कार्यालय अहिले झोलाबाट चलाएको छु

मिति: Thursday,12th July 2012 23:17 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


काठमाडौं महानगरपालिकाको मेयर हुँदा काम गरेको अनुभवपछि केशव स्थापितलाई सरकारले नगरविकास प्राधिकारणको आयुक्त बनाएको छ । उनी आयुक्त भएपछि धेरै योजना र परिकल्पना सार्वजनिक गरिसकेका छन् । तर प्राधिकरणको काम अहिलेसम्म जनताले अनुभूति गर्न पाएका छैनन् । राजधानीलाई सौन्दर्य र विकासले चाँडै नै सजाउने उनले दाबी गरे पनि प्राधिकरणको कार्यालय आफैं नै व्यवस्थित बन्न सकेको छैन । स्थापित भन्छन्– मेरो कार्यालय मैले अहिले झोलाबाट चलाएको छु । कारोबारकर्मी प्रकटकुमार शिशिरले केशव स्थापितसँग योजना र कार्यान्वयनका विषयमा गरेको कुराकानी : 

Nameकेशव स्थापित
आयुक्त,नगरविकास प्राधिकरण

अहिले बजेट फिभर बढिरहेको छ । विकास र समृद्धिका लागि प्राथमिकताहरू के–के हुन सक्छन् ?
बजेट भनेको केन्द्रबाट निर्देशित हुने कुरा हो । म यसमा निर्देशित हुन चाहँदैन । हिसाब–किताब मिलान हुने कुरा बजेटमा आउँछ । हामीले त योजना दिने हो । हरेक योजना प्राथमिकतामा छन् । यो सहरभरीको सम्पत्ति कसको हामीहरू सबैको होइन, त्यसैले सबै कुरा प्राथमिकतामा छन् । धेरै सम्पत्ति निजी क्षेत्रको छ । पहिले यी सम्पत्तिलाई गतिशीलता दिनुपर्छ । त्यसैले बजेटको प्राथमिकता निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हुनुपर्छ । सरकारको हस्तक्षेप निजी क्षेत्रमा हुनुहुँदैन । हेर्नुस्, अहिले व्यवसाय गर्ने वातावरण छैन । सुरक्षा छैन । यतातिर पनि सूक्ष्म रूपले सोच्नुपर्छ ।
अहिले राति ८ बजे नै व्यवसाय बन्द गर्नुपर्छ । नागरिक आफैंले बन्द गर्ने होइन, प्रहरीले बन्द गराउँदै हिँड्छ । उसले भन्छ, सुरक्षा छैन । जबकि प्रहरी आफैंले सुरक्षा छैन भन्दै हिँड्छ भने सुरक्षा कसरी हुन्छ ? प्रहरीले आवश्यक कुरा मागेर नागरिकले मागेसम्मको सुरक्षा दिने होइन र ? राति गएर खाने ठाउँ हुँदैन । साथीभाइ र परिवारसँग बाहिर गएर रमाइलो गर्ने ठाउँ छैन । विकासका ठूला आयोजनामा मात्र बजेटले सोच्ने होइन । बजेटले सबै पक्ष समेट्नुपर्छ ।
तपाईंको परिकल्पनामा सहर कस्तो हँुदैछ त ?
 योजना र परिकल्पना धेरै छन् । यी सबैले सार्थकता पायो भने सहर हामीले सोचेभन्दा धेरै समृद्ध पाउँछौं । मैले धेरै योजना सार्वजनिक पनि गरिसकेको छु । सहरी सौन्दर्यका लागि धेरै पहल र काम भइरहेका छन् । भित्री सहरका लागि काम पनि भइरहेका छन् । तत्काल थानकोटदेखि कलंकीसम्म अझ धादिङको भूगागलाई ल्यान्ड पुलिङ गर्ने प्रस्ताव छ । यो क्षेत्रमा पर्ने ३ सय ८५ घरधनी घर भत्काउन पनि तयार छन् । यो ठाउँमा १० लेनको बाटो निर्माण गर्ने योजना हो ।
