आर्थिक मन्दीको खतरा कायमै

वर्ग: विश्व
मिति: Tuesday,17th July 2012 23:53 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

वासिङ्टन, २ साउन -अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले विश्वमा आर्थिक मन्दीको खतरा अझै नटरेको बताएको छ । युरोजोनको अर्थतन्त्रमा अझै पनि अनिश्चितताहरू रहेकाले मन्दीको खतरा नटरेको कोषको भनाइ छ ।
आईएमएफले युरोजोनका बारेमा चाँडै सोच्नुपर्ने भन्दै यदि युरोपेली शीर्ष नेताहरूले सही निर्णय लिन ढिलो गरे भने आर्थिक संकट गहिरिनसक्ने चेतावनी दिएको छ ।
मुद्राकोषले गत अप्रिल महिनामा सन् २०१३ मा विश्व आर्थिक वृद्धिदर ४.१ हुने अनुमान गरेको थियो तर यसको सम्भावना अब कम हुँदै गएको बताएको छ । आफ्नै पूर्वानुमानलाई कम गरेर उसले ३.९ प्रतिशतमात्र आगामी वर्ष विश्वको आर्थिक वृद्धि हुने अनुमान गरेको तथ्य सार्वजनिक गरेको हो ।
बेलायतको आर्थिक वृद्धिको अनुमानलाई पनि ०.८ प्रतिशतबाट घटाएर ०.२ प्रतिशत बनाइएको छ । विश्व अर्थतन्त्रको आँकलनमा मुद्राकोषले गिरावटको खतरा कायमै रहेको भन्दै नीतिगत निर्णय लिन ढिलो भइरहेको प्रस्ट भएको जनाएको छ । हाल चालिएका कदमहरू पर्याप्त नभएका उसको ठहर छ ।
अहिलेको सबैभन्दा ठूलो प्राथमिकता युरोजोन संकटको समाधान खोज्नु भएको कोषको भनाइ छ । उसका अनुसार १७ सदस्य रहेको युरोजोनमा यो वर्ष आर्थिक वृद्धिदर ०.३ प्रतिशत मात्र रहने छ ।
मुद्राकोष, युरोपेली युनियन र युरोपेली केन्द्रीय बैंकले ग्रीस, स्पेन र पोर्चुगलजस्ता अर्थतन्त्रहरूलाई सहायता प्याकेजको बदलामा सरकारी खर्चमा कटौती माग गरिरहेका छन् ।
यता युरोजोनमा आएको आर्थिक संकटका कारण लाखौँ मानिसले रोजगारी गुमाएका छन् । मुद्राकोषले युरोपले बैंकिङ र राजस्वसम्बन्धी खर्चलाई जोडेर एक समग्र मौद्रिक नीति बनाउनुपर्नेमा जोड दिएको छ । हालै युरोजोनका शीर्ष नेताहरूले स्पेनका बैंकहरूलाई सहायता प्याकेज दिने सहमति जनाएका थिए र बैंकिङका साथै राजस्व कोषलाई जोड्ने कोसिस पनि गरेका थिए ।
तर सो प्रस्ताव लागू हुन अभैm कति समय लाग्ने भन्नेबारेमा केही खुलाइएको छैन । यस्तै मुद्राकोषले अमेरिकी सांसद्हरूसँग पनि वर्षको अन्त्यसम्म धनी अमेरिकीहरूलाई करमा छुट दिने वा नदिने भन्नेबारेमा स्पष्ट पार्न आग्रह गरेको छ ।
अमेरिकी अर्थतन्त्र यस वर्ष २ प्रतिशतले वृद्धि हुने सम्भावना छ भने सन् २०१३ मा २.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । कोषले उदीयमान अर्थतन्त्रहरूको आर्थिक वृद्धिको अनुमानलाई अहिले कम आँकलन गरिएको बताएको छ । कोषको प्रतिवेदनमा सन् २०१२ मा यी अर्थतन्त्रको वृद्धि दर ५.६ प्रतिशत हुने जनाइएको छ ।
वृद्धिको गति विशेष गरी ब्राजिल, चीन र भारतमा सुस्त हुने अनुमान गरिएको पनि यी अर्थतन्त्रहरूलाई अहिलेको समयमा विश्व आर्थिक बहालीको चालक मानिएको छ । यो वर्ष जनवरीदेखि मार्चको बीचमा भारतीय अर्थतन्त्र ५.३ प्रतिशतको वार्षिक दरले वृद्धि भयो, जुन पछिल्लो नौ वर्षमा सबैभन्दा कमजोर वृद्धि दर हो ।
विगत दुई वर्षमा बढ्दो महँगी भारतीय नीति निर्धारकहरूको सबैभन्दा ठूलो चिन्ताहरूमध्येको एक भएको जनाइएको छ । बढ्दो मूल्यसँग जुध्न भारतीय रिजर्भ बैंकले कैयाँै कदम चालेको छ । यसमध्येको प्रमुख २०१० मार्च महिनादेखि १३ पटक ब्याजदर बढाउनुलाई लिइएको छ ।
गत साता जारी भएको आँकडाअनुसार गत वर्ष मेको तुलनामा यो वर्षको मेमा थोक मूल्य सूचकांक बढेर ७.५५ प्रतिशत भएको भारतीय अर्थशास्त्रीहरूले बताएका छन् । भारतीय अर्थ विशेषज्ञहरूका अनुसार उच्च महँगी दर र सुस्त हुँदै गएको अर्थतन्त्रका कारण भारतीय रिजर्भ बैंकका लागि नीति निर्माण गर्न कठिन भएको छ ।
 

  • सम्बन्धित समाचार
Comments