आन्तरिक विमान कम्पनी थपिँदै
काठमाडौं, ४ साउन- सरकारले आन्तरिक विमान कम्पनीलाई धमाधम हवाई उडान इजाजतपत्र (लाइसेन्स) दिँदै आएको छ । झोलामा लाइसेन्स थन्काएका त्यस्ता विमान कम्पनीले गर्नुपर्ने उडानको भने कुनै टुंगो छैन । गएको एक वर्षमा चारवटा आन्तरिक विमान कम्पनीले लाइसेन्स पाइसकेका छन् भने दुईवटा कम्पनी लाइसेन्स पाउने प्रक्रियामा छन् ।
नमस्ते एयर र सौर्य एयरलाइन्स लाइसेन्स पाउने प्रक्रियामा छन् । दुइवटै कम्पनीले सुगम (ट्रंकरुट) मा उडान गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लाइसेन्सका लागि आवेदन दिएका छन् । हाम्रो एयर सर्भिस प्रालि, स्विफ्ट एयर, ब्लुज एयरवेज र आकाश भैरब एयरलाइन्सले गत वर्ष नै लाइसेन्स पाइसकेका छन् । वायुसेवा सञ्चालक संघले समेत हचुवाको भरमा लाइसेन्स नदिन सरकारलाई बारम्बार सुझाव दिँदा पनि लाइसेन्स दिने क्रम भने रोकिएको छैन ।
आन्तरिक वायुसेवा कम्पनीले लाइसेन्स लिने तर त्यसपछि कुनै कामना गरी हराउँदै गरेको पाइन्छ । पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, भरतपुर, सिमरा, नेपालगन्ज र धनगढी सुगम गन्तव्य मानिन्छन् । ती गन्तव्यमा हवाई सेवा दिन एक महिनाअघि नमस्ते एयरले एटीआर ४२÷७२ जहाज ल्याउने नमस्ते एयरले दाबी गरेको छ । राजु खत्री अध्यÔ रहेको नमस्ते एयरले लाइसेन्सका लागि मन्त्रालयमा योजना पेस गरेको छ ।
हालै आन्तरिक उडानका लागि अर्को आन्तरिक विमान कम्पनी सौर्य एयरलाइन्सले मन्त्रालयमा आवेदन दिएको छ । रोमनाथ घिमिरे अध्यक्ष रहेको सौर्य एयरलाइन्सले सुगम गन्तव्यमै सेवा दिने योजनाअनुसार साब ३४० र डोर्नियर ३२८ जहाज ल्याउने प्रस्ताव पत्रमा उल्लेख गरेका छ । यसअघि यती एयरलाइन्स कस्मिक एयरले सञ्चालन गरिसकेका साब जहाज ३६ सिट क्षमता छ भने डोर्नियरमा ३२ सिट छ ।
बजारको मागलाई ख्याल नगरी लाइसेन्स वितरण गर्नु मुलुककै हवाई क्षेत्रलाई घाटा हुने उड्डयन विज्ञ बताउँछन् । पछिल्लो समय उडानका लागि भन्दा पनि ‘होल्ड’ गर्न लिने प्रवृत्तिले नेपाली उड्डयन क्षेत्रलाई नै बदनाम गराउन थालेको सरोकारवाला बताउँछन् । लाइसेन्स प्राप्तिपश्चात् प्रिमियम बढाउँदै लाइसेन्स बेच्न विदेशी लगानी कर्ता खोज्ने प्रवृति बढ्दै गएको छ ।
लाइसेन्सको म्याद चार वर्षसम्म हुने र कम्पनी अस्तित्वमा नभए पनि लाइसेन्सको म्याद नवीकरणमा सरकारले कडाइ नगर्दा यस्तो प्रवृत्ति बढेको हो ।
यसअघि लाइसेन्स पाइसकेका हाम्रो एयर सर्भिल प्रालि, आकाश भैरव र स्विफ्ट एयरले समेत हालसम्म सेवा सञ्चालनबारे कुनै संकेत देखाएका छैनन् । वायुसेवा सञ्चालन अनुमतिपत्र (एओसी) प्राप्तिका लागि कम्पनीले भौतिक संरचना देखाउनुपर्ने भए तापनि कतिपयका कार्यालय नै छ्रैनन् । आन्तरिक उडान गर्न चाहने वायुसेवा कम्पनीले १५ करोड रुपैयाँकोे चुक्ता पु“जीसहित २० लाख बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । साथै, सुगममा उडान गर्न चाहने वायुसेवा कम्पनीले रोयल्टीबापत प्रत्येक रुटका लागि थप ३० हजार रुपैयाँ शुल्क बुझाउनुपर्छ ।
एक वर्षमा लाइसेन्स लिन पुगेका विमान कम्पनी
हाम्रो एयर सर्भिस प्रालि
आकाश भैरव एयर
स्विफ्ट एयर
ब्लुज एयरवेज
नमस्ते एयर (पाउने प्रक्रियामा)
सौर्य एयर (पाउने प्रक्रियामा)



