कञ्चनपुरमा हजारलाई रोजगारी
कञ्चनपुर, १५ साउन - सुदूरपश्चिमको कञ्चनपुरमा गत आर्थिक वर्षमा खोलिएका उद्योगले १ हजारभन्दा बढीलाई रोजगारी दिएका छन् । सेवामूलक उद्योगले ३ सय २५ लाई रोजगारी दिएका छन् । सेवा, उत्पादनमूलक तथा व्यापारिक समूहले यो संख्यामा रोजगारी सिर्जना गरेका हुन् ।
एक वर्ष अवधिमा खुलेका ती उद्योगले ३ करोड ७३ लाख लगानी गरेका छन् । तिनमा २३ महिला र १ सय ३ पुरुष उद्यमी संलग्न छन् । साना तथा घरेलु उद्योग विभाग कञ्चनपुरका अनुसार यीमध्ये अधिकांश सेवामूलक उद्योग छन् । यीमध्ये ७ करोड ४५ लाख ७ हजार बराबरको सेवाजन्य वस्तु उत्पादन गर्दै आएका छन् ।
कञ्चनपुर जिल्लामा साना तथा घरेलु उद्योग बर्सेनि दोब्बर बढी थपिदै आएका छन् । स्थानीय साधन स्रोतमा आधारित उद्योग खुल्ने क्रममा बढोत्तरी हुन थालेको हो । घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार सशस्त्र द्वन्द्वको अन्त्यसँगै यहाँ सुरक्षा र लगानीको सहज वातावरण बनेपछि घरेलु उद्योगले फस्टाउने मौका पाएका हुन् । अधिकांश सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वनजन्य र पर्यटनमूलक उद्योग छन् । यीनले स्थानीयस्तरमा रोजगारी सिर्जना गरेपछि विदेशीने क्रम पनि घटेको छ ।
कार्यालयका अनुसार सेवामूलकमा राइस मिल, सटरिङ, कम्प्युटर, टेन्टहाउस, विज्ञापन एजेन्सी, छापाखाना, सुनचाँदी पसल, ढुवानी सेवा, इन्जिनियरिङ कन्सल्टेन्सीलगायत १६ प्रकारका उद्योग खुलेका छन् । उत्पादनमूलकमा पाउरोटी, भेनियर, समिल, इँटा उद्योग, गुड उद्योग, सिमेन्ट टायल, फर्निचर, गलैँचा, बाकस, गार्मेन्ट, अगरबत्ती, प्लास्टिक बोतल, जुत्ता चप्पल, बरफ, मिनरल वाटर, साबुन, स्टिल फर्निचर, डिस्टिलरीलगायत २४ प्रकारका उद्योग सञ्चालनमा रहेको कार्यालयका नायब सुब्बा नन्दराज भट्टले बताए । उनका अनुसार कृषि तथा वनजन्यमा कुखुरापालन, गाइपालन, कृषि परामर्श केन्द्र, नर्सरी र डेरी उद्योग गरी पाँच प्रकारका छन् भने पर्यटनमा होटेल रेस्टुरेन्टमात्रै छन् ।
सेवामूलक उद्योगबाट वार्षिकरूपमा घरेलु तथा साना उद्योग कार्यालयले २ लाख ४० हजार राजस्व संकलन गर्ने गरेको कार्यालयका शाखा अधिकृत खेमराज खत्रीले बताए । उनका अनुसार उत्पादनमूलक उद्योगको कुल पुँजी ५ करोड १५ लाख छ, जसमा १६ महिला र ७१ पुरुष उद्यमी संलग्न छन् । उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्यमीले ९९ महिला र ३ सय ३१ पुरुषलाई रोजगारी दिँदै आएका छन् ।
उत्पादमूलक उद्योगले वार्षिकरूपमा १४ करोड ३५ हजार ६ सय बराबरका वस्तुको उत्पादन गर्दै आएका छन् । वस्तु उत्पादन गर्दै आएका उद्योगले राजस्वबापत १९ लाख कर बुझाउने गरेका छन् । कृषि तथा वनजन्य उद्योगको कुल पुँजी १ करोड ४३ लाख छ । महिला र पुरुष गरी ५१ जनाले व्यवसाय सञ्चालन गरेको र १ सय १६ जना कामदारले प्रत्यक्षरूपमा रोजगारी पाएको शाखा अधिकृत खत्रीले बताए ।
कृषि र वनमा आधारित यस्ता उद्योगले वार्षिकरूपमा १ करोड ६३ लाख २५ हजार बराबरका वस्तु उत्पादन गरी बजारमा पठाउँदै आएका छन् । यी उद्योगले वार्षिकरूपमा ८७ हजार रुपैयाँ राजस्व बुझाउने गरेका छन् । पर्यटनमूलक उद्योगको कुल पुँजी भने ६८ लाख २० हजार छ, जसमा पाँच महिला र ४४ पुरुष उद्यमी छन् । होटलमा १ सय १२ जना महिला पुरुषले रोजगारी पाएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार सेवामूलक, उत्पादनमूलक, कृषि तथा वनजन्यमूलक र पर्यटनमूलक उद्योगको कुल संख्या २ सय ५९ रहेको छ भने कुल पुँजी ११ करोड १४ हजार छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उद्योगतर्फ आव ०६८÷०६९ मा उत्पादनमूलक ७१, कृषि तथा वनजन्य ४०, पर्यटन ४८, सेवा १०० गरी कुल २५९ उद्योग दर्ता भएका छन् । आव ०६७÷०६८ मा उत्पादनमूलकमा ७५, कृषि तथा वनजन्यमा ९, पर्यटनमा १०, सेवामा ९६ गरी २ सय ११ वटा उद्योग दर्ता भएका थिए ।
कानुनी स्वरूपका आधारमा घरेलुतर्फ आव ०६८÷०६९ निजी फर्म ९३, साझेदारी फर्म दुई, प्राइभेट लिमिटेड तीन गरी कुल ९८ छन् भने साना उद्योगतर्फ निजी फर्म १ हजार ६ सय ६५, साझेदारी ३७, प्रालि ६१ गरी कुल १ हजार ७ सय ६३ छन् । आव ०६७÷०६८ मा घरेलुतर्फ कुल ७६ र साना उद्योगतर्फ कुल २११ उद्योग दर्ता भएका थिए । तीमध्ये यस वर्ष २६ वटा साना उद्योगको नामसारी, १२ वटाको ठाउँसारी, ८१ उद्योगको पुँजी वृद्धि र चारवटा उद्योगको लगत कट्टा गरिएको कार्यालयले जनाएको छ । कार्यालयले चालू आवमा उद्योग दर्ताबाट ५ लाख ३१ हजार र उद्योग नवीकरण संशोधन र अन्यबाट ९ लाख ७६ हजार गरी कुल रु १५ लाख ८ हजार राजस्व संकलन गरेको छ ।
घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रममा बढोत्तरी भइरहेको भए पनि उद्यमीले कच्चा पदार्थ भारतबाट ल्याउँदा हैरानी बेहोर्नुपर्ने र सरकारी सुविधा नभएका कारण सञ्चालन गर्न अप्ठेरो परेको बताएका छन् । कामदार नपाइँदा चर्काे ज्यालामा भारतबाट कामदार झिकाएर कार्य सञ्चालन गर्नुपरेको उद्यमी हिक्मत सिंहले बताए ।



