासमा देशमा १.९ प्रतिशतको वृद्धि देखिएको थियो । विश्लेषकहरूले भने पहिलो त्रैमासको तुलनामा दोस्रो र त्यसपछिका त्रैमासहरूमा आर्थिक वृद्धिदर बढ्ने बताएका छन् ।
 

  • सम्बन्धित समाचार
Comments