निजी छोडेर सरकारी
म्याग्दी, १४ साउन -निजी विद्यालयमा हुने सबै सेवासुविधा भएपछि गाउँका बालबालिका सामुदायिक विद्यालयमा पढ्न थालेका छन् । म्याग्दी पाप्तेखेतका बोर्डिङ स्कुलमा पढ्दै आएका विद्यार्थी बोर्डिङको सुविधा उपलब्ध भएपछि विद्योदय प्रावि बाखेत पढ्न थालेका हुन् ।
पाखापानी स्रोतकेन्द्रअन्तर्गत नमुना विद्यालयसमेत मानिने विद्योदयले अंग्रेजी माध्यम तथा सुविधा थपेपछि विद्यार्थी आकर्षित भएका हुन् । नयाँ शैक्षिक सत्रमा ३५ बालबालिका भर्ना भएको विद्यालयका प्रधानाध्यापक मनवीर किसानले बताए । “अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थीको संख्या बढेको हो,” उनले भने, “स्थानीयले लाखौं पर्ने जग्गा निःशुल्क दिएर सहयोग गरेका छन् ।”
नजिकै बोर्डिङ सञ्चालनमा आएपछि गाउँका करिब १ सय बालबालिका त्यसतर्फ गएका थिए । “सरकारी विद्यालय नै खाली हुने अवस्था आयो,” स्थानीय इनबहादुर पुनले भने, “सामुदायिक विद्यालय र निजीबीचको फरक अध्ययन ग¥यौं र सुविधा थप्यौं ।”
निम्न आम्दानी भएकाले पनि बोर्डिङ लैजान थालेपछि विद्यालय गाभ्ने अवस्थामा पुगेको स्थानीय युवा कमल पुनले बताए । “सबैको प्रयासले विद्यालय नमुना बनाउन सफल भयौं,” उनले भने, “अहिले विद्यालय शैक्षिक भ्रमणको केन्द्र बनेको छ ।”
समुदायको प्रयास तथा सहयोगमा सञ्चालन भइरहेका सामुदायिक विद्यालय उत्कृष्ट रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । “विद्योदय उदाहरणीय बनेको छ,” जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले भने । म्याग्दीमा प्रावि १ सय ५१, निमावि ३७, मावि ३७ र उच्च मावि १९ वटा छन् ।