देशको राजधानी छिर्ने नाका नै अव्यवस्थित छ, यसले सन्देश पनि त्यस्तै दिएको छ । त्यसैले ढल निर्माण गरेर दायाँ–बायाँ हरियाली बनायौं भने राजधानी छिर्ने जो–कोहीले पहिले गर्व महसुस गर्नेछन् । त्यस्तै नागढुङ्गामा एउटा जग्गा पहिचान भएको छ त्यहाँ एउटा फुड÷रेस्टुराँ मार्केट बनाउने प्राधिकरणको योजना छ । त्यहाँ बाँकी रहेको जग्गामा व्यवस्थित गाडी बास बनाउने । यसले बाहिरबाट आएका गाडी बास बसेर सहर प्रवेश गर्नेछन् । त्यही समयमा सुरक्षा चेकजाँच पनि हुन्छ । त्यहाँ राम्रो सुरक्षा निकाय पनि हुन्छ । फरार भएका धेरै अभियुक्त नाकामा भेटिन सक्छन् । बाहिरबाट राजधानी प्रवेश गर्दा धेरै गैरकानुनी वस्तु पनि प्रवेश गरेका हुन्छन् । गाडी पनि फोहर हुन्छ । सफा गर्ने ठाउँमा अनिवार्य वासिङ गर्दै सुरक्षा चेकजाँच भयो भने सुरक्षाको हिसाबले पनि फाइदा हुन्छ ।
यसबाहेक अहिले सडक चौडा बनाउने काम भएको छ । खाली जग्गाहरूमा सपिङ कम्प्लेक्स, अन्डरग्राउन्ड पार्किङ, ठाउँ–ठाउँमा हरियाली पार्कहरू हुनेछन् । त्यस्तै माथि हवाईयात्रा गर्दा मैले धेरै घरका छत देखेको छु, त्यहाँ खेती पनि गर्न सकिन्छ । अहिले धेरैले बिग्रिएका घरायसी सामान घरको छतमा राखेर बसेका छौं, जुन अनावश्यक छन् । त्यसको ठाउँमा त सम्भव भएसम्मको खेती छतमै गर्न सकिन्छ । सहरी क्षेत्रमा गर्न सक्ने काम हामीले गर्न सक्छौं । घरको छतमा जापानिज प्रविधिमार्फत खेती गर्ने हो भने धेरै राम्रो हुन्छ ।
तपाईं प्राधिकरणको आयुक्त भएको पनि लामो समय भइसक्यो । पहिला तपार्इं मेयर हुँदा जुन काम भएको थियो धेरैले त्यस्तै आशा राखेका थिए, तर अहिले कुरा बढी भयो, काम भएन भन्न थालेका छन् सहरवासीहरू ?
हेर्नुस्, म त भर्खर जन्मेको छु । भर्खर जन्मेकाले तत्काल त के काम गर्न सक्छ र ? काम गर्नका लागि समय चाहिन्छ । मसँग त कार्यालय पनि छैन । झोलामा अफिस छ । बल्ल व्यवस्थित बन्ने सिलसिला सुरु भएको छ । अहिले त कार्यालयबिना नै काम गरेको छु । जब काम सुरु हुन्छ सबैले अनुभूति गर्न पाउँछन् ।
केशव स्थापितकै अफिस व्यवस्थापन छैन भने सहर कसरी व्यवस्थित बन्ला ?
यति धेरै निराश पनि हुनु भएन । मानौं, एउटा रेल्वे कम्पनी खोल्यौं । कम्पनी खोल्नेबित्तिकै रेल दौडने त होइन नि ! रेल्वे कम्पनी पो खोलेको हो त । रेल चल्नका लागि आवश्यक पूर्वाधार निर्माण, प्रारम्भिक चरणहरू धेरै पार गर्नुपर्छ, होइन र ? मेरा धेरै योजना मूल समितिबाट पास भएका छन् । क्याबिनेटबाट पास हुनेबित्तिकै काम हुन्छ । संरचना बन्छ । यो आर्थिक वर्षमा संगठन तालिकाअनुसार बजेट पनि तयार हुन्छ । अहिले केशर महल भएको ठाउँ हेरिएको छ । त्यहाँ भयो भने धेरे काम गर्न सजिलो हुन्छ । त्यहाँबाट विधागत र क्षेत्रगत काम गर्न र गराउन सकिन्छ ।
जनताले कामको पहिलो अनुभूति कहिलेसम्म गर्ने पाउँछन् ?
धेरै ठाउँमा धेरै काम सुरु हुन लागिरहेका छन् । थानकोटजस्तै सुन्दरीजलमा पनि ल्यान्ड पुलिङ गर्ने योजना छ । यो साताभित्र ४० सम्भाव्य अध्ययन पनि गर्न थालेका छौं । सम्भाव्य अध्ययनको रिपोर्ट आएपछि हामी कार्यान्वयनको पक्षमा जान्छौं । अहिले हामीले गर्न सक्ने काम भनेको सडक विस्तार नै हो । जुन सहरवासीहरूले अनुभूत गरेका छन् ।
सम्भाव्य अध्ययन गरेर काममा हात हालेको योजनाचाहिँ के हो त ?
अहिलेलाई त सडक विस्तार नै हो । सडक विस्तार गर्ने क्रम बढिरहेको छ । भत्काएर बनाउने काम पनि अघि बढेको छ ।
तर,यो सडक विस्तार पनि व्यवस्थित रूपमा हुन सकेन भन्ने आएको छ नि विरोध पनि भयो । साना–साना घर टहरा भत्काउने काम भयो, ठूला–ठूला भवनलाई छोइएन भन्ने गुनासा छन् ?
