घर सजाउने कला

वर्ग: अर्थरंग
मिति: Wednesday,25th July 2012 22:35 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameघरका भित्ता अमुक हुँदैनन् अचेल, जताततै थ्रीडी पेन्टिङ चलायमानजस्तै देखिन्छन् । झ्यालको पर्दा आफैंमा चित्ताकर्षक लाग्छन् । सिलिङ आकाशजस्तै छ । लिभिङरुमदेखि बेडरुमसम्म पुग्दा वालमा पोतिएका रंगले लाग्छ– कुनै बगैंचा छ अघिल्तिर । इन्टेरियर डिजाइनकै करामत हो– मान्छेले सिंगो प्रकृतिलाई घरका भित्तामा उनेको छ ।
घर बनाउँदा स–साना कोप्चेरादेखि खाली ठूला ठाउँलाई कसरी व्यवस्थित र सुसज्जित बनाउने भन्ने तनावले धेरैलाई गलाउँछ । भ¥याङदेखि भण्डार कोठा मिलेका छैनन् भने पनि आत्तिनु पर्दैन, सजाउन इन्टेरियर डिजाइनर तम्तयार छन् । प्लटिङ नमिलेको जग्गामा बनेका घरका भित्री भाग सानो–ठूलो जस्त होस्, या बीचमै उठेको पिल्लर नै किन नहोस्– अचेल सबै चटक्क देखिन थालेका छन् । किन नहोस् ! जमानै इन्टेरियर डिजाइनको छ ।
सहरी सभ्यतामा छलाङ मारिरहेको नेपाली समाज आधुनिकतालाई आत्मसात गर्दै अघि बढेको छ । कुनै बेला विलासिता मानिने वस्तुहरू अहिले क्रमशः आवश्यकता बन्दै गएका छन् । विश्व परिवेशबाट प्रभावित नेपाली समाज आफ्नो घर र कोठालाई पनि आधुनिक देखाउन हरसम्भव प्रयास गरिरहेको छ । व्यक्तिगत घरमा होस् या संयुक्त आवास गृहमा– इन्टेरियर डिजाइन गर्ने क्रम अहिले बृहत्तर रूपमा बढेको छ ।
सजावटको परिभाषालाई बदल्दै प्राइभेट कम्पनी, बैंक, क्लब, पसल पनि आफूअनुकूल सजिन थालेका छन् । अपार्टमेन्ट र हाउजिङको अवधारणासँगै इन्टेरियर डिजाइनको माग र आकर्षण चुलिएको छ । कुनै समय कुलिन र उच्च वर्गमा मात्रै सीमित इन्टेरियर डिजाइनिङ अहिले मध्यमवर्गीय परिवारसम्म आइपुगेको छ । कोठा र घर सजाउनै यो वर्ग लाखौं खर्चिन तयार छ । घर आकर्षक र सुन्दर बनाउन इन्टेरियर सामग्रीको प्रयोगसँगै यो व्यवसायमात्र फस्टाएको छैन, यसैमा करिअर खोज्नेहरू पनि थपिँदै गएका छन् ।
व्यक्तिगत घर, अपार्टमेन्ट, कार्यालय, पसलमा इन्टेरियर डिजाइन गराउन डिजाइनरको माग बढ्दो छ । वर्षौंको मेहनतपछि ठड्याइने घरलाई आकर्षक बनाउन थप मेहनत गर्नुपर्दा मान्छेहरू डिजाइनरकै भर पर्न थालेका छन्, जसबाट समय र पैसा दुवैको बचत होस् ।
फ्युजन इन्टेरियर प्लसका डिजाइनर सूर्य राई भन्छन्, “कुनै बेला घरको तला हेरेर सम्पन्नता जाँच्ने अवस्था थियो तर अहिले घरबाहिर र भित्रको सजावट हेरेर जाँचिन्छ । अग्ला भवन र घर मात्र निर्माण भएर हुँदैन, त्यसलाई आन्तरिक रूपमा सजावट पनि गर्नुपर्छ । त्यसैलै सुरक्षा, राम्रो र लागत कमका लागि इन्टेरियर डिजाइन गर्ने प्रचलन बढेको छ ।”
डिजाइनरलाई हायर गरेर व्यक्तिगत घर तथा अपार्टमेन्ट सजाउने चलन बस्नु सूर्यजस्ता डिजाइनरका लागि सुखद पक्ष हो । “एउटा घरमा गरिएको डिजाइनको माउथ पब्लिसिटी र विदेशमा रहेका नयाँ पुस्ताका कारण घर सजावटमा नयाँ आयाम आएको छ,” उनी भन्छन् ।
