एक वर्षमा ४० लाख सिम र टेलिफोन थप
काठमाडौं, ४ साउन -नेपालमा गत आर्थिक वर्ष ४० लाख मोबाइल सिम तथा साधारण टेलिफोन थपिएका छन् । आव ०६७÷६८ मा १ करोड ३१ लाख रहेको यो संख्या गत वर्ष बढेर १ करोड ७० लाख पुगेको हो । यससँगै कुल जनसंख्याको ६५ प्रतिशतमा दूरसञ्चार पहुँच पुगेको छ, जसमध्ये मोबाइलको हिस्सा ५७ प्रतिशत छ ।
अघिल्लो वर्ष ४६ प्रतिशतमा दूरसञ्चार तथा १० प्रतिशतमा इन्टरनेट सेवा पुगेको थियो । गत वर्ष इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर १९ प्रतिशत पुगेको छ । यसमा जीपीआरएसको बाहुल्य रहेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार सेवा विस्तार गरेका ६ सेवाप्रदायक कम्पनीमध्ये नेपाल टेलिकम र एनसेलको प्रतिस्पर्धा अन्यको भन्दा तीव्र छ । गत आवमा एनसेलका २४ लाख ग्राहक थपिएका छन् । टेलिकमले झन्डै साढे ११ लाख सिम÷टेलिफोन वितरण गरेको छ । यूटीएल, स्मार्ट टेलिकम, नेपाल स्याटेलाइट टेलिकम र एसटीएमले साढे ४ लाख नयाँ ग्राहक पाएका छन् ।
“दूरसञ्चारका क्षेत्रमा भएको प्रगति र बढेका ग्राहक समयसापेक्ष र सान्र्दभिक हो,” प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपाने भन्छन्, “गुणस्तर र कभरेज एरिया विस्तारमा यो वर्ष पनि जोड दिइनेछ ।”
प्राधिकरणले गत वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार १ करोड ६६ लाख ५४ हजार सिम÷टेलिफोन वितरण भएका थिए । जेठ र असार दुई महिनामा साढे ३ लाखभन्दा धेरै थपिएका छन् । टेलिकम र एनसेलका न्यूनतम १ देखि अधिकतम ३ लाखसम्म मासिक सिम÷टेलिफोन थप हुने सम्बद्ध कम्पनीका अधिकारी बताउँछन् ।
टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिके भने गत वर्षको ग्राहक संख्या वृद्धि सन्तोषजनक नभएको बताउँछन् । “बजार मागअनुसार सिमकार्ड पूर्ति गर्न सकेनौं,” उनले भने, “टेलिकमको सेवाप्रति ग्राहकको चासो नघटे पनि प्रतिस्पर्धी बजारमा सन्तोषजनक भन्न मिल्दैन ।”
टेलिकमले चालू आवबाट काम सुरु गर्नेगरी १ करोड जीएसएम मोबाइल, २० लाख आईपी सीडीएमए थपसहित गाउँ–गाउँमा वाई–म्याक्स सेवा विस्तार गर्ने योजना बनाएको छ । यी योजनाले चालू वर्षमा ग्राहक झनै बढ्ने अपेक्षा टेलिकमको छ ।
निजी क्षेत्रबाट मोबाइल सेवा दिँदै आएको एनसेलले अहिलेसम्म ८० सिम वितरण गरिसकेको छ । गत असार मसान्तमा यो संख्या ५६ लाख १९ हजार थियो । एक वर्षको अन्तरालमा २४ लाख थपिएका छन् ।
माइक्रोवेभ फ्रिक्वेन्सीसम्बन्धी अन्योलले गर्दा ग्राहक बढाउने कार्यक्रम ल्याउन नसकिएको कम्पनीले बताएको छ । “हामीले सुरुदेखि नै सेवा गुणस्तरमा जोड दिँदै आएका छौं, उपभोक्तालाई अझै राम्रो अनुभव गराउनु नै हाम्रा प्रमुख लक्ष्य होे,” कम्पनीकी कर्पोेरेट कम्युनिकसेन म्यानेजर सञ्जु कोइरालाले भनिन् । लामो समयदेखि फ्रिक्वेन्सीका विषयमा भएको अन्योलले ग्राहक बढाउने अभियान सुरु नभएको उनले बताइन् ।
अघिल्लो वर्ष टेलिकमले ६७ लाख ६३ हजार सिम÷टेलिफोन बाँडेकोमा गत वर्ष साढे ११ लाख थप भई यो संख्या ७८ लाख ७५ हजार पुगेको छ । साधारण टेलिफोन प्रयोगकर्ताको संख्या झन्डै ८ लाख छ । गत वर्षमात्रै टेलिकमले २ टेलिफोन वितरण गरेको छ ।
विश्वका ७५ प्रतिशतमा मोबाइलको पहुँच
विश्वको कुल जनसंख्यामध्ये ७५ प्रतिशतमा मोबाइलको पहुँच पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ६ अर्बभन्दा बढीले मोबाइल प्रयोग गर्छन्, जसमध्ये ५ अर्ब विकसित देशमा बस्छन् । विश्वको जनसंख्या झन्डै ७ अर्ब छ ।
विश्वभर नै प्रिपेड र पोस्टपेड मोबाइलको वृद्धि उच्च छ । सन् २००२ मा करिब १ अर्बको पहुँचमा थियो मोबाइल । प्रतिवेदनअनुसार विकसितभन्दा विकासोन्मुख राष्ट्रमा मोबाइलको पहुँच बढ्ने क्रम तीव्र छ । कम आम्दानी हुने क्षेत्रमा मोबाइल बिक्री उच्च छ । सन् २०११ सम्म करिब ३० अर्ब मोबाइल एप्लिकेसन डाउनलोड भएका थिए ।