हेर्नुस, मेरो कार्यशैली केही फरक छ । यो काम गर्ने बेलामा दबाब आयो, तनाव भयो, विरोध पनि भयो । संघर्ष समिति बनेर संघर्ष भए । तर, अहिले त्यस्तो छैन । दबाब छैन, तनाव छैन, विरोध छैन । संघर्ष समिति सरोकार समिति भएका छन् । समन्वय भएको छ । सरोकार समितिबाटै स्वयसेवीको काम भइरहेको छ ।
अब कुनै–कुनै घर पूरै गएको छ । एक आना जग्गा पनि बाँकी छैन । यो विषयमा पछाडि घर भएका घरधनीहरूले क्षतिपूर्तिको कुरा उठाउनुभएको छ । किनकि अगाडिको घर जाँदा पछाडिको घरको मूल्यांकन स्वतः बढ्छ नि । यो हिसाबले पहिले कोही आएन । आंगिक कुरा मात्र आयो, त्यसैले सडक विस्तार गर्दा विरोध पनि भयो ।
तपाईंका अन्य योजनमा सम्बिन्धित निकाय या सरोकारबाट साथ र सहयोग कस्तो छ त ?
हामीभित्र अझै पनि अन्योल छ । यो नयाँ संस्था जन्मिएपछि धेरैमा अन्योल आएको हो । केही मान्छे तथा निकायलाई मेरो भाग खोसियो कि भन्ने भ्रम छ । महानगरपालिका र बाग्मती सभ्यतालाई मेरो क्षेत्रमा प्रवेश गर्ला कि भन्ने डर पनि छ । मैले उहाँहरूलाई शान्त भएर आफ्नो काम गर्नुस भनेको छु । जिम्मेवारी भएर काम गर्नका लागि कसैले कसैलाई रोक्दैन । छेक्दैन । अब सहयोग र साथ दिने निकायले त साथ दिनै प¥यो नि । तर धेरै नयाँ र नौला कार्यक्रम भएकाले धेरैले पत्याउन सकेका छैनन् । सरकारी निकायबाट भन्दा निजी क्षेत्रबाट सल्लाह र साथ भने मिलेको छ ।
वातावरण भयो भने तपाईंको योजनामा निजी क्षेत्रको तथा बाहिरी लगानी पनि आउन सक्छ त ?
विकास सबैका लागि हो । त्यसैले विकासको खाका तयार गर्दा सबै समेटिनुपर्छ । अहिले काम गर्दाखेरि धेरै प्रस्ताव आएका छन् । गैरआवासीय नेपाली र निजी क्षेत्रबाट पनि लगानी प्रस्ताव आएका छन् । हामी छलफलकै चरणमा छौं । आजै (बुधबार) मात्र मैले अस्ट्रेलिया बस्ने गैरआवासीय नेपाली शेष घलेसँग पनि छलफल गरें । उहाँले पनि केही प्रस्ताव ल्याउनुभएको छ । लगानी गर्छु भन्नुभएको छ । तत्काल उहाँले पाँच–सात अर्बको लगानी प्रस्ताव गर्नुभएको छ । सौर्य ऊर्जा, होटलमा उहाँहरूको लगानीमा रुचि छ ।
त्यसैले हामीले विश्वास नै नगरेका मान्छेहरू आएर हामीलाई प्रस्ताव गरेका छन् । सरकारले आफ्नो बजेटमार्फत मात्र काम गर भन्यो भने मैले त राजीनामा दिएर हिँड्नुपर्छ, मेरो कर्म त्यतिमात्र होइन ।
तपाईको योजना र परिकल्पना धेरै छन्, कहिलेकाहीं लाग्दैन यी महत्वकांक्षी छन् ।
यी त गर्नुपर्ने अनिवार्य काम हुन् । जब सम्भव छन् र गर्ने सकिन्छ भने किन महत्वाकांक्षी लाग्ने । कुनै–कुनै प्रोजेक्ट र योजना महत्वकांक्षी हुन्छन्, तिनीहरूलाई समय पनि लाग्छ । नयाँ र नौला काम गर्दा जे पनि पहिला महत्वाकांक्षी हुन्छन् । अझ पागलको पनि संज्ञा दिन्छन् । उदाहरण तपाईंलाई पनि थाहा छ । त्यसैले काम गरेर देखाउनुपर्छ । कि योभन्दा पनि राम्रो विचार र योजना ल्याएर काम गर्नुप¥यो ।
अनि सरकारको साथबिना कसरी काम गर्नुहुन्छ त ?
