नेप्से ६ अंकले माथि
काठमाडौं, ३ साउन- सेयर बजारमा बुधबार ६ अंकको सुधार आएको छ । नेपाल टेलिकम तथा वाणिज्य बैंकहरूको सेयर मूल्यमा सुधार आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुधार आएको हो । मंगलबार नेप्से परिसूचक १.१ अंकले बढेको थियो ।
बुधबार नेपाल टेलिकम, छिमेक लघुवित्त विकास बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायत कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारको पहिलो समयदेखि बढ्न थालेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा ३८६.०२ अंकमा रहेको नेप्से परिसूचक बन्द हँुदा ५.९९ अंकले बढेर ३९२.०१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.६९ अंकले बढेको छ ।
वाणिज्य बैंकहरूकोे मात्र ५१ प्रतिशतभन्दा धेरै हिस्सा रहेको सेयर बजारमा बैंकिङ समूहको उतारचढावले नेप्से परिसूचकमा प्रत्यक्ष प्रभाव पार्छ । सबैभन्दा धेरै १५ करोड कित्ता सेयर सूचीकृत अन्य समूहको नेपाल टेलिकमको सेयर मूल्यमा आएको उतारचढावले पनि नेप्से प्रभावित हुन्छ । बुधबार बैंकिङ, अन्य विकास बैंक, बिमा र जलविद्युत् समूहमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव नेप्से परिसूचकमा देखिएको हो ।
बुधबार बैंकिङ ६.८३, विकास बैंक २.६१, अन्य ११.७५, बिमा ०.३८ र जलविद्युत् ९.९१ अंकले बढेका छन् । तर, वित्त समूहमा ०.२५ अंकको गिरावट आएको छ । बुधबार कारोबार भएको होटल समूहमा भने कुनै परिवर्तन भएन ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार ८५ कम्पनीको १ हजार १ सय ७४ कारोबारबाट ५ करोड २ लाख ९७ हजार रुपैयाँबराबरको १ लाख ५२ हजार ७३ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा १ करोड ५३ लाख रुपैयाँ धेरै हो ।
मंगलबार नेप्सेमा ८६ कम्पनीको १ हजार १ सय २३ कारोबारबाट ३ करोड ४९ लाख ७१ हजार रुपैयाँबराबरको १ लाख २४ हजार ६ सय ६१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकमसँगै कुल बजार पुँजीकरण भने बढेको छ । मंगलबार ३ खर्ब ६४ अर्ब ७५ करोड भएको नेप्सेको बजार पुँजीकरण बढेर ३ खर्ब ७० अर्ब ४१ करोड पुगेको छ ।
बुधबार नेप्सेमा धेरै रकम र पटक सेयर कारोबार हुने कम्पनीमा चिलिमे हाइड्रोपावर कम्पनी छ । धेरै सेयर किनबेच हुने कम्पनीमा किस्ट बैंकको छ । बुधबार नेप्सेमा
परिसूचक ः ५.९९ ले बढ्यो
कारोबार रकम ः ५ करोड २ लाख ९७ हजार
सेयर ः १ लाख ५२ हजार ७३ कित्ता
बजार पुँजीकरण ः ३ खर्ब ७० अर्ब ४१ करोड
धेरै रकम कारोबार हुने कम्पनी : चिलिमे हाइड्रोपावर कम्पानी



