
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा काफ्ले नियुक्त
“काफ्लेको पदावधि छोटो समयका लागि भएकाले त्यसपछि सोही पदको नियुक्तिलाई आफ्नो वशमा पारेर त्रिविको सम्बन्धनमा थप मेडिकल कलेज सञ्चालनमा ल्याउन शैक्षिक व्यवसायीको समूह अझै पनि सक्रिय रहेको परिषद् स्रोतले बतायो ।” – ब्रेकर
काठमाडौं, २५ असार
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको रिक्त डीनमा प्रा.डा. कुमुदकुमार काफ्लेको नियुक्तीसँगै अल्पकालीन समयका लागि समस्याको समाधान गरेको छ । रिक्त पदपूर्ति गर्नुपर्ने माग गर्दै अस्पतालका प्रा.डा. गोविन्द केसीले बिहीबारदेखि आमरण अनशन सुरु गरेपछि बाध्य भएर परिषद्ले काफ्लेलाई नियुक्ति गरेको हो ।
काफ्लेको पदावधि दुई महिनामात्र बाँकी रहेकाले पदाधिकारी नियुक्ति अल्पकालीन समयका लागि समाधान भएको छ । डीनमा काफ्ले नियुक्त भएपछि अनशनरत डा. केसीले आइतबार अनशन तोडेका छन् । डीनका लागि दाबेदार अन्य समकक्षीका तुलनामा काफ्ले स्वच्छ छविका रहेको शिक्षण अस्पतालका एक चिकित्सकले बताए । एकाथरि समूहले परिषद्लाई आफ्नो वशमा पारेर डा. रतेन्द्र श्रेष्ठलाई डीनमा नियुक्ति गर्ने दाबी गरिरहेका बेला परिषद्ले काफ्लेलाई नियुक्ति गरेको हो ।
काफ्लेको पदावधि छोटो समयका लागि भएकाले त्यसपछि सोही पदको नियुक्तिलाई आफ्नो वशमा पारेर त्रिविको सम्बन्धनमा थप मेडिकल कलेज सञ्चालनमा ल्याउन शैक्षिक व्यवसायीको समूह अझै पनि सक्रिय रहेको परिषद् स्रोतको भनाइ छ ।
पदाधिकारी नियुक्तिको विषयलाई चिकित्सकहरू पक्ष–विपक्षमा विभाजित हुँदा अस्पताल नै बन्द गरेर हड्तालमा उत्रिँदा सर्वसाधारण बिरामीले दुःख पाउने गरेका छन् । परिषद् स्रोतका अनुसार काफ्लेको कार्यकाल समाप्तिसँगै अस्पताल र समग्र त्रिविको चिकित्सा क्षेत्र सुधारमा लागि डा. दीपक महरा डा. दिनेश विनोद पोखरेलजस्ता पेसा र मर्यादामा प्रतिबद्ध व्यक्तिलाई नियुक्ति गर्नु आवश्यक छ । डा. केसीसमेत डीनको जिम्मेवारी दिन उपयुक्त रहेको स्रोतले जनाएको छ । केसी चिकित्सक र प्राध्यापनरत रहे पनि पेसा र मर्यादामा ख्याल राख्ने अग्रज हुन् ।
उनको अनशन संस्थाको हित र पेसाको मर्यादाका लागि भएको उनका सहकर्मी बताउँछन् । आगामी दिनमा मेडिकल कलेज सञ्चालकहरूको सिफारिसमा डीनको नियुक्ति गरिए नेपालको मेडिकल शिक्षा र सेवासमेत बदनाम हुनसक्ने चिन्ता अस्पतालका चिकित्सकहरूले गर्न थालेका छन् । मेडिकल कलेज सञ्चालनमा देखिएको आर्थिक चलखेल कारणले चिकित्सा अध्ययन संस्थाको डीन, सहायक डीनलगायतका पदमा विवाद हुने गरेको छ । त्यसको असर मेडिकल अध्यनरत विद्यार्थी तथा सर्वसाधारणमा पर्ने गरेको महाराजगन्ज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकले बताए । उनले भने, “मेडिकल काउन्सिलका पदाधिकारीमार्फत मेडिकल कलेजमा हुने चलखेलका कारण त्रिवि चिकित्सा अध्ययन संस्थानमा समेत अनावश्यक राजनीति घुसेको हो ।”
काउन्सिल प्रशासनमा आफ्नो प्रभाव देखाउन मेडिकल प्राध्यापक तथा चिकित्सकले राजनीति गर्दै अस्पतालको सेवामा अवरोध गर्दै आएका छन् ।