तृतीयांश बजेटले समस्या हल गर्दैन
काठमाडौं,३१ असार- नेपाल उद्योग वाणिज्य महासंघले बजेट समयमै पूर्ण रूपमा आउनुपर्छ भन्ने धारणा राख्दै आए पनि सो हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । विगतका वर्षहरूमा समेत विभिन्न कारणले पूर्ण बजेट आउन नसक्दा सरकारको पुँजीगत खर्च हुन नसकेको, तरलताको अभाव देखिएको, अत्यावश्यक सेवालगायत अन्य काम अवरुद्ध भएको थाहा पाउँदा पाँउदै पनि त्यही नियति दोहोरिने गरी आंशिक बजेट आएकामा महासंघले चिन्ता व्यक्त गरेको हो ।
महासंघले आर्थिक वर्ष २०६९।७० को लागि आज सार्वजनिक गरिएको तृतीयांश बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले राजनीतिक दलहरूबीच सहमति हुन सक्ने न्यूनतम कुराहरूमा सहमति गरी पूर्णबजेट ल्याउनुपर्ने विकल्प प्रस्तुत गर्दा पनि त्यसतर्फ सरकार र दलहरू संवेदनशील नभई ३–४ महिनाको सरकारी खर्च मात्र धान्ने गरी बजेट ल्याउनुु मुलुकका लागि दुर्भाग्यपूर्ण ठानेको बताएको छ ।
पूर्णबजेट नआउँदा अपेक्षित मात्रामा राजस्व असुली नहुने, सरकारी नीतिको विश्वसनीयता घट्ने, निर्धारित पुँजीगत खर्च हुन नसक्ने स्थिति उल्लेख गर्दै महासंघले सरकार सबैभन्दा ठूलो सेवा प्रदायक र उपभोक्ता भएको कारण तरलतामा चाप पर्नुका साथै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने दाबी गरेको छ । पूर्णबजेट आउन नसक्दा लगानी वर्ष लगायतका कार्यक्रमका लागि बजेटको व्यवस्था गर्न कठिनाइ हुनुका साथै व्यावसायिक वातावरण बनाउन अत्यावश्यक कामसमेत हुन नसक्ने महासंघको बुझाइ छ ।
तृतीयांश बजेट आजका दिनमा राजनीतिक दलहरूबीचको सहमति नहुँदाको परिणाम भएकाले तत्कालै राजनीतिक सहमतिका साथ पूर्ण आकारको बजेट ल्याउन महासंघले सबै राजनीतिक दल तथा सरकारसँग माग गरेको छ । महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी दिनमा बजेट आउने निश्चित मिति निर्धारण गरी सहमतिका साथ पूर्णबजेट ल्याउने कानुनी व्यवस्थाका लागि मागसमेत गरेको छ ।



