नेप्से साढे ५ अंकले घट्यो

मिति: Sunday,29th July 2012 23:36 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, १४ साउन -सेयर बजार घट्ने क्रमले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साढे ५ अंकले घटेको हो । गत साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक साढे ३ अंकले घटेको थियो ।
वित्तीय संस्थाले धितोपत्र दलाल कम्पनीको जमानतामा सेयर कर्जा प्रवाह गर्न सुरु गरेको भए पनि त्यसको सकारात्मक प्रभाव बजार पर्न सकेको छैन । गत साताको तेस्रो दिन मंगलबारदेखि घट्दो क्रममा देखिएको सेयर बजारमा आइतबारसम्म सुधार आएको छैन । तर, गत साताभर नेप्से परिसूचक ६ अंकले बढेको थियो ।  
चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिले सेयर बजार सुधारका लागि अपेक्षित सम्बोधन नगरेपछि लगानीकर्ता निराश भएका हुन् । बजेट पनि एक तृतीयांश मात्रै आएपछि सरकार र नियामक निकायबीच यसअघि लगानीकर्ताले गरेको सहमति कार्यान्वयन नहुने स्थिति देखियो । त्यसैगरी मौद्रिक नीतिले पनि बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने ब्याजदर अझै घट्ने सम्भावनामा कम भएपछि बजारमा घट्दो क्रममा देखिएको विश्लेषक बताउँछन् ।
आइतबार कारोबार सुरु हुँदादेखि घट्न सुरु गरेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा ४०१.५४ अंकमा रहेको नेप्से बन्द हुँदा ५.५२ अंकले घटेर ३९६.०२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि साढे एक अंकले घटेको छ ।
नेप्सेमा कारोबार भएका कृषि विकास बैंक, हिमालयन बैंक, चिलिमे हाइड्रोपावर, नबिल बैंक, नेपाल टेलिकम, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक घटेका छन् । नेप्सेमा बैंकिङ ५.६६, अन्य ११.७५, विकास बैंक १.६९, जलविद्युत् १४.४, बिमा १.७ र वित्त ०.५८ अंकले घटेका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । आइतबार ७५ कम्पनीको १ हजार ३ सय ८८ कारोबारबाट ४ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको १ लाख ३१ हजार ८ सय ४५ कित्ता सेयर खरिद बिक्री भएको छ । यो करोबार रकम गत बिहीबारको तुलनामा करिब १ करोड थोरै हो ।
गत साताको अन्तिम दिन बिहीबार नेप्सेमा ८५ कम्पनीको १ हजार २ सय ६५ कारोबारवाट ५ करोड ५१ लाख ५५ हजार रुपैयाँबराबरको २ लाख ३६ हजार ७ सय ६७ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकमसँगै बजार पुँजीकरण पनि घटेको छ । बिहीबार ३ खर्ब ७९ अर्ब ४२ करोड रहेको नेप्सेको कुल बजार पुँजीकरण घटेर आइतबार ३ खर्ब ७४ अर्ब २० करोडमा झरेको छ ।
आइतबार नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनीको धेरै रकमको कारोबार भएको छ । जनता बैंकको धेरै सेयर र पटक कारोबार भएको छ ।
आइतबार नेप्सेमा
परिसूचक ः ५.५२ ले घट्यो  
कारोबार रकम ः    ४ करोड ४६ लाख ६४ हजार
सेयर     ः १ लाख ३१ हजार ८ सय ४५ कित्ता
बजार पुँजीकरण ः ३ खर्ब ७४ अर्ब २० करोड
धेरै रकम कारोबार हुने कम्पनी ः चिलिमे हाइड्रोपावर कम्पनी
 

  • सम्बन्धित समाचार
Comments