उपत्यकाका यातायात योजना रोकिए
काठमाडौं, १३ साउन -उपत्यकाको लागि प्रभावकारी देखिएका आधुनिक र नयाँ यातायातका संरचना विकास गर्ने सरकारको घोषणा अलपत्र परेको छ । पर्याप्त बजेट विनियोजन नहुँदा र कार्यान्वयन गर्ने संयन्त्र नै निष्क्रिय भएपछि यस्ता योजनाहरू रोकिएका हुन् ।
उपत्यकाका लागि सबैभन्दा प्रभावकारी यातायातको विकल्प मानिएको मोनोरेल विस्तारका लागि सरकारले अघिल्ला आर्थिक वर्षको बजेटमा समेत उल्लेख गरेको थियो । यसका लागि स्वेतपत्र समेत तयार गरी सार्वजानिक, निजी साझेदारी (पीपीपी) अवधारणमा निजी क्षेत्रको समेत लगानी हुने बताइएको थियो । निजी क्षेत्रले पनि मोनोरेलका लागि प्रतिकिलोमिटर ६० करोड रुपैयाँ पर्ने प्रारम्भिक कार्यपत्र पेस गरेका थिए । यसका लागि सडक विभागमा सार्वजनिक निजी साझेदारी (पीपीपी) सेलसमेत स्थापना गरिएको थियो, तर सेल अहिले निष्क्रिय छ भने निजी क्षेत्रले पनि लगानी जुटाएका छैनन् ।
“निजी क्षेत्रले मोनोरेलमा लगानी गर्न रुचि देखाएका थिए, पीपीपी अवधारणाअनुसार मोनोरेलमा लगानी जुटाउन सडक विभागमा पीपीपी सेलको नै स्थापना गरेका थियौं,” सडक विभागका एक अधिकारीले भने “मोनोरेल विस्तारमा निजी क्षेत्रले प्रारम्भिक अध्ययन गरी कार्यपत्रसमेत पेस गरेका भए पनि त्यसपछि कुनै पनि काम अघि बढेको छैन ।” उनका अनुसार मोनोरेल विस्तार गर्न प्रतिकिलोमिटर ६० करोड रुपैयाँ पर्ने देखिएको थियो । निजी क्षेत्रले आयोजनाको स्वरुप हेरेर ४० देखि ५० वर्षसम्मका लागि आयोजना आफूसँग रहनुपर्ने माग राखेका कारण आयोजना अघि नबढाइएको ती अधिकारीले बताए ।
हाल उपत्यकामा विस्तार भइरहेको सडक मर्मतका क्रममा साइकल लेन बनाउने सरकारको घोषणा भए पनि सडक विभागले भने साइकल लेन बनाउन नसकिने बताएको छ । काठमाडौं उपत्यकाको चौडाइ छिचोल्न साइकल नै पर्याप्त हुने र वातावरणमैत्री पनि भएकाले उपत्यकाभरका सबै सडकमा साइकल लेन बनाउने बताइएको थियो, तर सरकारले हतारमा सडक विस्तार गर्नुपरेको र बजेट पर्याप्त नभएकाले सो काम हुन नसक्ने विभागका अधिकारीहरू बताउँछन् ।
उपत्यकाभित्र रात्रि समयमा सार्वजानिक यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य पनि अलपत्र परेको छ । यातायात व्यवसायीले रातिको समयमा सवारी चलाउँदा जोखिम भएकाले सरकारसँग सुरक्षा माग गरे पनि सरकारले भने न्यूनतम सुरक्षा मात्रै दिने भएकाले काम गर्न नसकिने बताइरहेका छन् । आगामी भदौ १ गतेदेखि रातिको समयमा सार्वजानिक यातायात सञ्चालन गर्ने सरकारी तयारी छ ।