घरको सजावट सामान्य कुरा होइन । यसको आफ्नै तरिका हुन्छ । सानो ठाउँलाई कसरी आकर्षक देखाउने भन्नेदेखि ठूला ठाउँलाई कसरी व्यवस्थित गर्ने भन्नेसम्मको तालमेल डिजाइनरले मिलाउँछन् ।
इन्टेरियर डिजाइनका कारण फर्निचर व्यवसाय पनि राम्रो हुँदै गएको छ । करुणा इन्टेरियर तथा फर्निचरका अध्यक्ष देवराज मिश्र भन्छन्, “इन्टेरियर राम्रोसँग अगाडि बढेको छ । पहिले–पहिले आफैं किनेर फर्निचर लैजाने अवस्था थियो, अहिले डिजाइन गरेर अर्डर गर्ने चलन छ । यसले व्यवसाय पनि राम्रो हुँदै गएको छ ।” अध्ययन र वैदेशिक रोजगारका लागि बिदेसिएका युवाले विदेशमा घर सजावट देखेको र त्यसको शैली भिœयाएको उनी बताउँछन् । त्यसैले मध्यमवर्ग पनि रेमिट्न्यासको प्रभावले घर सजावटमा उदार देखिन्छन् ।
टाइम इन्टेरियरकी डिजाइनर निस्ता गिरी भन्छिन्, “नेपालमा क्लासिकल, मोडर्न र मस्ट मोडर्न डिजाइनको ट्रेन्ड चलेको छ । रोयल स्टेज, जिकज्याक र लाइट तथा रंगरोगनमा ध्यान दिँदै स्पेस म्यानेजमेन्ट गर्ने क्रम बढेको छ ।”
Nameखासमा स्पेस म्यानेजमेन्ट गरेर आवश्यकताअनुसार इन्टेरियर सामग्री प्रयोग गर्ने क्रम बढिरहेको अनुभव उनले सुनाइन् । सजावटदेखि आर्किटेक्चरसँग टाइअप गरेर काम पनि हुन थालेको छ । यसले यो क्षेत्रमा करिअर बनाउनेहरूका लागि भविष्य पनि राम्रो भएको उनी बताउँछिन् ।
चार वर्षअघि लाखौं खर्च गरेर इन्टेरियर डिजाइन गरेकी बालुवाटारकी बाग्मती जोशी अहिले यो क्षेत्रमा रमाइरहेकी छन् । “घर निर्माण गरेर मात्र हुँदैन रहेछ,” उनी भन्छिन्, “घरसँगै इन्टेरियरको विषयमा पनि सोच्नुपर्छ । लाखौं–करोडौं खर्चेर घर निर्माण हुन्छ तर आकर्षक र सुन्दर भएन भने व्यर्थै हुन्छ, त्यसैले सुन्दर र आकर्षक बनाउन पनि इन्टेरियर डिजाइनरसँग काम लिएका हौं ।”
व्यावसायिक डिजाइनरलाई पूर्ण जिम्मेवारी दिँदा आफू झन्झटबाट मुक्त भएको उनले बताइन् । “सजावटका विषयमा हामीलाई भन्दा डिजाइनरलाई नै बढी थाहा हुन्छ,” उनले थपिन्, “कुन–कुन सामग्री कस्तो छ, लेटेस्ट के हो, सबै जानकारी हुने हँुँदा उनीहरूलाई नै जिम्मा दिनु उचित हुन्छ ।”
इन्टेरियर डिजाइनको आकर्षण बढ्दै गएपछि यो विषयमा अध्ययन गर्ने र रोजगारको सम्भावना देख्ने पनि बढ्दै गएका छन् । अहिले नेपालमा झन्डै पाँच सयको हाराहारीमा इन्टेरियर डिजाइनर छन् । इन्टेरियर डिजाइनर एसोसिएसन अफ नेपालका अध्यक्ष सानुराजा शिल्पकार भन्छन्, “३० वर्षअघि म यो क्षेत्रमा हुँदा धेरैलाई बुझाउन कठिन थियो तर अहिले पढाइ नै हुन थालेको छ ।” राजधानीमा मात्रै नौ वटा इन्टेरियर डिजाइन पढाउने इन्स्च्यिुट रहेको उनले बताए । “मान्छेको जीवनशैली आधुनिक भइरहेका बेला त्यस्तैअनुरूपको सजावट चेतना पलाएको छ,” उनी भन्छन्, “अब आफ्नो घरलाई जस्तो बनाउन चाह्यो, त्यस्तै बनाउन सकिन्छ ।”
घर तथा भवनमा हस्तकलाका सामग्री राख्ने चलन पनि बढी छ । छ्याल्ली मेटोग्राफ ह्यान्डग्राफ, भगवानका मूर्ति, मन्दिर राख्नेहरू पनि धेरै छन् । “सकेसम्म सजावटमा यस्तै हस्तकला प्रयोग गर्दा सुन्दर र आकर्षक देखिन्छ,” शिल्पकार भन्छन् ।
 

  • सम्बन्धित समाचार