सरकारले समन्वय गर्ने हो नि । म दुई साताभित्र एउटा अवधारणा पत्र दिँदैछु । तीनकुनेमा मञ्जुश्री राख्ने कुरा हो । महानगरपालिकाले हामीले पनि राख्ने कि पनि भनेको छ । त्यहाँ सुन्दर गार्डेन गराउने कुरा हो । महानगरपालिकाले व्यावसायिक सोच राख्दै रेस्टुराँ राख्ने अरू केके गर्ने भनेको छ, तर सहरी सौन्दर्यका लागि त्यहाँ गार्डेन नै उपयुक्त हुन्छ । त्यसैले हस्तक्षेपभन्दा पनि समन्वय हुनुपर्छ । अहिले त वान मेन आर्मीले जस्तो काम गर्नुपरेको छ । बजेट पनि छैन । पहिला नगर विकासले जे काम गरेको थियो म अहिले त्योबाट बाहिर आउन पनि सकेको छैन नि ।
सहरका समस्या के देख्नुहुन्छ ?
मलाई त केही समस्या लाग्दैन र देख्दिनँ पनि । फोहोर, प्रदूषणलाई समस्या भन्ने हो भने हामी आफैं अल्छी भएर देखिएको अवस्था हो । आफ्नो घरको फोहोर व्यवस्थापन गर्न त हामीले पनि सक्नुपर्छ । काम आफैंले पनि गर्नुपर्छ । सुरक्षाको कुरा पनि त्यही हो । प्रहरीलाई काम गर्न दिनुपर्छ । आफ्नो जिम्मेवारी पूरा गर्न उनीहरू लाग्नुपर्छ । अनि कहाँ हुन्छ समस्या ?
तपाईले बनाएको योजना र परिकल्पनामा विदेशको अनुसरण या भनौं विकासको मोडेल कतिको पछ्याउनुभएको छ । कि यी सबै हावादारी हुन् ?
विकासका कति मोडेलहरू त आयातित नै हुन्छन् भने कति यहाँको परिस्थिति र अवस्था सुहाउँदो हुन्छ । केही बाहिरका अनुभव र सिकाइ पनि प्रयोगमा आउँछन् । लिने–दिने क्रम चलिरहन्छ । हामी लिने मात्र पनि गर्दैनौं, यहाँ सफल भएका योजना बाहिर गएर पनि प्रयोग भएका छन्, हामीले दिएका पनि त छौं ।
लब पार्क बनाउने कुरा तपार्इंले गरेपछि युवायुवतीमा तपाईं आइडल बन्न थाल्नुभएको छ ?
सपिङ मलमा गएर सामान किन्दा, सामान्य साग किन्दासमेत त्यसलाई उल्टाईपुल्टाई हेर्नुपर्छ । एक छाक खानका लागि कीरा छ कि छैन ? राम्रो छ कि छैन भनेर खुब मेहनेतका साथ हेर्नुपर्छ भने जीवनसाथी रोज्ने विषयमा बुझ्नका लागि ठाउँ छैन । मेरी छोरीले हुनेवाला ज्वाइँको विषयमा बुझ्नुपर्छ कि पर्दैन ? उसको लुवाइखुवाइ कस्तो छ ? चारित्रिक कुरा के हो ? या काखी नै पो गनाउँछ कि ? जुत्ता लगाउन जान्दैन कि ? मोजा गन्हाउँछ कि ? आपराधिक क्रियाकलापमा छ कि ? रोगी छ कि ? सामान्य कुरा पनि त थाहा पाउनुप¥यो । यी कुरा थाहा पाउन कफी खाएर, आइसक्रिम खाएर, चलचित्र हेरेर दुई घण्टामा थाहा हुँदैन । त्यसैले लब पार्कको अवधारणा आएको हो । लब पार्कमा गएर प्रेमी–प्रेमिका एकआपसमा आआफ्नो बारेमा थाहा पाउन सक्छन् । खुल्न सक्छन् । अहिले प्रेमीहरूलाई बस्ने ठाउँ छैन । कति एकान्त चोभार जाउँ भने पुलिस गएर समातेर अभिभावकलाई जिम्मा लगाउने क्रुर समाज पनि छ । अनैतिक क्रियाकलाप पो गर्न भएन डेटिङ जान केको समस्या ।
आयुक्तमा अफर आएजस्तै सरकार चलाउने अफर आयो भने के गर्नुहुन्छ ?
तत्काल अफर आउँदैन । तर राम्रो काम गर्दे गएपछि त्यस्तो अफर पनि नआउला भन्न सकिन्न । मैले नेपालको धेरै भौगोलिक बनावटका बारेमा पनि अध्ययन गरेको छु । कुन ठाउँमा कस्तो विकास चाहिन्छ, त्यो पनि थाहा छ । त्यसैले म सक्षम छु जस्तो लाग्छ, तर तत्काल मैले मेरो अहिलेको काम गर्नुपर्छ । हाहाहा... ।

 

  • सम्बन्धित समाचार
Comments